कीवर्डहरू -

‘महिलाहरु डिजिटल प्लेटफर्म प्रयोग गरी घरैबाटै काम गरेर आय आर्जन गर्न सक्छन्’

‘महिलाहरु डिजिटल प्लेटफर्म प्रयोग गरी घरैबाटै काम गरेर आय आर्जन गर्न सक्छन्’

वुमन इन इनफोरमेसन टेक्नोलोजी (डब्लुआईआईटी) ले ‘महिला उद्यमीहरूका लागि डिजिटल परिदृश्यमा अवसरहरू’ विषयमा वेबिनार आयोजना गरेको छ । शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म सो वेबिनार आयोजना भएको हो ।

कार्यक्रममा महिला उद्यमीहरुले डिजिटल प्लेटफर्मलाई प्रयोग गरेर व्यवसायमा कसरी सफलता पाउन सक्छन् भन्ने बारे छलफल गरिएको थियो । कार्यक्रमको मुख्य अतिथिको रुपमा नेपाल च्याम्बर अफ कमर्सकी उप – सभापति ऊर्मिला श्रेष्ठको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै उनले सूचना प्रविधिले बजारिकरणको भाषालाई विशिष्टिकरण गरेको बताइन् । उनको विचारमा अरु क्षेत्रहरुको तुलनामा आइसिटी क्षेत्रमा महिलाको सहभागिता अझै पनि कम छ र त्यसलाई बढाउन काम गरिरहेको डब्लुआईआईटीलाई पनि धन्यवाद दिइन् ।

उनका अनुसार महिलाहरुले डिजिटल प्लेटफर्म प्रयोग गरेर घरैबाटै काम गरेर पनि आय आर्जन गर्न सक्छन् । आइसिटीले सफल महिला उद्यमी बन्न एकदमै सहयोग पुर्‍याउने पनि उनको भनाइ थियो ।

‘अहिले व्यवसायीहरुले कस्टमाइज गरेको ईमेल पठाएको पनि एकदमै राम्रो प्रक्रिया हो,’उनले भनिन्, ‘महिलासँग राम्रो संचार कौशल हुने हुँदा त्यसको प्रयोग गरेर सफल महिला उद्यमी बन्न सक्छन् ।’

त्यस्तै वेबिनारका अतिथि वक्ताको रुपमा सस्तोडिलका सह-संस्थापक तथा सीटीओ सोधन मानन्धरले ‘अनलाइन बजार बुझ्ने र त्यसमा ब्यापारका लागि अवसरहरू’ भन्ने विषयमा प्रेजेन्टेसन दिएका थिए । उनले स्मार्टफोन, ब्रोडब्याण्ड र फोरजीको वृद्धिले ई–कमर्सको प्रगति दिनदिनै भईरहेको बताए ।

उनले मार्केटप्लेस र ई–कमर्स स्टोर बिचको फरक पनि बताएका थिए । मार्केटप्लेसमा प्लेटफर्म र इन्भेन्टरीमा लगानी गर्नुपर्ने र ई–कमर्स स्टोरमा ब्राण्ड र इन्भेन्टरीमा लगानी गर्नुपर्ने उनी बताउँछन् ।

मार्केटप्लेस हाम्रोबजार जस्तो सि टू सि, अलिबाबा जस्तो बि टू बि र सस्तोडिल, दराज जस्तो बि टू सि हुने बताएका थिए । सस्तोडिलले पिक प्याक सिप मोडेलमा काम गरिरहेको उनीले बताए जसमा ग्राहकले अर्डर गरेपछि सस्तोडिलले डिलरसँग सामान किनेर ल्याएर प्याक गरेर ग्राहकलाई पुर्‍याउने गर्छन ।

यो मोडेलमा कमिसननै संस्थाको आय हुने गर्दछ । मार्केटप्लेसका लागि बिजनेस प्यान, नागरिकता, ईमेल र फोन नम्बर चाहिने उनले बताए ।

त्यस्तै वेबिनारका अतिथि वक्ताको रुपमा सर्टिफाइड डिजिटल मार्केटिङ ट्रेनर तथा शेरचन कन्सलटिङकी संस्थापक स्वेता शेरचन रहेकी थिइन् । उनले डिजिटल मार्केटिङको बारेमा विशिष्ट जानकारी दिइन् ।

ग्राहकलाई आफ्नो प्रोडक्टले खुशी पार्न सक्नुपर्ने बताएन् । सामाजिक सञ्जालको प्रयोग गरेर राम्रो डिजिटल मार्केटिङ गर्न सक्ने उनको मनसाय रहेको थियो ।

कार्यक्रमको अन्तयमा क्युएनए राउण्ड भएको थियो । डब्लुआईआईटीले विगत एक दशक देखि महिलाहरुलाई प्रविधिको क्षेत्रमा प्रोत्साहन र प्रवर्द्धन गर्ने काम गरिरहेको छ ।