नेपालको सूचना प्रविधि (आईटी) को वर्तमान अवस्था उत्साहजनक छ । सन् २०२२ मा मात्रै सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आईआईडीएस) को नेतृत्वमा भएको अध्ययनले समेत ६७ अर्ब ९२ करोड (५१ करोड ५० लाख अमेरिकी डलर) आईटी सेवा विदेशमा निर्यात भएको देखाएको थियो । यो योगदानका लागि १ हजार बढी कम्पनी र ५० हजार बढी प्रोफेसनलले काम गरिरहेका छन् ।
आईटी भनेको बोर्डरलेस (सीम बिहिन) क्षेत्र हो । यसले नेपालको सामाजिक तथा आर्थिक रूपान्तरणमा ठूलो भूमिका खेल्न सक्छ । आईटी क्षेत्रको यो सम्भावनालाई हामीले संस्थागत गर्न नेपाल सफ्टवेयर कम्पनीज एसोशिएस (न्यास आईटी) दर्ता गरेका छौं, जहाँ ६० बढी कम्पनी आवद्ध छन् ।
न्यास आईटीको मिसन भनेको नेपाललाई प्रविधिको हब बनाउने र अबको दश वर्षमा नेपालमा ५ अर्ब डलरको आईटी उद्योग निर्माण गर्ने रहेको छ । आजको विनिमय दर अनुसार ५ अर्ब डलर भनेको ६ खर्ब ६७ अर्ब बढी नेपाली रूपैयाँ हो ।
६ खर्ब बढीको आईटी उद्योग र सरकारको भूमिका
अहिलेको ६७ अर्बदेखि आउँदो दश वर्षमा पाँच बिलियन डलरसम्मको यात्रा गर्न सम्भव छ । तर यो सम्भव बनाउन ‘मल्टिहोल्डर इंगेजमेन्ट’ आवश्यक हुन्छ । यसमा पनि सरकारको ठूलो भूमिका छ । आईटी क्षेत्रलाई प्रोत्साहन गर्न, सहयोग नीतिहरू तयार गर्न र अन्य देशसँग नेपालका कम्पनीले प्रतिष्पर्धा गर्न सक्ने गरी सहज वातावरण निर्माण गर्ने काम सरकारले गर्नुपर्छ ।
उद्योगले पनि आफुले आफुलाई राम्रो बनाउन गर्न लगानी गर्नुपर्छ । अरू क्षेत्रले पनि आईटी क्षेत्रलाई लगानी, बजार पहुँच लगायतका सहयोग गर्नुपर्छ । सबै स्टेकहोल्डरहरू सँगै आएर रणनीति बनाउन सकियो भने अबको दश वर्षमा ५ अर्ब डलर बराबरको आईटी उद्योग हामी नेपालमा सिर्जना गर्न सक्छौं ।
आईटी क्षेत्र भित्र दुई वटा विधा छन् । एउटा आउटसोर्स र अर्को स्टार्टअप । आउटसोर्स भनेको विदेशी कम्पनीको काम नेपालमा ल्याएर गर्ने हो । नेपालले आउटसोर्सिङ गर्न थालेको २० वर्ष भयो । नेपालले गएको २० वर्षमा आउटसोर्सको दुनियाँमा काम गर्ने परिपक्कता बनाइसकेको छ । आउटसोर्सिङमा ४० हजार जनशक्ति आवद्ध छन् । यहाँबाट सिकेको ज्ञानलाई अब स्केल गर्न जरूरी छ ।
अर्को पाटो भनेको स्टार्टअप हो । स्टार्टअपको भनेको नवीनतम आईडियामा गरिने काम हो । यसको उदाहरणको रूपमा खल्ती, इसेवा, पठाओलाई लिन सक्छौं । हामीले स्टार्टअप कम्पनीलाई प्रवर्द्धन गर्नुपर्छ ।
अहिलेको स्थितिमा नेपालका लागि काम गर्ने स्टार्टअपको तयारी एकस्तरमा राम्रो भएको छ । नेपाललाई सहयोग गर्ने गरी स्थापना भएका स्टार्टअपहरू सफल पनि भएका छन् । तर त्यो भन्दा भन्दै हामीले हाम्रो सबैभन्दा ठूलो बजार विदेश हो भनेर बिर्सनु हुँदैन् । विदेशको बजारलाई कसरी क्याप्चर गर्ने भन्नेमा हाम्रो पर्याप्त तयारी छैन् ।
