कीवर्डहरू -

नेपालीले बनाएको अक्सिजन कन्सनट्रेटर परीक्षण गर्न अक्सिजन एनालाइजरको अभाव, सहयोग गर्न अनुरोध  

नेपालीले बनाएको अक्सिजन कन्सनट्रेटर परीक्षण गर्न अक्सिजन एनालाइजरको अभाव, सहयोग गर्न अनुरोध  

मुलुक कोभिड संक्रमणले आक्रान्त भइरहेको बेला अक्सिजन अभावले धेरै जनाले ज्यान गुमाउनु परेको छ । एकै पटक ठूलो संख्यामा कोरोना संक्रमित हुदा अक्सिजनको माग उच्च छ तर मुलुकभर यसको अभाव छ ।

यही अभावलाई मध्यनजर गर्दैै राष्ट्रिय युवा अभियान नेपालमा संलग्न रहेका इन्जिनियर तथा डाक्टरहरुको समूहले अक्सिजन कन्सनट्रेटर बनाएका छन् ।

यो उपकरण बनाउन संलग्न डाक्टर विकास सिटौलाका अनुसार अक्सिजन कन्सनट्रेटर भएपछि अक्सिजन उपलब्धतामा थप सहयोग हुनेछ ।

विद्युतबाट चल्ने यो उपकरणले अक्सिजन दिने भएकाले अक्सिजन सिलिण्डरको अभाव पूर्ति गर्न सक्छ । यो उपकरण बनाउन डा. सिटौलासहित इन्जिनियहरु अविशेक काफ्ले, रमन सिल्वाल र सुष्मा पोखरेल संलग्न भएका थिए ।

नेपालमा यसअघि पनि विरामीलाई अक्सिजन दिन यो उपकरण प्रयोग हुने भए पनि यही उत्पादन हुन सकेको थिएन ।

चीन र भारतबाट आयात भइरहेको अक्सिजन कन्सनट्रेटर कोरोना संक्रमणपछि आयात बन्द भएको छ । चीनबाट ल्याउन बोर्डर बन्द छ भने भारतमा यसको अभाव छ । जसले गर्दा नेपालमा पनि अभाव भइरहेको छ ।

यस्तो अवस्थामा हामी आफैले यो उपकरण बनाउन सक्छौं भनेर सुरु गरेका हौं,’ आइसिटीसमाचारसँग कुरा गर्दै नोबल अस्पताल, सिंनामंगलमा कार्यरत डा. सिटौलाले भने, ‘अहिले यो डिभाइस बनाइसकेका छौं । यसको परीक्षण हुन बाँकी छ ।’

अक्सिजन एनालाइजर उपलब्ध नुहदा परीक्षण हुन सकेन

राष्ट्रिय युवा अभियान नेपालले काठमाडौं युनिभर्सिटी डिजाइन ल्याबको सहकार्यमा अक्सिजन कन्सनट्रेटर बनाउन सफल भए पनि यसको परीक्षणका लागि अक्सिजन एनालाइजर उपलब्ध हुन सकेको छैन ।

तयार भएको अक्सिजन कन्सनट्रेसन सफल भयो कि भएन भनेर परीक्षण गर्नु पर्छ । उक्त परीक्षणको लागि ‘अक्सिजन एनालाइजर’ भन्ने उपकरण चाहिन्छ । जसले फाल्ने ग्यासमा कति प्रतिशत अक्सिजन छ भनेर नाप्छ ।

‘हामीले अहिले यो अक्सिजन एनालाइजर खोजिरहेका छौं,’ उनी भन्छन्, ‘यसले हामीले सोचेजति अक्सिजन फालेको रहेछ भने हामीले यसलाई मास उत्पादनमा लैजान तयारीमा छौं ।’

उनीहरुले अक्सिजन एनालाइजर कसैसँग भएमा उपलब्ध गराइदिन आह्वान गरेका छन् । त्रिपुरेश्वर क्षेत्रमा पाउन सक्ने भए पनि अहिलेसम्म उपलब्ध हुन नसकेको उनले बताए ।

अक्सिजन एनालाइज बजारमा किन्दा ७ हजारदेखि एक लाखसम्ममा पाइन्छ । कोरोना संक्रमणले गर्दा बजारमा डुलेर किन्न सक्ने अवस्था हुदा उनीहरुलाई झन समस्या परेको छ ।

परीक्षण नगरिकन यसलाई सफल भयो भनेर भन्न नसकिने उनी बताउँछन् । उपकरण तयार भइसकेको छ र परीक्षणपछि सफल भयो भने सार्वजनिक गर्ने उनीहरुको तयारी छ ।

के हो यो उपकरण ?

