कीवर्डहरू -

वर्षामा स्मार्टफोन –ल्यापटप बचाउने ५ सजिला टिप्स

वर्षामा स्मार्टफोन –ल्यापटप बचाउने ५ सजिला टिप्स

मन्सूनको प्रवेश भएदेखि नै देशका धेरै ठाउँहरुमा झमझम बर्षा भइरहेको छ। यस्तै वर्षात् मौसममा भिज्नु हाम्रो स्मार्टफोन र ल्यापटपका लागि ठूलो खतरा बन्न सक्छ।

फोन र ल्यापटप पानीमा भिजेपछि प्रायः मानिसहरू प्यानिक हुन्छन् र त्यही प्यानिकमा कतिपयले त्यस्ता गल्ती गर्छन्, जसका कारण महँगो डिभाइस नै बिग्रन पुग्दछ।

तर यस्तो अवस्थामा आत्तिनुको आवश्यकता छैन। यदि तपाईंको फोन वा ल्यापटप भिजेमा तुरुन्त केही कदम सजिला टिप्स अपनाएर ठूलो क्षति हुनबाट बच्न सकिन्छ। आउनुहोस्, जानौँ, फोन वा ल्यापटप पानीमा भिजेपछि के–के गर्नुपर्छ ।

१. डिभाइसलाई अफ गर्नुहोस्

यदि तपाईंको स्मार्टफोन वा ल्यापटप पानीमा भिजेपछि अझै अन अवस्थामा छ भने तुरुन्तै अफ गर्नुहोस्। यदि ल्यापटप स्लीप मोडमा छ भने पनि शटडाउन गरेर पूर्ण रूपमा अन हुनबाट रोक्नुहोस्, किनकि अनमा रहेको डिभाइसमा पानीले सर्ट सर्किट गराउन सक्छ। बाहिरबाट सबै ठिक देखिए पनि फेरि छिटो अन गर्ने गल्ती नगर्नुहोस्।

२. चार्जिङ नलगाउनुहोस्, प्रयोग नगर्नुहोस्

घर फर्केर फोन वा ल्यापटप भिजेसँगै चार्जिङ पोर्टमा नलगाउनुहोस् र कुनै बटन नथिच्नुहोस्, प्रयोग गर्न प्रयास नगर्नुहोस्। त्यसो गर्दा भित्र पसिरहेको पानीले थप समस्याहरू निम्त्याउन सक्छ। कतिपयले फोन अन गरेर काम गर्दैछ कि छैन जाँच्न खोज्छन्, जसले डिभाइसमा गम्भीर क्षति पुर्‍याउन सक्छ।

३. सिम निकाल्नुहोस्, मेमोरी कार्ड र केस हटाउनुहोस्

फोन पानीमा धेरै भिजेमा पहिला सिम ट्रे खोल्नुहोस् र सिम तथा मेमोरी कार्ड अलग्गै निकालेर सुख्खा ठाउँमा राख्नुहोस्। साथै फोनको केस पनि हटाएर फोन छिटै सुक्न दिनुहोस्।

४. सुख्खा कपडाले विस्तारै पुछ्नुहोस्

अब स्मार्टफोन वा ल्यापटपलाई बाहिरबाट सफा गरी सुख्खा कपडा–र्याप प्रयोग गरी बिस्तारै पुछनुहोस्। हेयर ड्रायर, हीटर वा माइक्रोवेव  जस्ता उपकरणहरू प्रयोग नगर्नुहोस्, जसले भित्री पार्टहरूमा थप क्षति पुर्‍याउन सक्छ।

५. २४–४८ घण्टा सुकाएर राख्नुहोस्

यदि डिभाइस निकै भिजेको छ भने कम्तीमा २४–४८ घण्टा सुकेसम्म त्यस्तै अवस्थामा राख्नुहोस्। अझ छिटो र सर्वोत्कृष्ट सुख्खापनका लागि एयर-टाइट डब्बा भित्र सिलिका जेल सहित राख्न सक्नुहुन्छ, जसले ह्युमिडीटी छिटै सोस्छ।