कीवर्डहरू -

सेवा तथा वस्तुको जानकारी लिने दिने नेपाली सामाजिक सञ्जालः आफन्त

सेवा तथा वस्तुको जानकारी लिने दिने नेपाली सामाजिक सञ्जालः आफन्त

नेपालीले बनाएको सामाजिक सञ्जाल आफन्त सञ्चालनमा आएको छ । लघु, घरेलु तथा साना उद्योग व्यवसाय र पेशा प्रबर्द्धन गर्नुका साथै उद्यमशीलता विकास गर्ने उद्देश्यले आफन्त सञ्चालनमा आएको हो ।

अन्य सामाजिक सञ्जालमा जस्तै आफन्तमा पनि तस्विर, भिडिओ पोष्ट गर्न तथा लेख, ब्लगहरु पनि पोष्ट गर्न र  च्याट गर्न सकिने छ ।

यसमा विभिन्न बस्तु तथा सेवाको बारेमा जानकारी लिन दिन सकिने, विद्यार्थी र स्कुल कलेजबीच शैक्षिक परामर्श लिने दिने, विभिन्न मुकुलबाट पैसा पठाउने मनि ट्रान्सफर र पेमेन्ट गेटवे सेवा प्रदान गर्ने, वैकल्पिक उपचार पद्धति र वैकल्पिक जीवनशैलीको सेवा लिने दिने लगायतका थप सुविधाहरु रहेका छन् ।

आफन्तले रोजगार दिने र रोजगारीको खोजीमा रहेकालाई पनि सहयोग पुर्‍याउनेछ । यस प्लेटफर्ममा आफ्नो कम्पनीलाई चाहिएको जनशक्तिबारे विस्तृत विवरण राख्न सकिनेछ । यसबाट सामानहरु बेच्न पनि सकिन्छ ।

आफन्तबाट प्राकृतिक जीवन विज्ञान र ज्योतिषीय सेवा दिन र लिन सकिन्छ  । त्यस्तै तीनै तहका सरकारी निकाय र सेवाग्राही नागरिकबीच सेवा सम्बन्धि जानकारी समेत लिन सकिने छ ।

कम्पनीका अनुसार यसबाट निर्यातमूलक वस्तु उत्पादनकर्ता, बाह्य खरिदकर्ता र व्यापारी बिच जानकारी आदान प्रदान तथा स्वास्थ्य सेवा सम्बन्धि परामर्शहरु पनि लिन र दिन सकिन्छ ।

आफन्त सामाजिक सञ्जाल वेबसाइट र मोबाइल एप उपलब्ध रहेको छ । आफन्त मोबाइल एप हाल एन्ड्रोइडमा मात्रै उपलब्ध भएको छ भने छिट्टै आईओएसमा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।