कीवर्डहरू -

यसरी सुरु भयो यात्रीसँग अशिमको यात्रा, अबको योजना सस्तो उत्पादन

पी जिरोलाई अमेरिकाको क्लोराडो ‘पाइक्स पिक हिल’मा लगेर रेस गराउने योजना छ ।

यसरी सुरु भयो यात्रीसँग अशिमको यात्रा, अबको योजना सस्तो उत्पादन
यात्री मोटरसाइकलका संस्थापक अशिम पाण्डे

नेदरल्याण्डमा पढ्दै गर्दा कलेजका विद्यार्थीबीच ‘फर्मुला स्टुडेन्ट’ सिरिज हुन्थ्यो । सिरिजमा विद्यार्थीले विद्युतीय गाडी बनाएर परीक्षण गर्ने प्रतिस्पर्धा हुन्थ्यो ।

काठमाडौंमा प्लस टु सकेर नेदरल्याण्ड गएका अशिम पाण्डे पनि त्यो प्रतिस्पर्धामा खुबै रमाउँथे । प्रतिस्पर्धा इनोभेटिभ  र रोचक हुन्थ्यो । विश्वभरका झन्डै १५० विश्वविद्यालयका विद्यार्थीहरु सहभागी हुन्थे ।

असिम पनि त्यस्तै गाडी बनाउँथे र ‘फर्मुला स्टुडेन्ट’मा प्रतिस्पर्धा गर्थे । आज उनै असिम नेपालमा पहिलो विद्युतीय मोटरसाइकल बनाएर चर्चामा छन् ।

सानैदेखि अटोमोबाइल रुची भएका काठमाडौं बुढानिलकण्ठका अशिमले यात्रीसँग यात्रा गर्न थालेको ३ वर्षभन्दा धेरै भइसकेको छ ।

नेदरल्याण्ड हुदै जन्मेको आइडिया काठमाडौं आएर मूर्तरुप लिएको छ । नौ महिनासम्म पेट रहेको बच्चा काखमा आउँदा आमा जति खुसी हुन्छिन्, अशिमको खुसी पनि त्यत्तिकै छ अहिले ।

यात्रीका २ वटा मोडल उनले ल्याइसकेका छन् । लामो मेहनत, समय र लगानीको प्रतिफल हो यात्री । जसको चर्चाले आफै दंग छन् ।

अब दंग परेर मात्र पनि भएन । अझ सस्तो र सुलभ तरिकाले नेपाली बजारमा अन्य मोटरसाइकल कसरी ल्याउने, उनले सोच्न थालिसकेका छन् ।

हामीले यात्री मोटरसाइकलका संस्थापक अशिमलाई सोधेका छौं यात्रीसँगको यात्रा कसरी सुरु भयो र कस्तो भयो ?
उनले हामीलाई बेलिबिस्तार लगाए ।

\"\"

यात्रीको टिम


नेदरल्याण्डमा पढाई र अनुभव

सन् २०१० मा नेदरल्याण्ड पुगेपछि उनले डेल्फ्ट युनिभर्सिटी अफ टेक्नोलोजीमा एरोस्पेश इन्जिनियरिङ पढ्न थाले ।
सानैदेखि अटोमोबाइलमा रुची भएका अशिमले पढाइसँगै कामलाई पनि अगाडि बढाए ।

‘मेरो पढाइ र रुची अटोमोबाइल भएकाले कामलाई पनि सँगसँगै अगाडि बढाएँ,’ कलेजमा गाडी बनाउन सिक्दै गरको दिन सम्झदै अशिमले भने, ‘सानो कामबाट विस्तारै सिक्दै गएको हुँ ।’

पढाइसँगै उनले विद्युतीय गाडी बनाउने ठाउँमा काम पनि गर्थे । पछि उनले नेदरल्याण्डमै कार उत्पादन गर्ने कम्पनीमा काम गरे ।

उनको कामप्रतिको लगाबसँगै विश्वको एक उत्कृष्ट टिम ‘डट रेसिङ’सँग पनि काम गर्ने अवससर पाए । ‘डट रेसिङ’ले विद्युतीय गाडी बनाउने र परीक्षण गर्ने गर्थ्यो ।

डट रेसिङमा २ वर्षको अनुभवले अशिमलाई विद्युतीय गाडीप्रति थप रुची बढायो । ‘त्यसपछि मैले फोर्ज रेसिङ टिममा पनि काम गरें,’ अशिम भन्छन्, ‘फोर्ज टिमले हाइड्रोजनबाट चल्ने सवारीसाधन बनाउथ्यो ।’

पढाई र अनुभव बटुल्दै अशिमले सन् २०१५ मा स्नातक सके । त्यसपछिको उनी सोही कलेजमा मास्टर्समा भर्ना भए । कलेजसँगै कार उत्पादन गर्ने कम्पनीमा पनि काम गरिरहे ।

