कीवर्डहरू -

उपायको निःशुल्क अक्सिजन डेलिभरी सेवाः यसरी लिन सकिन्छ मोबाइल एप र टेलिफोनबाट

उपायको निःशुल्क अक्सिजन डेलिभरी सेवाः यसरी लिन सकिन्छ मोबाइल एप र टेलिफोनबाट

कोरोना संक्रणले आक्रान्त पारिरहेको बेला अक्सिजनको अभाव हाँहाँकार छ ।  विरामीको उपचारमा अक्सिजन धेरै खपत हुन थालेपछि यसको माग बढेको छ । निशेषाज्ञा भएका कारण उपलब्ध अक्सिजन ओसारपसारमा पनि समस्या छ ।

यदि यो बेला अक्सिजन सिलिन्डर ओसारपार गर्नु छ भने उपाय सिटी कार्गो ले निशुल्क सेवा दिइरहेको छ । आपतको यो बेला सम्पर्क गर्न सजिलो होस् भनेर उपाय सिटी कार्गो मोबाइल एप र टेलिफोन नम्बर प्रयोग गरिरहेको छ ।

कम्पनीले स्यानिटाइजर, मास्क, ग्लोब्स प्रयोग गरी स्वास्थ्यका मापदण्ड पालना गरी सेवा दिइरहेको छ । एप र टेलिफोन प्रयोग गरेर सिटी कार्गो गाडी वा मोटरसाइकल अक्सिजन सिलिन्डर ओसारपसारको लागि निशुल्क रुपमा प्रयोग गर्न सकिन्छ ।

कसरी सेवा लिने सिटी कार्गोको निःशुल्क सेवा ?

उपाय सिटी कार्गोको क्लाइन्ट एप गूगलको प्ले स्टोर र एप्पलको एप स्टोरमा उपलब्ध रहेको छ । त्यहाँबाट क्लाइन्ट एप डाउनलोड गर्नुपर्छ ।

उपाय सिटी कार्गोको एन्ड्रोइड मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् भने आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

त्यसपछि एपमा रजिष्टर गरेर मलाई यो ठाउँबाट यो ठाउँ सामान लिनुपर्‍यो वा अक्सिजन सिलिण्डर लिनु पर्‍यो भनेर बुक गर्नुहुन्छ । त्यसपछि त्यहाँ प्रोमोकोड हाल्ने अप्सन आउँछ र प्रोमो कोड राख्ने अप्सनमा ‘O2’ प्रोमोकोड राखेर बुक गर्नुपर्छ ।

त्यसपछि तपाईको नजिक भएको ड्राइभरको तपाईलाई फोन गर्नुहुन्छ र तपाईसँग भएको अक्सिजन सिलिण्डर डेलिभरी गर्न सक्नुहुन्छ ।

फोनबाट पनि अक्सिजन सिलिण्डर डेलिभरीका लागि सम्पर्क गर्न सकिने छ । ‘इमर्जन्सीको बेला मानिसले मोबाइल एप डाउनलोड गरेर त्यहाँको पक्रिया पुरा गरी गाडी कुरेर त भ्याउँदैन् भनेर हामीले फोनबाट पनि बुक गर्न सकिने सुविधा दिएका हौं,’ उपाय सिटी कार्गोका असिस्टेन्ट म्यानेजर तथा ब्रान्च संयोजक सुबोध थापाले भने ।

फोनबाट अक्सिजन सिलिण्डर डेलिभरीका लागि ९८८१०९८८३० र ९८८१०९८८८० फोन गर्न सकिने छ । यो सेवा २४ सै घन्टा लिन सकिने छ ।

उपाय सिटी कार्गोमा ट्रयाकिङको सुविधा रहेको छ ।  एपबाट तपाईले अर्डरको गरेको गाडी कहाँ आइपुग्यो, तपाईको गाडीले सामान लिएर गयो की गएन गएको भए कहाँ गयो यो सबै ट्रयाक गर्न मिल्छ । कम्पनीले युके एड लगायतका संस्थासँग मिलेर पनि काम गरिरहेको छ ।

दैनिक ६० अर्डर

कोरोना महामारीको समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत यो सेवा सुरू गरेको थापाले बताए । ‘अक्सिजनको माग धेरै भएको र हामीसँग गाडी उपलब्ध भएकाले यो सेवा किन नगर्ने भनेर सुरु गरेका हौं,’ थापाले आइसिटी समाचारसँग भने ।

अक्सिजन जस्तो अत्यावश्यक वस्तु डेलिभरी गर्दा किन पैसा लिने, निःशुल्क डेकिभरी गर्‍यो भने त मान्छेलाई केही राहत हुन्छ भनेर सेवा सुरु गरेको उनको भनाइ छ  ।

\"\"

निःशुल्क अक्सिजन डेलिभरी गर्न ३०–४० वटा चालक फिल्डमा खटिएका छन् । ‘कोभिड हिरोज भनेर उहाँहरुलाई मेन्सन गरिएको छ’ थापाले भने, ‘उहाँहरुले अक्सिजन डेलिभरीको काम गर्नुहुन्छ ।’

