कीवर्डहरू -

डिजिटल रूपान्तरणको प्रयासमा नेपाल

डिजिटल रूपान्तरणको प्रयासमा नेपाल
आभाष पालिखे

डिजिटल रुपान्तरणले हाम्रो बाँच्ने, खेल्ने र काम गर्ने तरिकामा आमूल परिवर्तन ल्याएको छ । प्रविधिमा दिनदिनै बढदो लगानीसँगै परम्परागत व्यवसायमा पनि परिवर्तन आइरहेको छ, जसले अहिलेको युगलाई डिजिटल अर्थव्यवस्था तर्फ डोर्‍याइरहेको छ ।

केही वर्षदेखि डिजिटल सञ्चार, डिजिटल भुक्तानी, ई–कमर्स र अनलाइन मार्केटिङ एकदमै बढदै गइरहेको छ । अहिलेको समयमा ई–सेवा जस्तो भुक्तानी सेवा र दराज जस्तो किनमेल गर्ने ठाउँले हाम्रो जीवनलाई अझै सहज बनाएको छ ।

डिजिटल अर्थव्यवस्थाको विकासमा कोरोना महामारीले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । सामाजिक दूरी कायम गर्नका निम्ति वित्तिय संस्थाहरुले क्यासलेस समाजलाई बढावा दिएका छन् ।

नेपालमा अनलाइन खरिदकर्ताको दर पनि बढ्दै गएको छ । दराजका अनुसार ४० प्रतिशत भन्दा बढी कारोबार कार्ड, ई–वालेटद्वारा हुन्छ । इन्टरनेट प्रयोग पनि एकदमै बढ्दै गएको छ किनभने धेरै मान्छेले सामाजिक दूरी कायम गर्नका लागि घरबाटै काम र अध्ययन, अध्यापन गरिरहेका छन् ।

मान्छेले सामाजिक सञ्जालका लागि मात्रै इन्टरनेट प्रयोग नगरेर शिक्षा, स्वास्थ्य, किराना र अरु आर्थिक कार्यमा पनि इन्टरनेट प्रयोग गरिरहेका छन् । यो महामारीको समयमा सबै क्षेत्रमा प्रविधिको उच्चतम प्रयोग भएको छ ।

यसैले नै नेपाल डिजिटल युगमा अगाडि बढेको थाहा पाउन सकिन्छ । नेपालमा डिजिटल अर्थव्यवस्थाको विकास प्रविधि क्षेत्रको विकासलेनै बढ्दै गएको छ । हालैमा नेपाल सरकारले ‘नागरिक एप’ सार्वजनिक गरेको छ जसले एउटा प्लेटफर्मबाटै धेरै खालको सरकारी सुविधाहरु दिन्छ  ।

यो एप नागरिकता, पासपोर्ट, वा भोटर आईडि भएकाले प्रयोग गर्न सकिन्छ । यसले अर्थव्यवस्थामा पनि छिटो, भरपर्दो र पारदर्शी रुपमा विकास हुन मद्दत पुर्‍याउँछ ।

सरकारले सूचना एकीकरण गर्ने काम, नागरिकको सम्बन्धमा विद्युत् शुल्क, आन्तरिक राजस्व, भन्सार महसुल, सवारी चालक अनुमतिपत्र, र नवीकरण जस्ता कामलाई सरल बनाउने प्रक्रिया पनि सुरू गरिसकेको छ ।

दक्षिण एसियामा सुपर–फास्ट कनेक्टिभिटी दिने पहिलो देश बन्न नेपाल प्रयासमा रहेको छ । नेपालमा फाइभजी परीक्षण गर्ने प्रक्रिया समेत सुरू भइसकेको छ । फोरजी सेवा देशका सबै ७७ ओटै जिल्लामा पुगिसकेको छ । यसले कुल जनसंख्याको ८५ प्रतिशतलाई समेटेको छ ।

जनवरी २०२१ को मध्यसम्म ‍८२.७९ प्रतिशतमा जनसंख्यामा ‍ब्रोडब्याण्ड इन्टरनेट विस्तार भइसकेको थियो । यो संख्याले हामी नयाँ प्रविधि अपनाइरहेका छौं र डिजिटल अर्थतन्त्रको लागि मार्ग निर्माण गर्न इच्छुक छौं भन्ने देखाएको छ ।

हामी मुख्य डिजिटल रूपान्तरणमा अगाडि बढिरहेका छौं । तर त्यहाँ अब र आगामी दिनमा थुप्रै चुनौतीहरू आउँदै छन् । त्यसमध्येको मुख्य चुनौती हो, दक्ष जनशक्तिको अभाव ।

अर्को समस्या भनेको त्यस्ता प्रविधि अपनाउन अपर्याप्त पूर्वाधार हो । भिडियो डाटा र उच्च ब्यान्डविथ कनेक्टिभिटी लागू गर्न एकदमै आवश्यकता देखिएको छ ।

देशभरका मानिसहरूलाई सस्तो र उच्च गतीको इन्टरनेटसँग जोड्नु डिजिटल नेपालको मुख्य आधार हो ।

हामीले डिजिटल भुक्तानी र इ–कमर्समा प्रगति गरेका छौं । तर यसको उपलब्धता काठमाडौं उपत्यका र केही प्रमुख शहरहरूमा मात्रै सीमित छ । दीर्घकालीन नीति योजना र व्यवस्थापनको अभाव हाम्रो लागि ठूलो समस्या भएको छ । विश्वव्यापी डिजिटल क्रान्तिसँग अगाडि बढ्न योजनाकार र नीति निर्माताको भूमिका महत्वपूर्ण हुन्छ ।

\"\"

