ठेगाना थाहा पाउन ‘ कहाँ ’ एप सार्वजनिक भएको छ । आईतबार राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा ‘कहाँ’ एप सार्वजनिक भएको हो ।
मेसोभिजन टेक्नोलोजिले ठेगानालाई डिजिटलाइजेसन गर्न कहाँ एपको विकास गरेको हो । एपबाट कुनै पनि ठाउँ, रेस्टुरेन्ट, घर, कार्यालय वा कुनै पनि ठाउँ पुग्न सकिने छ ।
नेपाली भाषामा समेत प्रयोग गर्न सकिने यो एपले ठेगाना पत्ता लगाउन सहज हुने बताइएको छ । कहाँ एपमा व्यक्तिगत ठेगाना र आफ्नो व्यवसायलाई सूचीकृत गराउन सकिन्छ ।
आफ्नो व्यवसाय सूचीकृत गरेपछि यसमा व्यवसायको ठेगाना, तस्बिर, उत्पादनहरूलाई व्यक्ति स्वयंले राख्न सकिन्छ । त्यसलाई अरू कहाँ प्रयोगकर्ताहरूलाई बाँड्न सकिन्छ । यस एपलाई प्रयोगकर्ता मैत्री बनाइएको छ । यसमा सन्देश आदानप्रदानको सुविधासमेत छ ।
आफ्नो समुदायमा भएका असामान्य घटनाहरू जस्तै दुर्घटनाको स्थान, चोरी, आगलागीलगायतका, खतरनाक गतिविधिहरू रिपोर्ट गर्न यस एपलाई प्रयोग गर्न सकिन्छ । व्यक्तिगत प्रयोगकर्ताहरूलाई ठेगानाका लागि स्थायी ट्यागहरू दिइने र यो नीजि हुने कम्पनीले जनाएको छ ।
एपबाट आफ्नो ठेगाना नजिकै पाइने वस्तु तथा सेवाको जानकारी समेत पाउन सकिने कम्पनीले जनाएको छ । नजिकका, पसल, ग्याँस डिपो, बालुवा डिपो, ब्युटीपार्लर, बार्वर सपलगायतका स्थानहरू पनि एपबाट खोज्न सकिन्छ ।
कम्पनीका अनुसार यसमा होटेल, रिसोर्ट, गेस्टहाउस, विद्यालय, कलेज, र शैक्षिक सेवाजस्ता स्थायी ट्यागहरू छन् । कहाँ एप हाल एन्ड्रोइड प्लेटफर्ममा उपलब्ध रहेको छ ।