यो वायुमण्डलमा रहेको विभिन्न ग्यासमध्ये सबैलाई फिल्टर गरेर अस्सिजनमात्र निकाल्ने उपकरण हो । हावामा २१ प्रतिशत अक्सिजन र ७८ प्रतिशत नाइट्रोजन हुन्छ ।

यसले वायुमण्डलमा रहेको ग्यासलाई लिएर फिल्टरको काम गर्छ । नाइट्रोजनलाई रोकेर राख्छ र अक्सिजनलाई मात्र छिर्न दिन्छ । यसरी यसले निकालेको ग्यासमा ९० देखि ९५ प्रतिशत अक्सिजन हुन्छ ।

कोभिडको यस महामारीमा अक्सिजन सिलिण्डर नभएर हाँहाँकार भइरहको बेला यसको ठूलो उपयोगी हुनेछ । विरामीलाई सिधै अक्सिजन दिने भएकाले अक्सिजन सकिने समस्या पनि हुदैन ।

यो उपकरण सामान्यतया महंगो नै हुन्छ । गुणस्तरअनुसार विभिन्न मूल्यमा यो उपलब्ध भएको डा. सिटौला बताउँछन् ।

कोरोना संक्रमणअघि चीनबाट आइरहेको अक्सिजन कन्सनट्रेसनको मूल्य ६० हजार देखि ६५ हजार रुपैया पथ्र्यो । कोभिड पछि यो बढेर ८५ देखि ९० हजार पुगेको छ ।

अमेरिकन कम्पनीका यो उपकरण भने एक लाखदेखि माथि ब्रान्डअनुसार छन् । नेपालमा आधा मूल्य उत्पादन गर्ने लक्ष्य यस संस्थाले बनाएको यो मेसिनलाई भने अहिलेको आयातित मूल्यभन्दा सस्तो उत्पादन गर्न सकिन्छ कि भन्ने विश्वासमा छन् ।

‘तर पनि यसको मूल्य कति पर्छ भनेर परीक्षण गरेर पूर्णरुपमा तयार भएपछि मात्र थाहा हुन्छ,’ डा. सिटौला भन्छन्, ‘पहिलो उत्पादन जहले पनि महंगो हुन्छ । जब मास प्रोडक्सनमा जान्छौं, तब मात्रै यसको मूल्य कम हुने हो ।’

५० हजारभन्दा तलको मूल्यमा बनाउन सकिन्छ भन्ने उनीहरुको लक्ष्य छ । यसको उत्पादनको लागि गुणस्तर तथा नाप तौला तथा गुणस्तर विभागको स्वीकृति लिनुपर्छ । विभागले यसको गुणस्तर परीक्षण गर्छ ।

स्वीकृतिको लागि लामो प्रकृया भएकाले अहिलेको कोभिड संक्रमणमा यो प्रकृयालाई अलि छिटो गरिदिएमा राम्रो हुन्थ्यो भन्ने उनीरुको अपेक्षा छ । यसको सफल परीक्षण भएपछि सरकारलाई यो अपिल गर्ने डा. सिटौलाले बताए ।

राष्ट्रिय युवा अभियान नेपाल राष्ट्र निर्माणको लागि प्रतिबद्ध युवाहरुको सन्जाल हो । यसमा ईन्जिनियर, डाक्टर तथा मेडिकल विद्यार्थीहरु रहेका छन् । गैरसरकारी संस्थाको रुपमा यसको दर्ता प्रकृया अगाडि बढेको डा. सिटौला बताए ।

यो भिडियो पनि हेर्नुहोस्