कीवर्डहरू -

टेलिफोन टावरमा प्राविधिक समस्या आएपछि ताप्लेजुङको घुन्साबस्ती दुई सातादेखि सम्पर्कविहीन

टेलिफोन टावरमा प्राविधिक समस्या आएपछि ताप्लेजुङको घुन्साबस्ती दुई सातादेखि सम्पर्कविहीन

पर्यटकीय बस्ती ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ घुन्सामा दुई सातादेखि सम्पर्कविहीन बनेको छ । टेलिफोन टावरमा प्राविधिक समस्या आएपछि सम्पर्कविहीन बन्न पुगेको हो । टावरमा समस्या आएसँगै  कुनै टेलिफोन तथा मोबाइलमार्फत  सञ्चार  हुन सकेको छैन ।

कोभिड-१९ को सङ्क्रमण बढिरहेको समयमा आफ्ना आफन्तहरूसँग सम्पर्कमा रहनुपर्ने समयमा  घुन्सा क्षेत्रका स्थानीयवासीले आफ्ना आफन्तसँग सम्पर्क बन्द भएको स्थानीयवासी मिङमा डण्डु शेर्पाले जानकारी दिए ।  समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइमा अवस्थित बस्ती घुन्सा र फले क्षेत्रमा मोबाइल बन्द भएको हो ।

स्याटेलाइट प्रविधिबाट  घुन्सा क्षेत्रमा  मोबाइल  सेवा प्रदान गर्दै आएको दूरसञ्चार कार्यालय ताप्लेजुङका निमित्त कार्यालय प्रमुख वीरेन्द्र चेम्जोङले बताए ।

उनले भने, ‘टावरमा समस्या आएको छ । केही आवश्यक उपकरण फेर्नु पर्दछ । त्यसका लागि आवश्यक सामग्री इलाम दूरसञ्चार कार्यालयबाट झिकाएको छ । आज फुङलिङमा आइपुग्छ ।’

घुन्सा क्षेत्रमा अहिले कुनै सञ्चार हुन सक्दैन । नेपाल प्रहरीको सेटबाट  घुन्सा प्रहरी चौकीमामार्फत स्थानीयवासीलाई आवश्यक सामग्री लिन सदरमुकाम फुङ्लिङ आउन खबर गरेको चेम्जोङले बताए ।

सदरमुकाम फुङलिङबाट स्थानीयवासी आफैंले ढुवानी गरेर घुन्सासम्म पुर्याउनुपर्ने उनले बताए । सदरमुकाम फुङ्लिङदेखि घुन्सा पुग्न तीन दिन पैदल यात्रा गर्नु पर्दछ ।

ताप्लेजुङमा घुन्सा र ओलाङचुङगोल गरी दुईवटा स्याटलाइट प्रविधिबाट हिमाली बस्तीमा मोबाइल सेवा दिइरहेको जिल्ला दूरसञ्चार कार्यालयले जनाएको छ । ताप्लेजुङको विभिन्न स्थानमा २३ वटा मोबाइल टावरले सेवा दिँदै आएको कार्यालयको तथ्याङकमा छ । रासस