यसका लागि एउटा इकोसिस्टम विकास गर्न जरूरी छ । नेपाली स्टार्टअपको पहुँच विश्वव्यापीकरण गर्न अन्तर्राष्ट्रिय निकायसँग साझेदारी गर्नुपर्छ । सरकारले पनि नेपाली स्टार्टअपलाई विदेशमा इनेबल गराउने सक्ने खालको नीति ल्याउन आवश्यक छ ।
आजको दिनमा दुख लाग्दो कुरा के छ भने, हामी लगानी सम्मेलनको कुरा गरिरहेका छौं । लगानीकर्तालाई नेपाल आएर लगानी गर्न आग्रह गरिरहेका छौं । तर हामी टेक कम्पनी, जसको बजार ग्लोबल हो, उनीहरूलाई भने विदेश जान दिइएको छैन् । हामी यही बसेर सबै काम गर्न सक्दैनौं । रिमोट्ली सबै काम गर्न सम्भव छैन् ।
बजारमा त जानुपर्छ । यदी मेरो कम्पनीको ग्राहक अमेरिकामा छन् भने त्यहाँ मैले कार्यालय राख्न पाउनु पर्यो, आवश्यक जनशक्ति राख्न पाउनु पर्यो र लगानी उठाउन सक्नुपर्छ । यस्तो सुविधाबाट त हामीसँग आज छैन् । सरकारले यस्तो व्यवस्था नगर्दा आज राम्रा राम्रो आईडिया भएका स्टार्टअप पनि मर्न थालेका छन् ।
हामीले सानो सानो सहजीकरण गर्न सकेनौं भने ५ अर्ब डलरको उद्योग कुनै पनि हालतमा बनाउन सक्दैनौं । मलाई त के लाग्छ भने, अन्य देशको तुलनामा हाम्रो प्रतिस्पर्धा गर्ने क्षमता घटिरहेको छ । चाँडोभन्दा चाँडो नीतिगत सुधार आएन भने अर्बको योगदान करोडमा झर्नेवाला छ । त्यो सम्भावना मैले देखिरहेको छु ।
अहिले नेपालबाट ठूला ठूला विदेशी कम्पनीहरू भाग्न खोजिरहेका छन् । किनभने नेपालमा नीतिगत अस्पष्टता र झन्झट धेरै छन् । ठूला ठूला कम्पनीहरूलाई कहाँ गएर ‘फसिने’ हो, भय छ । उनीहरूमा अब नेपालमा व्यवसाय नगर्ने कि भनेर सोच पलाउँदै गएको छ । हामी त्यस्तो हुन दिनु हुँदैन् ।
न्यास आईटीले नेपालमा व्यवसायमैत्री वातावरण बनाउन सरकारसँग मिलेर काम गरिरहेको छ । सरकारले सहजीकरणका लागि आवश्यक सुझाव दिदै आएको छ । उहाँहरूले पनि सुनिरहनु भएको छ । तर ‘स्पीड’ पुगेको छैन् । हामी एक काम गर्दा अर्को देशले १० काम गरिसकेको हुन्छ । आईटी क्षेत्र भनेको गतिशील छ । आईटीमा दिनदिनै केही न केही परिवर्तन भइरहेको हुन्छ ।
प्रविधिको द्रुत विकाससँग नेपाल पनि हिड्न सक्नु पर्छ । ढिलासुस्ती गर्नु हुँदैन् । प्रविधि विकाससँगै तादम्यता मिल्ने गरी ‘हतारो’ गर्न सकेनौं भने पछाडि पर्छौं । अवसर क्याच नगर्न अवस्था आउन सक्छ । यसका लागि मल्टिहोल्डर इंगेजमेन्ट र नीतिगत सुधार गर्नुपर्छ । यो एकदमै चाँडो चाहिएको छ । यति भएमा काम गर्न सहज हुन्छ । त्यसपछि सबै जना मिलेर यो क्षेत्रलाई अझै अगाडि बढाउन सकिन्छ ।
विदेशमा स्टार्टअपलाई सपोर्ट गर्न स्टार्टअप इन्क्युबेटर, एक्सिलेरेटर कार्यक्रम बनाइएको हुन्छ । त्यस्ता कार्यक्रममार्फत स्टार्टअपलाई काम गर्न ठाउँ दिने, मेन्टरशीप प्रदान गर्ने, सीड फण्डिङको व्यवस्था, मार्केटिङ, बिक्री, मूल्य निर्धारण, कानुनी र लगानीकर्तालाई पिच गर्ने बारे सिकाइन्छ । नेपालमा पनि यस्तो खालको इकोसिस्टम सरकारले बनाउनु पर्छ ।
