कीवर्डहरू -

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा नागरिक एपको फुल भर्सन सार्वजनिक हुँदै

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा नागरिक एपको फुल भर्सन सार्वजनिक हुँदै

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा नागरिक एपको फुल भर्सन सार्वजनिक हुने भएको छ । सम्भव भएसम्मका सबै सार्वजनिक सेवाहरु मोबाइलबाटै दिने उदेश्यका साथ गत माघ २ गते नागरिक एपको बेटा भर्सन सार्वजनिक भएको थियो ।

एपमा नागरिकता नम्बर राखेकै भरमा स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्न सकिने भएको छ । भने सरकारलाई तिरेको करको जानकारी एपबाटै लिन सकिने छ ।

एप मार्फत नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र, तथा मतदात परिचयपत्र सम्बन्धि विवरणहरु प्राप्त गर्न सकिने छ । साथै  नागरिक लगानी कोष,सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएको रकम र ऋणको विवरण जानकारी लिन सकिने छ ।

नागरिक एपबाट हेलो सरकारमा गुनासो समेत गर्न सकिने छ । एपबाट गुनासोको सम्बोधन भयो की भएन भनेर जानकारी समेत लिन सकिने छ । एपबाट सार्वजनिक बिदाको दिन समेत सेवा लिन सकिने छ ।

पछिल्लो समय एपमा पुलिस क्लियरेन्स रिपोर्ट र स्वास्थ्य बिमा कार्यक्रम समेत नागरिक एपमा थपिएका छन् । गृह मन्त्रालयले एप प्रयोग गर्दा नागरिकता सम्बन्धि देखिएका समस्या समाधान गर्न छुट्टै प्रणाली सञ्चालनमा ल्याइसकेको छ । नागरिक एप एन्ड्रोइड र आईओएस डिभाइसमा उपलब्ध रहेको छ ।

‘समृद्ध नेपालको आधार, सूचना तथा सञ्चार प्रविधिको विस्तार’ भन्ने मूल नाराका चौथौ राष्ट्रिय आइसिटी दिवस भर्चुअल रूपमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाहरुले राष्ट्रिय आइसिटी दिवसलाई विशेष रूपमा मनाउने गरेका छन् ।