नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले सोमबार विश्व दूरसंचार तथा सूचना समाज दिवस (डब्ल्यूटीआईएसडी) को अवसरमा विशेष कार्यक्रम गर्ने भएको छ ।
हरेक वर्ष मे १७ अन्तर्राष्ट्रिय विश्व दूरसंचार र सूचना समाज दिवस मनाउने गरिन्छ । यस वर्ष पनि ‘चुनौतीपूर्ण समयमा डिजिटल रूपान्तरणको गति’ ‘थिम’मा उक्त दिवस मनाइदै छ ।
प्राधिकरणले ‘चुनौतिपूर्ण समयमा नेपालको डिजिटल रूपान्तरणको गति’ विषयमा विशेष कार्यक्रम गर्न लागेको हो ।
सोमबार विहान ११ः३० देखि भर्चुअल माध्यमबाट आयोजना हुने कार्यक्रममा सञ्चार तथा सुूचना प्रविधि मन्त्री पार्वत गुरुङले सम्बोधन गर्ने छ ।
प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल अध्यक्ष रहने कार्यक्रममा सूचना तथा सञ्चार (आइसिटी) विज्ञ मनोहर भट्टराईको ‘चुनौतीपूर्ण समयमा नेपालको डिजिटल रूपान्तरणका मुख्य ट्रेण्डहरु’ विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।
यसैगरी सोहि विषयमा प्यानल डिस्कसन समेत सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।
डब्ल्यूटीआईएसडी २०२१ आईटीयू सदस्यहरुका लागि आइसिटी विकासको राष्ट्रिय रणनीति, लगानी, सहयोग र साझेदारीलाई प्रोत्साहित गर्ने र स्मार्ट नीतिहरूको प्रवद्र्धन गरेर डिजिटल रूपान्तरणको लागि निरन्तर जोड दिने अवसर हो ।
नेपालबाट ज्ञान र नीतिगत संवादलाई सहज पार्न एनटिएले भर्चुअल कार्यक्रमको आयोजना गरेर डब्ल्यूटीआईएसडी २०२१ मनाउन लागेको हो ।
यो युगमा नेपालको डिजिटल रूपान्तरणको नेतृत्व गर्ने च्याम्पियन्स र अधिकारीहरूलाईसँगै राखेर कार्यक्रम गर्ने आयोजकको योजना रहेको छ ।
१९९८ मार्च ४ तारिखमा नेपाल दुरसञ्चार प्राधिकरण स्थापना भएपछि दूरसञ्चार क्षेत्रको नियमक निकायको रुपमा प्राधिकरणले काम गर्दै आइरहेको छ ।
विश्व दूरसंचार तथा सूचना समाज दिवस २०२१ विशेष कार्यक्रममा सहभागि हुन यो लिंक https://bit.ly/3eNZiU3 मा आफ्नो विवरण बुझाउनुपर्नेछ ।
कार्यक्रम व्यवस्थापन समुहले कार्यक्रमको लिंक तथा आइडी उपलब्ध गराउनेछ ।