कीवर्डहरू -

अब खल्तीबाटै बुटवल पावर कम्पनीको विद्युत महशुल भुक्तानी गर्न सकिने, यस्तो छ तरिका  

अब खल्तीबाटै बुटवल पावर कम्पनीको विद्युत महशुल भुक्तानी गर्न सकिने, यस्तो छ तरिका  

बुटवल पावर कम्पनी (बिपिसी) को ग्रामिण तथा सहरी दुवै क्षेत्रको विद्युत महशुल अब खल्ती डिजिटल वालेटबाट घरैबसी तिर्न सकिने भएको छ । बिपिसीले स्याङ्गजाको वालिङ, गल्याङ, रामपुर र झिमरूक क्षेत्रमा विद्युत वितरण गरिरहेको छ ।

बिपिसीका विभाग प्रमुख टिका राम भट्ट र खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भूर्तेल बीच यस सम्बन्धि सम्झौता भएको हो । यस भुक्तानीको लागि खल्ती एपको होम पेजको युटिलिटी पेमेन्टमा ‘कम्युनिटी बेस्ड इलेक्ट्रिसिटी’ सेक्सन थपिएको छ ।

त्यसमा बिपिसी लेखिएको ठाउँमा थिची बुटवल पावर कम्पनीको बिल तिर्ने काउन्टर, ग्राहक परिचय नम्बर र ग्राहक नम्बर हालेपछि तिर्नु पर्ने रकम देखाउँछ । उक्त रकम ग्राहकले एपमा पैसा लोड गरी वा ‘खल्ती’ एपमा बैंक खाता लिंक गरी सिधै बैंकबाट तिर्न सक्छन् ।

ग्राहकले विद्युत प्रयोग गरेको महशुल अग्रिम र ढिला दुवै भुक्तानी गर्न सक्ने छन् । अनलाइनमा ग्राहकको बिल भुक्तानी गर्न बाँकी भएको तीन महिनासम्मको बिल हेर्न सक्नेछन् ।

‘अब बिजुलीको बिल भुक्तानी गर्न पैदल हिँडी वा गाडी चढी नै तिर्न पर्ने समस्याबाट बिपिसीका सेवा ग्राहीहरु मुक्त हुनेछन्,’ खल्तीका सहायक प्रबन्धक जोनाम भूर्तेलले भने, ‘नेपालको सुगम तथा दुर्गम दुबै क्षेत्रलाई ओगट्ने गरी बिपिसीको सबै क्षेत्रका प्रयोगकर्ताहरुले घरै बसी अनलाइन भुक्तानी सेवा उपलब्ध गराउनु हाम्रो लागि ठुलो उपलब्धि हो । यसले डिजिटल नेपालको हाम्रो अभियानमा निकै ठुलो योगदान पुर्याउने पनि विश्वास राख्दछु।’

चार क्षेत्र मध्य पहिलो चरणमा वालिङ, गल्याङ, रामपुरको भुक्तानी सुरु भइ सकेको छ भने झिमरूकको भने दोस्रो चरणमा सुरु हुनेछ ।