कीवर्डहरू -

नेपालमा पनि सुरु भयो \'सेल्फी विथ डटर\' अभियान

नेपालमा पनि सुरु भयो \'सेल्फी विथ डटर\' अभियान

नेपालमा पनि सेल्फी विथ डटर अभियान शुरू भएको छ । आईतबार एक भर्चुअल कार्यक्रम गरी सेल्फी विथ डटर अभियान शुरू गरिएको हो ।

सेल्फी विथ डटर फाउण्डेसन र नेपाल इन्टरनेट फाउण्डेसनले सम्झौता गरेसँगै छोरीसँग सेल्फी खिचेर हाल्ने अभियान नेपालमा पनि शुरु भएको छ ।

भारतको हरियाणा नामक सानो गाउँ देखि सुरु भएको पहल अब अन्तर्राष्ट्रियकरण हुने भएको छ । भारतमा यस अभियानले एकदमै सकारात्मक परिवर्तन ल्याएको सेल्फी विथ डटर फाउण्डेसनका अध्यक्ष सुनिल जग्लानले बताए ।

भारतसँग नेपालको संस्कृति, चलन, धर्म आदि मिल्ने हुँदा यसले नेपाललाई पनि यो पहलले सहयोग पुर्‍याउने मान्यता राखिएको छ ।

नेपाल इन्टरनेट फाउण्डेसनका अध्यक्ष विक्रम श्रेष्ठले नेपालमा अझै पनि छाऊपडि प्रथाहरु जस्तो माहिलालाई दमन गर्ने कार्यहरु भईरहँदा यो नयाँ अभियानले छोरीहरुको महत्व र अधिकार सुनिश्चित गर्ने बताए ।

कार्यक्रममा मुख्य अतिथिको रुपमा पूर्व वातावरण तथा सञ्चार मन्त्री गणेश शाह रहेका थिए । उनले यो अभियानलाई आफ्नो तर्फबाट पूर्णरुपले सहयोग गर्ने र यसलाई ग्लर्स तथा प्यारेन्ट इन आइसिटीसँग पनि जोडेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

सेल्फी विथ डटर फाउण्डेसनकी सदस्य आरोहीले लकडाउनको समयमा धेरै महिलाहरुले घरेलु हिंसा भोग्नु परिरहेको कुरामा जोड दिदै यो अभियानले जनचेतना फैलाउने काम गर्छ भन्ने विश्वास जनाइन् ।

कार्यक्रममा सहभागी भएकी पोखरा विश्वविद्यालयकी छात्रा ईशा श्रेष्ठले नेपालमा बलात्कार र एसिड आक्रमण बढ्दै गईरहेको अवस्थामा यस्तो किसिमको पहल एकदमै महत्वपूर्ण रहेको बताइन् ।

कार्यक्रमको अन्त्यमा क्यूएनए राउण्ड सञ्चालन गरिएको थियो । यस अभियानमा सहभागी हुनका लागि आ-आफ्नो छोरीसँग हाँस्दै गरेको सेल्फी खिचेर सामाजिक सञ्जालमा ह्यासट्याग सेल्फी विथ डटर भनेर हाल्नुपर्नेछ ।

त्यस्तै सेल्फी विथ डटर डट आईएन पोर्टलमा पनि हाल्न सकिन्छ वा ह्वाटसएपमा ९८०१००००४४ मा पठाउन सकिन्छ ।
\"\"