विकासको हरेक पूर्वाधारमा प्रविधिको प्रयोगलाई प्राथमिकता दिदै उच्च लगानीमा मात्र नेपालको डिजिटल रूपान्तरण सम्भव हुनेछ ।

रूपान्तरणलाई द्रुत गतिमा अघि बढाउन विच्छेदन गरिएको उद्यम, बलियो डाटाबेसको अभाव, तथ्यको अभाव, खराब सेवा डेलिभरी र असक्षम बजार लगायतका केही मुख्य अवरोधहरू रहेका छन् ।

सरकार र स्थानीय स्तरको भ्रष्टाचार तथा सशक्तिकरणको अभावले पनि समान रूपमा बाधा सिर्जना गरिरहेको छ ।विश्वको ध्यान अब डिजिटल अर्थव्यवस्थाको अन्वेषण र विकासमा केन्द्रित भएकाले हाम्रो अर्थव्यवस्था पनि डिजिटल रूपान्तरण गर्नु प्रमुख आवश्यकता रहेको छ ।

यद्यपि यो लामो समय लाग्ने काम हो तर डिजिटल नेपालको यात्रा त्यति गाह्रो हुँदैन किनकि इन्टरनेट सुविधा र मोबाइल सेवाहरूको बृद्धि सबैभन्दा उत्साहजनक रुपले भईरहेको छ ।

हामीसँग खल्ती, पठाओ, फुडमाण्डु लगायतका धेरै कम्पनिहरू रहेका छन् जसले हाम्रो दैनिक जीवनलाई सहज बनाइरहेका छन् । डिजिटल नेपाल बनाउँदा यस्ता प्लेटफर्महरूले विश्वसनीयता बढाउनेछ र नेपालका सबै ठाउँमा डिजिटल रुपान्तरणको उपलब्धता विस्तार गर्नेछ ।

कम्पनीहरूले एक अर्कासँग सम्बन्ध राख्नुपर्नेछ र सरकारसँग भविष्यको योजना पत्ता लगाउन छलफल गर्नु पर्छ जुन उद्योगका लागि राम्रो कुरा हो । हामीले अन्तर्राष्ट्रिय कम्पनीहरुलाई आकर्षित गर्नु पर्छ र स्थानीय उद्यमहरुलाई हाम्रो बजारमा लगानी गर्न प्रोत्साहित गर्नुपर्ने देखिन्छ ।

स्टार्टअपहरूलाई समर्थन र राम्रो व्यापार वातावरण सिर्जना गर्नु पनि उतिकै महत्त्वपूर्ण हुने गर्दछ । सार्वजनिक सेवाहरू अनलाइनबाट प्रदान गर्नु पर्छ ।

प्रविधिले नगरपालिकाका सेवाहरूको उत्पादकत्व बढाउनेछ र अझ राम्रो सामाजिक र सामुदायिक परिणाम प्रदान गर्नेछ । यो निरन्तर गरिरहनु पर्ने प्रक्रिया हो ।

डिजिटल नेपालका कारणले मान्छेहरुले आफ्नो डिजिटल हस्ताक्षर प्रयोग गरेर विश्वको कुनै पनि भागमा हुँदा इन्टरनेटको मार्फतले संसद सदस्यलाई मतदान गर्न पाउनेछन् ।

प्रविधिको पूर्ण प्रयोगले सरकारलाई छिटो र उत्तम निर्णय लिन मद्दत पुर्‍याउँछ जसले अन्ततः राम्रो सार्वजनिक सेवा प्रदान गर्ने किसिमले व्यवसाय गर्न र नागरिकहरूको बदलिएको आवश्यकतालाई सम्बोधन गर्न सहज हुन्छ ।

हामीले हाम्रो शिक्षा प्रणालीमा क्रान्तिकारी परिवर्तन गर्नै पर्छ किनकि यो हरेक वर्ष बढी परम्परागत हुँदै गइरहेको छ । यसको मुख्य कारण भनेको प्रविधिको उचित उपयोग बारे सचेतनाको कमी हो ।

हामीले डिजिटल नेपालको सफलता र विश्वव्यापी रूपमा सक्षम मानव संसाधन उत्पादन गर्न शिक्षा प्रणालीलाई आधुनिकीकरण गर्नै पर्ने हुन्छ ।

नेपालले आफ्ना छिमेकी राष्ट्र चीन र भारतबाट सिक्नुपर्छ जुन सबभन्दा छिटो डिजिटलाइज भएको अर्थतन्त्र हो र विश्वव्यापी शक्तिको रूपमा चिनिन्छ ।

आर्थिक वृद्धि र बढ्दो उत्पादकत्व विश्वको दुई सबैभन्दा धेरै जनसंख्या भएका देशहरूमा डिजिटलाइजेशनको प्रमुख अपेक्षित परिणामहरू हुन् । यदि ति राष्ट्रहरुले सक्छन् भने, हामीले किन सक्दैनौं ?

नेपाल एक त्यस्तो देश हो जोसँग आर्थिक वृद्धिको ठूलो सम्भावना छ । अहिलेका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको एक सुधारिएको शिक्षा प्रणाली हो जसले राष्ट्रलाई डिजिटल क्रान्तिको बाटोमा लैजान र दक्ष जनशक्ति उत्पादन गर्न सहयोग पुर्‍याउँछ ।

हाम्रो अर्थव्यवस्था डिजिटलाइज गर्नुको आवश्यकता केवल आधुनिकीकरण मात्र नभई हाम्रा जनताको जीवनस्तर उकास्नु पनि हो । म पक्कै पनि यो कुरामा विश्वस्त छु कि हाम्रो डिजिटल नेपालको सपना अब त्यति टाढा पनि छैन् ।

(लेखक हाल काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीमा स्नातक तहमा कम्प्युटर इन्जिनियरिङ अध्ययन गरिरहेका छन् )