कीवर्डहरू -

दुई युवा जसले शुरू गरे सामान सुरक्षित राखिदिने साहुजी डटकम

सामान राख्नका लागि होस्टेल एशोसिएसनसँग सहकार्य गरेका छौं 

दुई युवा जसले शुरू गरे सामान सुरक्षित राखिदिने साहुजी डटकम

कोरोना कहर सुरु भएसँगै शहरमा बस्नेहरुलाई धेरै समस्या आइलाग्यो । अझ गाउँबाट शहरमा डेरामा बस्ने विद्यार्थीलाई समस्या भयो कहिलेसम्म डेराको भाडा तिर्दै बस्ने ।

यो समस्या विद्यार्थीलाई मात्र होइन, जागिर गुमाएका, शहरमा केही अवसर खोज्दै भाडामा बस्नेहरुलाई पनि भयो । कोठा छोडर जाऊ भने पनि सामान कहाँ राख्ने ? त्यत्तिकै छोडेर हिड्न पनि भएन ।

जहाँ समस्या त्यहाँ उपाय । यही समस्यालाई सामान गर्न भन्दै दुई युवाले सुरु गर्दै छन् अनलाइन प्लेटफर्म साहुजी डट कम र साहुजी एप । उनीहरु हुन बर्दियाका प्रवेश भुसाल (कबिर काफ्का) र पाँचथरका पवन पोखरेल ।

कसैले कोठा छोडेर सामान कतै सुरक्षित राख्न चाहन्छन् भने उनीहरुका लागि यो उपयुक्त सुविधा हुनसक्छ ।उनीहरुले गएको लकडाउन कै बेलामा यो सेवा सुरु गरिसकेका थिए । आधा दर्जनको सामानमा सुरक्षित राखिदिएका छन् भने सयभन्दा धेरैको अर्डर आएको भुसाल बताउँछन् ।

‘गत वर्ष भएको लकडाउनमा हामीले धेरैको यस्तो समस्या देख्यौं,’ भुसाल भन्छन्, ‘कसैलाई सामान राख्न छ भने हामीले सुरक्षित राख्ने व्यवस्था मिलाएका छौं ।’

उनीहरुले अहिले फोन नम्बर सम्पर्कबाट मात्र सामान लिने काम गरिरहेका छन् । भने मे एक तारिख अर्थात वैशाख १८ गतेबाट साहुजी डटकम र साहुजी एप औपचारिक रुपमा सार्वजनिक गर्दै छन् ।

त्यसपछि साहुजीको वेबसाइट र एप मार्फत सामान राख्नको लागि अर्डर दिन सकिने उनको भनाइ छ । सीप भएका व्यक्तिले साहुजीमा आएर अकाउन्ट बनाउन सक्ने छन् ।

सामानलाई कसरी र कहाँ सुरक्षित राख्ने भनेर उनीहरुले विभिन्न उपाय बारे छलफल गरिरहेका छन् । अहिले उपयुक्त उपाय भनेको खाली होस्टलहरु पनि हो ।

लकडाउनले होस्टलहरु खाली भएका छन् । त्यो ठाउँमा सामान राख्न पाए होस्टलहरुलाई पनि राम्रो हुने उनको विचार छ ।

‘हामीले सामान राख्नका लागि होस्टेल एशोसिएसनसँग सहकार्य गरेका छौं । अहिले होस्टेलहरु पनि खालि छन् । उनीहरुलाई पनि आम्दानी हुन्छ’ भुसालले भने ।

उनका अनुसार पिकअप भ्यान भरि सामान भयो भने मासिक ३ हजार शुल्क लाग्छ तर सामान थौरै छ भने शुल्क केही सस्तो हुनेछ । सकेसम्म महंगो सामान नराख्न भुसालको सुझाब छ ।

साहुजीले सामान भाडामा राख्ने मात्र होइन अन्य धेरै सेवाहरु पनि उपलब्ध गराएको छ । साहुजीबाट होम स्यानिटाइजेसन, प्लम्बर, कारपेन्टर, इलेक्ट्रिसियन, क्लिनिङ, जस्ता अन्य काम पनि गर्ने भुसालले बताए । यसमा आवश्यकताअनुसार सेवाहरु थपिदै जाने उनको भनाइ छ ।

अहिलेसम्म आफूहरुले फोन, फेसबुक पेज र इन्स्टाग्रामबाट बुकिङ लिइरहेको र त्यसैका आधारमा सम्बन्धित सीपमा दक्ष रहेको व्यक्तिलाई कामका लागि पठाउने गरेको प्रवेश भुसालले बताए ।

कम्पनीले साहुजीको नारा एक कल समस्या हल राखेको छ । उक्तनारा अनुसार जति सक्दो चाँडो सेवा प्रदान गर्ने कम्पनीको योजना रहेको छ ।