फिल्डमा खटिने चालकहरुको लागि कम्पनीले ट्रिपअनुसार पारिश्रमिक पनि दिने गरेको छ । व्यक्तिगत रूपमा कसैले अक्सिजन सिलिन्डर डेलिभरीको लागि गाडी प्रयोग गरेमो निशुल्क गर्ने तर कसैले संस्थागत रुपमा नाफाको लागि गरेको छ भने शुल्क लिने गरेका छन् ।

‘व्यक्तिगत अक्सिजन सिलिन्डर डेलिभरीका लागि हामी शुल्क लिदैनौं,’ थापा भन्छन्, ‘कर्पोरेटहरुका लागि हामीले फाइदा नराखेरै सिलिन्डर डेलिभरीको शुल्क लिन्छौं ।’

कसैलाई अक्सिजन सिलिन्डर ओसारपसार गर्नु पर्ने छ भने उपाय सिटी कार्गोमा सिधै सम्पर्क गरेर यो सेवा दिन सकिन्छ ।

यसले हाल बीएण्डबी र निदान अस्पतालसँग सहकार्य गरेर थोरै शुल्कमा अक्सिजन सिलिन्डर डेलिभरी गरिरहेको छ । कम्पनीले अन्य केही फाउन्डेसनसँग सहकार्य गरेर समेत अक्सिजन डेलिभरी गरिरहेको छ । अरू संस्थासँग पनि सहकार्य गर्ने तयारी कम्पनी छ ।

कम्पनीले अहिलेसम्म अस्पतालका लागि ५०० भन्दा बढी अक्सिजन सिलिन्डर डेलिभरी गरिसकेको छ । त्यस्तै व्यक्तिगत प्रायोजनका लागि पनि ७० भन्दा बढी अक्सिजन सिलिन्डर डेलिभरी गरिसकेको छ ।

हाल अक्सिजन सिलिन्डर डेलिभरीका लागि व्यक्तिगत रूपमा दैनिक ५० देखि ६० वटा अर्डर आइरहेको थापाले बताए ।

१५ सय गाडी चालक र सय मोटरसाइकल चकल आवद्ध

यदी कोही चालक उपाय सिटी कार्गोमा आवद्ध हुन चाहेमा निःशुल्क आवद्ध हुन सकिन्छ । अहिलेसम्म त्यसरी आवद्ध हुनेमा १५ सय बढी गाडी चालक र एक मोटरसाइकल चालक पुगेका छन् ।

\"\"

कम्पनीले ३ महिना अगाडि मोटरसाइटकलको सेवा पनि सुरू गरेको थियो । आफूलाई आवश्यकताअनुसार दुई पांग्रे र चार पांग्रे सवारी साधन एपबाट मगाउन मिल्छ ।

कम्पनीले चालकलाई  एप चलाउने, ग्राहकसँग कस्तो व्यवहार गर्ने र कसरी डिजिटल पेमेन्ट लिने विषयमा तालिम पनि दिदै आएको छ ।

उपाय सिटी कार्गोले सिप्रदिसँगको सहकार्यमा गाडी बनाउने तालिम दिन पनि दिन लागेको थापाले आइसिटी समाचारलाई बताए ।

निषेधाज्ञा अघि कम्पनीले गाडीको दिनमा २०० देखि ३०० ट्रिप गर्दै आएको थियो भने मोटरसाइकलको ३० बढी ट्रिप गर्दै आएको थियो ।

उपाय सिटी कार्गोमा आवद्ध भएका ड्राइभरले महिनामा ६० हजारदेखि १ लाख रूपैयाँ सम्म आम्दानी गरिरहेका छन् । त्यस्तै बाईक राइडरले महिनामा २० हजार रूपैयाँ बढी कमाइरहेका छन् ।

कम्पनीले उपायमा आवद्ध चार पांग्रे गाडीबाट १० प्रतिशत कमिसन लिदै आएको छ । भने बाईकको सेवा चाहिँ अहिले जिरो प्रतिशत कमिसनमा चलिरहेको छ ।

दराज, सस्तोडिल, खेती पनि उपाय सिटीका ग्राहक हुन् । उपाय सिटी कार्गोमा हाल ६० जनाले रोजगारी पाएका छन् । उपाय सिटी कार्गोले बुटवल र पोखरामा पनि सेवा विस्तार गरेको छ ।

त्यहाँबाट पनि अक्सिजन सिलिन्डर निःशुल्क डेलिभरीको सुविधा लिन सकिन्छ । ‘बुटवल र पोखरामा अहिलेसम्म अक्सिजन सिलिण्डर डेलिभरीका लागि ट्रिप आएको छैन्,’ थापाले भने, ‘ट्रिप आए हामी निःशुल्क डेलिभरी गर्छौं,’

थापाका अनुसार अबको तीन वर्षमा देशका प्रमुख शहरमा शाखा विस्तार गर्ने योजना छ ।