कीवर्डहरू -

अब सरकारी सेवा लिन कागजात बोक्न नपर्ने, नागरिक एपबाट क्युआर स्क्यान गरे पुग्ने

अब सरकारी सेवा लिन कागजात बोक्न नपर्ने, नागरिक एपबाट क्युआर स्क्यान गरे पुग्ने

पछिल्लो समय नेपालमा क्युआर प्रविधि लोकप्रिय हुँदै गएपछि नागरिक एपमा समेत क्युआर कोड सुविधा उपलब्ध भएको छ । आईतबार राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा नागरिक एपको फुल भर्सन सार्वजनिक भएसँगै क्युआर सुविधा पनि थप भएको हो ।

सरकारी कार्यालय होस् वा बैंक तथा वित्तीय संस्था, सार्वजनिक सेवा प्रवाह गर्ने निकाय होस् वा शिक्षण संस्था, सबैलाई नागरिकको पहिचान प्रमाणीकरण सधैं झन्झटिलो हुने गरेको छ । अर्कोतर्फ कुनै सेवा लिन नागरिकताको फोटोकपी, सम्बन्धित कागजात अनि पासपोर्ट साइजको फोटो साथमा बोकेर जानुपर्ने झन्झट उस्तै हुन्छ ।

त्यसमाथि व्यक्तिगत विवरण दुरुपयोग हुन सक्ने वा किर्ते गर्न सक्ने जोखिम पनि त्यस्तै हुन्छ । अब भने नागरिक एपले यस किसिमका समस्याको समाधान दिने भएको छ ।

नागरिक एपमा हरेक नागरिकको नागरिकता, राहदानी, मतदाता परिचयपत्र, शैक्षिक प्रमाणपत्र, प्यान नम्बर जोडिएका हुन्छन् । तिनै विवरणको आधारमा नागरिकको पहिचान स्थापित तथा प्रमाणीत गर्नेछ ।

यसका लागि एपको दायाँ साइडमा माथि क्युआर कोड राखिएको छ । क्युआर कोड सेवा विश्वमा नौलो प्रयोग भएको सरकारको दाबी छ ।

अब कुनै पनि सरकारी सेवा लिन जाँदा व्यक्तिगत विवरण तथा कागजात बोक्नु नपर्ने भएको छ । त्यसको अन्त्य अब नागरिक एपमा भएको क्युआरले गर्नेछ ।

उदाहरणका लागि नागरिक एपबाट क्युआर स्क्यान गरेर बैंक खाता खोल्न सकिने छ । लोकेसवाको फाराम सजिलै भर्न सकिने छ । सिम कार्ड लिन छुट्टै फाराम समेत भर्नुपर्दैन् । इकमर्स, हवाइजहाजको टिकट, होटेलको बुकिङ लगायत नागरिकको पहिचान खुलाउनुपर्ने स्थानमा समेत यो सुविधा प्रयोग गर्न सकिने छ ।

यसबाट नागरिकको समय बचत हुनेछ, खर्च जोगिने छ, सम्बन्धित निकायलाई ढड्डा खडा पनि गर्नुपर्ने छैन् र किर्ते हुन सक्ने जोखिम पनि हुने छैन् ।

नागरिकको पहिचान प्रमाणीकरण गर्न एपमा व्यक्तिका आधारभूत विवरण ५ भागमा वर्गीकरण गरिएका छन् ।

जसमा प्रोफाइलअन्तर्गत व्यक्तिको नाम, ठेगाना, जन्म मिति, लिङ्ग, मोबाइल नम्बर, ईमेल ठेगाना र तस्वीर राखिएको छ । यस्तै नागरिकता, राहदानी, स्थायी लेखा नम्बर-प्यान, शैक्षिक प्रमाणपत्र जस्ता जानकारीलाई पनि छुट्याएर राखिएको छ ।

नागरिकलाई सेवा दिने कार्यालयहरु नागरिक एपमा क्लाइन्टको रूपमा सूचीकृत हुन्छन् । जसलाई नागरिक एपले नागरिकको आवश्यक जानकारीमा मात्र पहुँ दिन्छ । नागरिक एपबाट नागरिक पहिचान प्रमाणीकरण गर्दा सेवा प्रदायक निकायले व्यक्तिगत विवरणको प्रतिलिपि लैजान नपाउने जनाइएको छ  ।

पहिचान प्रमाणीत गर्न क्युआर स्क्यान गर्दा नागरिक एपमा सम्बन्धित निकायले कुन कुन व्यक्तिगत सूचनामा पहुँच बनाउन खोजेको छ भन्ने जानकारी देखिन्छ । त्यस किसिमको पहुँच दिने वा नदिने सम्बन्धित नागरिक आपैले निर्धारण गर्न सक्छन् ।