कीवर्डहरू -

निषेधाज्ञाको समयमा छापिएन स्मार्ट लाइसेन्स

निषेधाज्ञाको समयमा छापिएन स्मार्ट लाइसेन्स

गत वर्ष बन्दाबन्दीको समयमा तीन सिफ्टमा गरेर ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ गरेको यातायात व्यवस्था विभागले अहिले भने निषेधाज्ञाको समयमा अनुमतिपत्र छापेको छैन । बाँकी रहेका कार्डको सङ्ख्या कम मात्रै रहेको विभागले जनाएको छ ।

विभागमा बाँकी रहेका कार्डको सङ्ख्या १० देखि १५ हजार मात्रै रहेकाले अनुमतिपत्र छाप्न नसकिएको हो । अहिले पनि विभागले झण्डै तीन लाख अनुमतिपत्र छाप्न बाँकी रहेको विभागका प्रवक्ता डा.लोकनाथ भुसालले बताए । उनका अनुसार कार्ड खरिदका लागि प्रक्रिया अघि बढाइएको भए पनि आइपुगेको छैन ।

विभागले केही समय पहिले फ्रान्सको एउटा कम्पनीमार्फत १४ लाख कार्ड खरीद प्रक्रिया अघि बढाएको थियो । निर्धारित समयअनुसार अहिलेसम्म कार्ड आइसक्नुपर्ने प्रवक्ता डा.भुसालले बताए ।

भारतीय पद्धतिमा आधारित हुनुपर्नेमा केही प्राविधिक समस्या आएकाले ढिलाइ भएको हो । उनले भने, ‘अबको एकदुई महिनामा आइपुग्ने देखिएको छ ।’

अहिले विभागले छाप्न बाँकी तीन लाखमध्ये झण्डै आधा डेढ लाख नवीकरण गरिएका अनुमतिपत्र र बाँकी आधा अहिले अनुमतिपत्रको परीक्षा उत्तीर्ण भएका रहेको विभागले जनाएको छ ।

गत आवमा कोभिड-१९ का कारण यातायात व्यवस्था कार्यालयले नवीकरणलाई निरन्तरता दिए पनि नयाँ अनुमतिपत्रका लागि परीक्षा स्थगित गरेका थिए ।

विभागले गत पुसदेखि अनलाइन माध्यमबाट आवेदन लिइरहेको छ । सोही आवेदनका आधारमा प्रदेशअन्तर्गतका कार्यालयले परीक्षा सञ्चालन गरेको छ ।

पुसदेखि यता अनुमतिपत्रको परीक्षा पास गर्नेको सङ्ख्या डेढ लाख पुगेको उनले बताए । उनले भने, ‘पुसयता अनुमतिपत्रको परीक्षा पास गरेकाहरूको छाप्न बाँकी छ ।’

विभागले दुई वर्ष पहिले खरीद गरेको कार्ड सकिँदै जाँदा दुई महिना पहिलेदेखि अत्यावश्यकबाहेक अरू अनुमतिपत्र छपाइ नगरेको प्रवक्ता डा भुसालले बताए ।

रोजगारी वा अध्ययनका लागि विदेश जानका लागि मात्रै अनुमतिपत्र छपाइ हुँदै आएको छ । उनले भने, ‘प्रक्रियामा रहेका कार्ड आएपछि मात्रै सबै छपाइ गर्न सकिनेछ ।’

सरकारले गत पुसमा अनलाइन फारम शुरु गरेसँगै झण्डै पाँच लाखले आवेदन दिइसकेको विभागले जनाएको छ । अहिलेसम्म डेढ लाखले मात्रै लिखित र प्रयोगात्मक गरी दुवै परीक्षा उत्तीर्ण गरेका छन् ।

लिखित उत्तीर्ण गरेर प्रयोगात्मक परीक्षा उत्तीर्ण नहुने सेवाग्राहीको लागि विभागले दुई पटकसम्म मौका दिने गरेको छ । फारम भर्ने पाँच लाखमध्ये कतिपय परीक्षामा सामेल हुन बाँकी भएको र कति प्रयोगात्मक परीक्षा उत्तीर्ण नभएको विभागले जनाएको छ ।

बन्दाबन्दीको समयमा अरू कामको चाप कम हुने भएकाले विभागले गत वर्ष तीन सिफ्टमा गरी अनुमतिपत्र छापेको थियो । अहिले निषेधाज्ञाको समयमा त्यसको राम्रो सम्भावना भएपनि कार्डको अभावका कारण गर्न नसकिएको हो ।

संविधानअनुसार चालक अनुमतिपत्रको जिम्मेवारी प्रदेश सरकारको हो । पहिले विभाग अन्तर्गत रहेका यातायात कार्यालयहरु तीन वर्ष पहिले नै प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो ।

प्रदेश सरकारअन्तर्गतका कार्यालयहरूले परीक्षा सञ्चालन, अनुमतिपत्र वितरण र नवीकरण गर्दै आएका छन् । त्यसको सफ्टवेयर र छपाइको काम भने विभागले गर्दै आएको छ । कार्यालय र विभागबीच समन्वय नहुँदा सेवाग्राहीले समस्या भोग्दै आएका छन् ।

गत आवसम्म विभागले झण्डै आठ लाखभन्दा बढी चालक अनुमतिपत्र छपाइ गर्न बाँकी थियो । विभागले देशभरको अनुमतिपत्र छपाइ गर्नुपर्ने भए पनि साना क्षमताको उपकरणका कारण छपाइ सुस्त थियो ।

झण्डै डेढ वर्ष पहिले विभागले ठूलो क्षमताको उपकरण (मास प्रिन्टर) र कार्ड खरीद गरेको थियो । अहिले कार्ड समयमा नआएकाले मात्रै सेवाग्राहीले तत्काल अनुमतिपत्र नपाएको विभागले बताउँदै आएको छ । कार्ड आएपछि विभागले एकै दिनमा झण्डै १० हजारसम्म अनुमतिपत्र छाप्न सक्नेछ । रासस