नेदरल्याण्डमा काम गर्दै गर्दा मनमा आइरहेको थियो नेपालमा पनि यस्तै गाडी बनाउन पाए । ‘नेपालमा यस्तै विद्युतीय मोटरसाइकल बनाउन सकिन्छ होला भन्ने मनमा आइरहेको थियो,’ उनी भन्छन्, ‘नेपाल नफर्किदै नेपालमा यो काम गर्ने अठोट लिइसकेको थिएँ ।’

\"\"

यात्रीको यात्रा

सन् २०१७ को डिसेम्बरमा नेपाल फर्किए अशिम । नेपाल फर्किदै गर्दा उनले सपना बोकेर आएका थिए । नेपाल आएलगत्तै त्यही सपनालाई कार्यान्वयन गर्नतिर लागे ।

तर, काम गर्छु भन्नेलाई पनि आफ्नै देश सजिलो छैन् । नेदरल्याण्ड मै बसेर काम गरेको भए पनि हुन्थ्यो तर अशिमको मनले मानेन । ‘स्वदेश मै गर्नु पर्छ, नयाँ काम गर्नुपर्छ,’ उनको अठोट थियो ।

मनको चाहनालाई देशको परिस्थिति र ऐन कानुनले सहयोग नगर्दा कपितय ठाउँमा दिक्क पनि लाग्छ । ‘नेपालमा इन्डष्ट्रियल सपोर्ट छैन् । यसको डिजाइन, इन्जिनियरिङ हामी आफैले गरेको हो’, अशिमले सुनाए, ‘सबै डिजाइन विदेशका कम्पनीबाट आउटसोर्स गर्नु पर्‍यो ।’

उनीहरु यहाँ एउटा डिजाइन गर्थे र त्यसलाई पठाउँथे । त्यसमा केही परिवर्तन गर्नुपर्‍यो भने फेरी अर्को डिजाइन गर्‍यो, पठायो । यो प्रक्रियालाई नै ३–४ महिना लाग्यो । समयसँगै यो प्रक्रियाले महंगो पनि हुन गयो ।

बाइक बनाउँदा उनीहरुलाई दक्ष जनशक्तिको अभाव पनि भयो । यो हुुनुको कारण नेपालमा एकेडेमी र उद्योगबीच ठूलो ग्याप हुनु हो भन्छन् असिम । जसका कारण ग्राजुयट हुने इन्जिनियर वास्तविक कामको लागि तयार हुँदैनन् । नेपालमा अटोमोबाइल उद्योगमा केही छैन ।

\"\"

यात्रीको पी वान मोडेल


अर्को कुरा केही नयाँ इनोभेसनमा सरकारको सहयोग हुनुपर्ने हो । त्यो कुराको कमी अशिमको टिमले भोग्नु प‍र्‍यो ।
विदेशमा हेर्ने हो भने विद्यार्थीको प्राक्टिकलको लागि बाहिरबाट धेरै सहयोग हुन्छ । नेपालमा भने सरकारी तर्फबाट सहयोग र प्रोत्साहन फिटिक्कै नभएको उनको अनुभव छ ।

यात्री मोटरसाइटकलका लागि चाहिने ब्याट्री आफै बनाउँछन् । त्यसमा आवश्यक पर्ने सेल विदेशबाट ल्याउनु पर्छ । जुन अति महंगो पर्छ ।

‘सबभन्दा बढी कर ब्याट्रीमा लाग्छ । ब्याट्रीमा ३० प्रतिशत कर लाग्दो रहेछ,’ अशिम भन्छन्, ‘विद्युतीय सवारीसाधन बनाउँदा प्रयोग हुने कच्चा पदार्थमा पनि २०–२५ प्रतिशत कर लाग्छ ।’

केही दिन अगाडि मात्रै यात्री मोटरसाइकलका दुईवटा मोडेल ‘पी जिरो र पी वान’  सार्वजनिक भएका थिए । कम्पनीले यी मोटरसाइकलको प्रि बुकिङ पनि खुल्ला गरेको छ ।

सार्वजनिक भएका पी जिरो र पी वान मोडेलको प्रतिक्रिया राम्रो पाएको यात्री मोटरसाइकलका प्रोडक्सन इन्जिनियर शाश्वत खरेलले बताए ।

यात्री मोटरसाइकलको टिममा १६–१७ जना छन् । टिममा मेकानिकल इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर, सफ्टवेयर इन्जिनियर लगायतका छन् ।

‘जस्तो सुकै चुनौति आएपनि नेपालमै विद्युतीय मोटरसाइकल बनाउने टिमको लक्ष्य थियो र त्यो पुरा भयो, खरेलले आइसिटी समाचारसँग भने, ‘सम्पूर्ण टिमको एउटै सपनाले लक्ष्य भेट्याउन सकियो ।’

