कीवर्डहरू -

दोस्रो दिनमा ५ हजार मोबाइलमा चल्यो टेलिकमको भीओएलटिई सेवा, ९० हजार सिममा एक्टिभेट 

दोस्रो दिनमा ५ हजार मोबाइलमा चल्यो टेलिकमको भीओएलटिई सेवा, ९० हजार सिममा एक्टिभेट 

नेपाल टेलिकमको भ्वाइस ओभर एलटिई (भीओएलटिई) सेवा दोस्रो दिनमा ५ हजार मोबाइल सेटमा चलेको छ । टेलिकमले सोमबारबाट नेपालमै पहिलो पटक भीओएलटिई सेवाको परीक्षण सुरूवात गरेको थियो ।

नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीका अनुसार मंगलबारसम्म ५ हजारले भीओएलटिई सेवाको प्रयोग गरेका छन् भने ९० हजार बढी सिममा भीओएलटिई एक्टिभेट भएको छ ।

भीओएलटिई चलाउन २ वटा कुराको आवश्यक पर्छ । भीओएलटिई सेवा प्रयोग गर्न सिममा भीओएलटिई सेवा एक्टिभेट गर्नुपर्छ भने मोबाइल फोनमा पनि भीओएलटिई सपोर्ट हुनुपर्छ ।

*४४४# डायल गरेर सिममा भीओएलटिई सेवा एक्टिभेट गर्न सकिन्छ । यदी सिममा भीओएलटिई एक्टिभेट भएन भने सिम नै परिवर्तन गर्नुपर्ने प्रवक्ता जोशीले बताए ।

‘भीओएलटिई प्रयोग गर्न मोबाइलमा एलटिई इनेबल भएर मात्रै पुग्दैन्,’ आइसिटी समाचारसँग कुरा गर्दै जोशीले भने, ‘मोबाइल फोनले भीओएलटिई पनि सपोर्ट गर्नुपर्छ ।’

मोबाइल सेटिङको मोबाइल नेटवर्क भित्र गएर भीओएलटिई इनेबल गर्नुपर्छ । मोबाइलमा भीओएलटिई इनेबल भएपछि स्क्रीनको माथितिर थ्रिजी/फोरजी देखाए जस्तै भीओएलटिई देखाउछ र त्यसपछि यो सेवा प्रयोग गर्न सकिन्छ ।

टेलिकमले भीओएलटिई परीक्षण सुरूवातको अवसरमा १०० मिनेट निःशुल्क कल समेत दिएको छ । जसलाई *१११# डायल गरेर एक्टिभेट गर्न सकिन्छ ।