कीवर्डहरू -

गूगल प्ले स्टोरमा नागरिक एप ५ लाख डाउनलोड

गूगल प्ले स्टोरमा नागरिक एप ५ लाख डाउनलोड

नागरिक एप गूगल प्ले स्टोरमा ५ लाख डाउनलोड भएको छ । गत माघ २ गते बेटा भर्सनको रूपमा सार्वजनिक भएको नागरिक एप गएको बैशाख १९ गते फुल भर्सन सार्वजनिक भएको थियो ।

सरकारले सम्भव भएसम्मका सबै सार्वजनिक सेवाहरु मोबाइल एपबाटै दिने उद्देश्यले नागरिक एप सार्वजनिक गरेको थियो ।

पछिल्लो समय एपमा पुलिस क्लियरेन्स रिपोर्ट र स्वास्थ्य बिमा कार्यक्रम समेत नागरिक एपमा थपिएका छन् । एपबाटै क्युआर स्क्यान गरेर नेपाल बैंक र सिद्धार्थ बैंकमा खाता खोल्न सकिन्छ ।

राजश्व, यातायात, ट्राफिक, लोकसेवा जस्ता सरकारी कार्यालय जानै नपर्ने गरी सहज बनाउने छ । हरेक नेपालीले सहजै प्रयोग गर्न सक्ने गरी नागरिक एप तयार पारिएको सरकारको दावी छ ।

अहिले सरकारका विभिन्न निकायसँग नागरिकको पहिचान गर्न सक्ने डिजिटल विवरण छन् । जस्तै गृह मन्त्रालयसँग २ करोड भन्दा बढी नागरिकताको विवरण छ । औंठा छाप र फोटो सहितर १ करोड ५५ लाख नागरिकको जानकारी निर्वाचन आयोगसँग छ । ६५ लाख भन्दा बढीको पासपोर्टको जानकारी राहदानी विभागसँग छ ।

यी तिनै स्थानमा रहेको विवरणलाई प्रयोग गरी नागरिक एपमा नागरिकको डिजिटल परिचय स्थापित गरिएको छ । आगामी दिनमा यसमा राष्ट्रिय परिचयपत्रलाई समेत जोड्ने सरकारको योजना रहेको छ ।

सरकारी सेवा सुविधा लिदा कागजपत्र बुझाउनुपर्ने झन्झट अन्त्य गर्न एपले स्वाचालित रुपमा आवश्यक विवरण लिने पुष्टि गर्ने काम गर्नेछ । नागरिकले आफ्नो नागरिकता, राहदानी, कम्पनी दर्ता, शैक्षिक प्रमाणपत्र जस्ता कागजात साथमा बोकेर हिड्नु पर्ने झन्झट एपले अन्त्य गरिदिने बताइएको छ ।

उदाहरणका लागि एपमा नागरिकता नम्बर राखेकै भरमा स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्न सक्ने प्रकिया थाल्न सकिन्छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार स्थानीय सरकारले प्रदान गर्ने ६४ मध्ये ४० भन्दा बढी सेवा एपमै उपलब्ध हुने छन् । नागरिक एपमा कुनै विवरण भर्नु वा अपलोड गरिरहनु पनि पर्दैन ।

सरकारका विभिन्न निकायसँग भएका तपाईका प्रमाणीत विवरण एपले स्वाचालित रुपमा रुजु गर्छ । जसले गर्दा फेरबदल वा किर्ते गर्ने सम्भावना पनि नहुने बताइएको छ ।

नागरिक एपमा पहिलो चरणमा सरकारी सेवा र दोस्रो चरणमा अर्ध सरकारी सेवाहरु समेटिने छन् । यसले नागरिकको सहजता, सुशासन, भ्रष्टाचार न्यूनिकरण र सरकारको सञ्चालन खर्च कटौतीमा समेत ठूलो टेवा पुर्‍याउने विश्वास रहेको छ ।

नागरिक एपबाट हेलो सरकारमा गुनासो समेत गर्न सकिने छ । एपबाट गुनासोको सम्बोधन भयो की भएन भनेर जानकारी समेत लिन सकिने छ । एपबाट सार्वजनिक बिदाको दिन समेत सेवा लिन सकिने छ ।

गृह मन्त्रालयले एप प्रयोग गर्दा नागरिकता सम्बन्धि देखिएका समस्या समाधान गर्न छुट्टै प्रणाली सञ्चालनमा ल्याइसकेको छ ।