कम्पनीले सार्वजनिक गरेको पी जिरोको काम सन् २०१७ को अन्त्यबाट शुरू भएको हो । पी जिरोको भर्सन वान सन् २०१९ मा तयार भएको थियो ।

त्यसबेला आन्तरिक रुपमा मात्र परीक्षण भएको थियो । त्यसलाई केही सुधार गरेर सन् २०१९ को डिसेम्बरमा पी जिरोको भर्सन २ सार्वजनिक भएको भयो ।

पी जिरो भर्सन ३ सन् २०२० को अप्रिलमा बजारमा ल्याउने तयारी कम्पनीको थियो । कोरोनाले गर्दा उक्त समय केही पछाडी धकेलियो । पी जिरो भर्सन ३ सन् २०२१ मा सार्वजनिक भएको छ ।

पी वानको काम लकडाउन भएपछि शुरू भएको हो । एक वर्षमा पी वानको दुईवटा भर्सन बनाएर परीक्षण गर्न सकियो ।

‘पी जिरो हाम्रो पहिलो बाईक थियो । यसबाट धेरै कुरा सिकेका थियौं, उनी भन्छन्,’ ‘पी जिरो बनाउँदा सिकेका कुराहरूले पी वान बनाउन सफल भयौं ।’ यात्री मोटरसाइकका पी जिरो र पी वान ‘रिसर्च भेहिकल’ हुन् ।

कम्पनीले विद्युतीय मोटरसाइकल बनाउन भारत, चीन, अमेरिका, कोरिया लगायतका देशबाट सामान ल्याएको थियो । पी जिरोको भर्सन वानमा कोरियाबाट ल्याइएको ब्याट्री राखिएको थियो भने पी जिरोको भर्सन २ मा अन्य देशबाट ल्याइएको ब्याट्री राखिएको थियो ।

प्रोटाइपका लागि विभिन्न देशबाट सामान ल्याइए पनि उत्पादनका लागि भारत र चीनबाट सामान ल्याउने यात्रीको योजना रहेको छ ।

कम्पनीले मोटरसाइकल बनाउँदा चाहिने धेरै सामान नेपालमै बनाउने योजना बनाएको छ । हाल सार्वजनिक भएका बाईकमा समेत केही नेपालमै बनाइएका सामान प्रयोग भएका छन् ।

‘च्यासी कम्पनीले नेपालमै बनाएको हो तर च्यासीको फलाम चाहिं नेपालमा पाइदैन् । त्यसको बजार पनि छैन् । च्यासीको कच्चापदार्थ भारतबाट ल्याउँछौं,’ शाश्वत भनछन् ।

‘पी जिरो ग्राउण्ड अपदेखि हाम्रो टिमको लागि एउटा गर्व महशुस गराउने र इन्जिनियरिङ क्षमता देखाउने एउटा मोटरसाइकल हो,’ उनले भने ‘नेपालमा बनेको सामान विदेशी भन्दा कुनै पनि कम हुँदैन् भनेर हामीले बनाएको हो ।’

\"\" यात्रीको पी जिरो मोडेल


एउटा बाइक नेपाली बजारको लागि महंगो छ । यसको निर्माणले अब अन्य सस्तो मोटरसाइकल बनाउन सकिने शाश्वतको भनाइ छ ।

‘त्यसबाट टिमले सिकेको कुरालाई अरू मोटरसाइकलमा प्रयोग गरेर सस्तो प्रडक्ट बनाउन सजिलो हुन्छ,’ उनी भन्छन्, ‘यो विश्वस्तरीय प्रोडक्ट भएकाल गुणस्तरीय पनि हो ।’

विश्वस्तरीय प्रोडक्ट भएकाले पी जिरोलाई ‘पाइक्स पिक हिल’ अमेरिकाको क्लोराडोमा लगेर रेस गराउने योजना रहेको उनले सुनाए ।

‘पि जिरो लिमिटेड एडिसन भएको र उच्च मूल्य भएकाले सर्वसाधरणको पहुँचमा हुनेछैन,’ शाश्वत भन्छन्, ‘नेपाली बजारमा सहुलियत हुने गरी अरू मोडलहरु ल्याउने कम्पनीको योजना छ ।’

बाईकको मूल्य अझै सुलभ बनाउन खोजेको भएपनि त्यो सम्भव नभएको उनको भनाइ छ। अर्को कुरा विद्युती सवारीसाधन आफैमा एउटा महंगो प्रविधि भएको उनको भनाइ छ ।

पी जिरो बनाउन २ देखि ३ वर्ष लागेको थियो भने पी वानको १ वर्षभित्र २ वटा भर्सन निकाल्न सफल भएको थिए ।