अर्को कुरा, बनाएर मात्रै भएन । अब मेरो कम्पनीको बजार अमेरिका छ भने अमेरिकी बजारमा जानलाई सरकारले सहयोग गर्नुपर्छ ।
जनशक्ति विकास र रोजगारी
आईटीमा आउटसोर्स र स्टार्टअप गरी दुई विधा छन् । ६७ अर्बसम्म आउँदा हामीले ५० हजार प्रोफेसनल जनशक्ति विकास गरिसकेका छौं । ५ अर्ब डलरको आईटी उद्योग बनाउन अहिलेको भन्दा दश गुणा ग्रोथ हुनु पर्छ । यसका लागि ५० हजार जनशक्तिबाट ५ लाख जनशक्ति नै हुनुपर्छ भन्ने छैन् ।
अब हामीले आफ्नो भ्यालुलाई बढाउनु पर्छ । हामीले विज्ञता हासिल गर्नुपर्छ । जसरी जनरल डाक्टर र सर्जन डाक्टरको मूल्य फरक हुन्छ, यसरी नै आउटसोर्सिङको दुनियाँमा आफुले आफुलाई ‘स्पेसलाइज’ गर्न जरूरी छ । ताकि हामीले सर्जन जस्तो प्राइसिङ गर्न सकौं । त्यसरी हामीले आफ्नो भ्यालु बढाउन सक्यौं भने ५ अर्ब डलरको उद्योग खडा गर्न ३ लाख जनशक्ति आवश्यक पर्ने हाम्रो अनुमान छ । त्यो जनशक्ति विकास गर्न पनि सम्भव छ । युवापुस्ताको आईटी रूची बढ्दो छ ।
अहिले प्रत्येक वर्ष १० हजार आईटी जनशक्ति उत्पादन भइरहेका छन् । आउने ३-४ वर्षमा त्यो संख्यालाई बढाएर ३०-४० हजारमा लैजान सक्छौं । त्यसमा पुग्नका लागि सायद नीतिमा पनि केही परिवर्तन गर्नुपर्छ । सरकारले आईटी शिक्षामा राखेको ‘कोटा सिस्टम’मा पुनर्विचार गर्नुपर्छ । शिक्षकहरूको क्षमता अभिवृद्धि पनि गर्नु पर्छ । विद्यालय तहदेखि नै सरकारले डिजिटलमा आउनु पर्छ, यसमा अवसर छ बनेर पनि पुस गर्नुपर्छ । यदी यो गर्न सकियो भने ३ लाख जनशक्ति उत्पादन गर्न खासै गार्हो छैन् ।
३ लाख जनाले गरेको कामबाट अरू १० लाखलाई रोजगारी सिर्जना गर्न सकिन्छ । उदाहरणका लागि पठाओमा ५० जना आईटी इन्जिनियर कार्यरत होलान, तर पठाओले अन्य धेरैलाई सिर्जना गरेको छ । त्यसरी नै धेरै नै सिर्जना गर्न सक्छौं ।
रोजगारीको कुरा गर्दा आईटी भनेको प्राविधिक मात्रै हुन्छ भन्ने लाग्छ । त्यो गलत बुझाइ हो । आईटीमा प्राविधिक र गैर प्राविधिक दुवै जनशक्ति आवश्यक पर्छ । आउसोर्सिङमा ७० प्रतिशत प्राविधिक मान्छे चाहिन्छ भने बाँकी ३० प्रतिशत प्रोजेक्ट म्यानेजर, कन्टेन्ट राइटर, डिजाइनर, डिजिटल मार्केटर, क्वालिटी असुरेन्स जस्ता नन प्राविधिक जनशक्ति आवश्यक पर्छ ।
यस्तै स्टार्टअपमा पनि ३० प्रतिशत प्राविधिक र ७० प्रतिशत नन प्राविधिक जनशक्ति आवश्यक पर्छ । स्टार्टअपमा काम गर्ने सबै जना आईटी इन्जिनियर हुँदैनन् । एउटा स्टार्टअपमा ग्राहक सेवा, मार्केटिङ, सेल्स, डाटा प्रोसेसिङ लगायतमा काम गर्ने जनशक्ति चाहिन्छ । त्यसैकारण स्टार्टअप र आउसोर्स विधालाई मिलाएर लैजानु पर्छ । ताकी टेक्निकल र ननटेक्निकल दुवैका लागि रोजगारी सिर्जना गर्न सकियोस् ।
पूर्वाधार विकासमा लगानी
