कीवर्डहरू -

पीएमपीएल दक्षिण एशियाको विजेता बन्यो नेपाली पब्जी टिम डीआरएस, जित्यो २० लाख रूपैयाँ

पीएमपीएल दक्षिण एशियाको विजेता बन्यो नेपाली पब्जी टिम डीआरएस, जित्यो २० लाख रूपैयाँ

नेपाली पब्जी टिम द रियल सोल्जर्स (डीआरएस) पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) दक्षिण एशिया सिजन थ्रीको विजेता भएको छ । विजेता भएसँगै डिआरएसले लिग र फाइनल राउन्डबाट करिब २० लाख रूपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

पीएमपीएल दक्षिण एशियाको फाइनल खेल अप्रिल १५ देखि १८ सम्म भएको थियो । फाइनल खेलमा १६ टिम सहभागी भएका थिए । जसमा डिआरएस सहित ८ नेपाली टिम थिए ।

डिआरएसले फाइनलको २४ म्याचमा लगातार राम्रो पर्फरमेन्स गरेको थियो । डीआरएसले फाइनल सम्म २७३ प्वाइन्ट्स बनाएको थियो । त्यस्तै पीएमपीएल दक्षिण एशिया सिजन थ्रीको सेकेण्ड भएको जेडथ्रीयुएस इस्पोर्ट्सले २७१ प्वाइन्ट बनाएको थियो ।

पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) दक्षिण एशिया सिजन थ्रीमा २ प्वाइटको अग्रताले डिआरएस विजेता भएको हो । त्यस्तै पीएमपीएल दक्षिण एशियाको तेस्रो स्थानमा सेभेन सी इस्पोर्ट्स, चौथौं स्थानमा डेडआइज गाइज र पाचौं स्थानमा ट्रेन्ड टु किल रहेका छन् । यी तिनवटै नेपाली टिम हुन् ।

पीएमपीएल दक्षिण एशियामा पहिलो भएको डिआरएस र सेकेण्ड भएको जेडथ्रीयुएसले पीसकिपर एलिट इन्भिटेसनल एशिया (पीइआई) २०२१ मा दक्षिण एशियाको प्रतिनिधित्व गर्नेछन् ।

यसको पुरस्कार राशि आजको विनिमयदर अनुसार ५ करोड ४७ लाख रूपैयाँ बढी रहेको छ । यो खेल यसै महिना हुनेछ । यसमा एशियाका १६ टिम आमन्त्रिमा लड्नेछन् । यो पिसकिपर एलिटमा खेलिने छ, जसलाई गेम फर पिस पनि भनिन्छ ।

डीआरएस कानुनी रूपमा दर्ता हुने नेपालको पहिलो पब्जी टिम समेत हो । केही समय अगाडि ‘रूटिन अफ नेपाल बन्द’ फेसबुक पेजका भिक्टर पौडेलले डिआरएस टिममा लगानी गरेका थिए ।

डिआरएस टिममा लगानी गरेसँगै उनी टिमको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रूपमा भित्रिएका थिए ।डिआरएस टिममा ५ जना खेलाडी रहेका छन् । जसमा युगेन लामा (माफिया निन्जा), अजय श्रेष्ठ (एजे), निमा तामाङ (निमा), पेम्बा ग्याल्जेन लामा (ग्याल्जेन), अञ्जन राई (एआरबोरो) रहेका छन् ।