कीवर्डहरू -

होम आइसोलेसनमा बस्दा सामाजिक संजाल प्रयोग गर्ने कि नगर्ने ? यस्ता छन् डा. रविन्द्र पाण्डेका टिप्स

होम आइसोलेसनमा बस्दा सामाजिक संजाल प्रयोग गर्ने कि नगर्ने ? यस्ता छन् डा. रविन्द्र पाण्डेका टिप्स

नेपाल पनि कोरोना भाइरसको दोस्रो लहर देखिएसँगै देशका विभिन्न ठाउँमा निषेधाज्ञा जारी भएको छ । अत्यावश्यक बाहेकका प्राय सबै सेवा ठप्प छन् । पहिलेकोभन्दा अहिले कोरोनाबाट संक्रमण हुनेको संख्यामा वृद्धि भएको छ ।

कोरोना संक्रमित बढ्दै जाँदा अस्पतालमा बेड नपाउने स्थिति समेत सिर्जना भएको छ । यस्तो अवस्थामा धेरै जना घरमै होम आइसोलेसनमा बस्नुपर्ने भएको छ ।

सामान्य लक्षण भएर घर मै आइसोलेसन बसेको बेला के के गर्ने, सामाजिक संजाल, अनलाइनका समाचार कति हेर्ने बारे डा. रविन्द्र पाण्डेले १६ टिप्स दिएका छन् ।

यस्ता छन् टिप्स

१. थर्ममिटरबाट तापक्रम नापिरहनुहोला । ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो । १०० पुग्यो भने पारासिटामोल खानुहोला । शरीर दुखेमा / टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ ।

२. पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला । यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला । यसलाई प्रोन पोजिसन भनिन्छ । पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँठानेर एउटा सिरानी राखेर पेटको बलमा सुत्नुहोला । यसले फोक्सोको क्षमता बढाउछ । यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ ।

३. भिटामिन सी २ पटक, जिंक २ पटक, भिटामिन डी हप्ताको १ पटक खानुहोला । आवश्यकता अनुसार पारासिटामोल, कफ सिरप / ट्याब्लेट खान सकिन्छ ।

४. अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहेमा वा खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा घरमा नबस्नुहोला । यो नयाँ भेरिएन्टले अचानक कोभिड निमोनिया गराउँछ । तसर्थ नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसँग जाँच गराउनुहोला । छातीको एक्स रे वा सिटि स्क्यान गरेर फोक्सोको अवस्था अनुसार चिकित्सकको सिफारिसमा औषधि ( एन्टिभाइरल / एन्टिबायोटिक ) खानुपर्ने हुन्छ । कोभिड निमोनिया भएमा अस्पताल भर्ना हुनुपर्छ ।

५. जाँच नगरी घरमा अक्सिजन दिएर नबस्नुहोला । अक्सिजनले रोग निको गर्दैन ।  चिकित्सकको सिफारिस अनुसारको औषधिले मात्र निमोनिया वा अन्य अवस्था ठिक हुन्छ । अक्सिजन उपचार हैन । धेरै व्यक्तिले घरमै अक्सिजन दिएर फोक्सो ड्यामेज भएको अवस्था पनि छ ।

६. एक रातमै अवस्था क्रिटिकल हुनसक्छ । तसर्थ गाह्रो भएमा भोलि अस्पताल जान्छु नभन्नुहोला । अस्पताल प्याक भएपनि त्यहाँ तपाइंले कुनै न् कुनै उपचार पाउनुहुन्छ ।

७. अप्रमाणित औषधि सेवन गरेर वा अन्य संक्रमितलाई निको भएको औषधि खाएर समय एबम स्वास्थ्य नष्ट नगर्नुहोला । प्रतिरोध क्षमता रातारात वृद्धि हुँदैन । यो लामो प्रक्रियाबाट मात्र वृद्धि हुन्छ ।

८. मरिच, बेसार,अदुवा, ज्वानो, दालचिनी, तुलसी, गुर्जो, जेठिमधु, पिपला, कागतीको रस राखेको चिया पटकपटक खानुहोला ।

९. घरमा एकजना संक्रमित भएमा सबैको परीक्षण गराउनुहोला । यसपटकको प्रजाति निकै संक्रामक छ ।

१०. घरको खानाको अतिरिक्त फलफूल, दुध, गेडागुडी, अण्डा, सुप आदि प्रशस्त खानुहोला ।

११. पानीको बाफ लिंदा आराम हुन्छ ।

१२. रक्सी, चुरोट तथा धेरै गुलियो पदार्थ / कोल्ड ड्रिंक्स सेवन नगर्नुहोला ।

१३. हल्का ब्यायाम, पर्याप्त निद्रा तथा बिहान घाम ताप्ने गर्नुहोला ।

१४. आफ्नो मानसिक अवस्थालाई सुदृढ एबम सबल राखुहोला । नआत्तिनुहोला ।

१५. दिनमा १ /२ पटक मात्र समाचार हेर्नुहोला । सामाजिक संजाल सकभर नहेर्नुहोला । अनधिकृत समाचारले तनाव बढाउँछ ।

१६. गाह्रो भएमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स मगाउनुहोला, उपचारको लागि  कोभिड हटलाइन ११३३,९८५१२५५४३८ र ९८५१२५५८३७ मा फोन गरेर उपचारको जानकारी लिनुहोला ।