५ अर्ब डलरको आईटी उद्योग बनाउन पूर्वाधार पनि एउटा महत्त्वपूर्ण पक्ष हो । इन्टरनेट कनेक्सन भएन भने त आईटी क्षेत्र नै हुँदैन । ५-१० वर्ष अगाडि र अहिले स्थिति हेर्दा कनेक्टिभिटीमा धेरै सुधार भएको छ । त्यो बेला कसैलाई घरबाट काम गराउन एनसेलको डंगोल, वर्ल्डलिंक, सुबिसु सबै राखिदिनु पर्थ्यो । ब्याकअपको पनि ब्याकअप दिनुपर्ने अवस्था थियो । अहिले त्यस्तो छैन् । धेरै विश्वसनीय भएको छ ।
तर पनि विश्वसनीयतालाई अझै बढाउनु पर्छ । अब ब्याकअप र स्पीडमा काम गर्नुपर्ने आवश्यकता देखिन्छ । विद्युतमा पनि गएको ५ वर्षमा धेरै सुधार भएको छ । कहिलेकाँही बत्ति जान्छ । त्यसमा अझै सुधार गर्न सकिन्छ । यसले हाम्रो ग्रोथमा नरोके पनि अझै राम्रो गर्न सकिन्छ ।
सरकारले बनेपमा बनाएको आईटी पार्क सञ्चालनमा आउन सकेन । बनेपाको आईटी पार्क असफल भयो भनेर त्यसलाई सम्झेर काम छैन् । हामीलाई आईटी पार्क चाहिन्छ नै । एउटा होइन, दश वटा चाहिन्छ । आईटी पार्क पूर्वाधारमा सरकारले लगानी गर्नुपर्छ ।
आईटी पार्क भनेको एउटा यस्तो ठाउँ हो, जहाँ सबै कुरा पहिले नै उपलब्ध हुन्छ । आज मेरो कम्पनीमा १०० जना कार्यरत छन् तर टिमलाई बढाएर ३०० जना पुर्याउनु पर्यो भने ३०० जना राख्ने बिल्डिङ नै खोज्न गार्हो छ । अथवा खोज्न वा स्केलअप गर्नुपर्यो भने २-३ वर्ष लाग्छ । तसर्थ स्केलिङ गर्दा पनि समस्या आएको छ । आईटी पार्कले त्यसलाई समाधान गर्न सक्छ ।
आईटी पार्कमै हामी इनक्युबेटर, एक्सिलेरेटर राख्न सक्छौं । आईटीका विभिन्न कार्यक्रम गर्न कन्फेरेन्स हल बनाउन सक्छौं । पूर्वाधारको हिसाबमा इकोसिस्टम हुन आवश्यक छ । सरकारले यसमा चासो दिएको छ । केही प्रगति हुन्छ कि जस्तो लागेको छ । तर नेपालको स्पीडमा आईटी पार्क बनाउन १० वर्ष लाग्छ । आईटी क्षेत्रलाई १० वर्ष कुर्ने समय छैन् । प्रत्येक दिन हाम्रा लागि महत्त्वपूर्ण छ । त्यसैले शर्ट टर्म र लङ टर्म भनेर प्लान गर्नुपर्छ ।
काठमाडौंमा धेरै भनवहरू खाली छन् । खाली भवनहरू सरकारले १० वर्षका लागि भाडामा लिन सक्छ । त्यसमा केही पैसा खर्च गरेर तत्कालका लागि आईटी पार्कले गर्ने जस्तै काम गर्न सकिन्छ । विदेशबाट आउने ग्राहक, लगानीकर्तालाई ठूलो ठाउँमा लिएर जाँदा अर्कै प्रभाव पर्न जान्छ । ‘सिइङ इन बिलिभिङ कन्सेप्ट’ हो ।
५०० जना राख्न सक्ने एउटा भवन भाडामा लियौं भने १० वटा भवन भाडामा लिँदा ५ हजार जना राख्न सक्छौं । खाली भवन भाडामा लिएर केही रकम खर्च गरी तत्कालका लागि सरकारले आईटी पार्कबाट हुने काम त्यस्ता भवनबाट गराउन सक्छ । यसमा हामीले सरकारलाई सुझाव पनि दिएका छौं । तर लङ टर्ममा ठूलै पूर्वाधार विकास गर्नुपर्छ ।
(न्यास आईटीका अध्यक्ष तथा क्विकफक्स टेक्नोलोजीजका सीईओ रिचन श्रेष्ठसँग आईसीटी समाचारका लागि कमल केसीले गरेको कुराकानीमा आधारित)