नेपालमै पहिलो पटक अक्सिजन सिलिण्डर उत्पादनको दोस्रो परीक्षण सफल भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले अक्सिजन सिलिण्डर उत्पादनको दोस्रो परीक्षण सफल रूपमा गरेको हो ।
सोमबार राति नाष्टमा गरिएको अक्सिजन सिलिन्डरको दोस्रो परीक्षण सम्पन्न भएको हो । दोस्रो परीक्षणबाट उत्साहित भएको नाष्टका बरिष्ठ प्राविधिक अधिकृत डा. इन्जिनियर शंकर ढकालले बताए । नास्टले हिजो गरेको परीक्षणमा अक्सिजन सिलिन्डरमा ५०० बढी बार प्रेसर दिन सफल भएको छ ।
‘अक्सिजन सिलिन्डर परीक्षण गर्दा ३७५ बार प्रेसर सम्म दिएर हेरौं त्यसपछि रप्चर भएपनि ठिकै छ भन्ने थियो । तर हाम्रो अनुमान भन्दा बढी ५०० बार प्रेसर दिदा अक्सिजन सिलिन्डर केही पनि भएन,’ उनले भने ।
त्यसपछि ५१०-२० बार प्रेसर दिदा अक्सिजन सिलिन्डर बलास्ट भएको थियो । बलास्ट हुँदा सिलिन्डरको तलपट्टिको बटमको प्लेट मात्रै रप्चर भएको थियो ।
नेपालमा उपलब्ध स्रोत साधनको प्रयोग गरेर अक्सिजन सिलिन्डर बनाइएको हो । ‘पहिलो परीक्षणबाट मास उत्पादनमा जान हामी अलिकति डराएका थियौं । सेकेण्ड चरणको परीक्षण गरेर मात्रै मास उत्पादनमा जानुपर्छ भन्ने थियो,’ ढकालले आइसिटी समाचारसँग भने, ‘अब हामी ढुक्क भएका छौं । हामी अब नेपालमै अक्सिजन सिलिन्डर उत्पादन गर्न सक्छौं ।’
‘सिलिन्डरको तलको प्लेटको थिकनेसलाई बढाएर एक खालको परीक्षण गर्छौं । त्यसपछि त्यसलाई हामी सार्वजनिक गर्छौं,’ ढकाल भन्छन्, ‘नाष्टले रिसर्च एण्ड डेभलपमेन्टको काम मात्रै गर्ने हो । यसले आफै उत्पादन गर्दैन् ।’
ढकालले अगाडि भने, ‘उत्पादनका लागि हामीले बनाएको डिजाइन र स्पेसिफिकेसनमा काम गर्न सक्ने उद्योगसँग एक चरणको एमओयु गर्छौं । त्यसपछि हामीले त्यसलाई स्ट्यान्डर्ड बनाउन नापतौल विभाग र नेपाल स्वास्थ्य व्यवसायी परिषदसँग कुरा गर्छौं ।’
नाष्टले नेपालमै पहिलोपटक अक्सिजन सिलिन्डर टेष्टका लागि ‘टेष्ट सेटअप’ समेत बनाएको छ । अब उत्पादन भएको सिलिन्डर नाष्टमै परीक्षण गर्न सकिन्छ ।
उनी भन्छन्, ‘उत्पादन भएको अक्सिजन सिलिन्डर बलास्ट हुने गरी परीक्षण गर्छौ । तर २२५ केजी पर सेन्टिमिटर स्क्वायरसम्म राख्दा खेरी केही पनि नहुने भइसकेपछि त्यो सिलिन्डर पास भन्ने हिसाबबाट हामी अगाडि बढाउछौं ।’
नाष्टले परीक्षण गरिरहेको अक्सिजन सिलिन्डरमा चौधरी ग्रुप र युएनडिपीले यसमा लगानी गर्न तथा वितरण गर्न चासो देखाएका छन् ।
‘हाम्रो डिजाइन र गुणस्तर अनुसारको अक्सिजन सिलिन्डर बनाउन सक्छु भनेर कोही आउछ भने उहाँहरुलाई हामीले एक खालको अवसर दिन्छौं । उहाँहरुले बनाउनु हुन्छ । त्यसपछि हामीले ल्याएर परीक्षण गर्छौं,’ उनले भने ।
पहिलो परीक्षण गर्दा देखिएका कमजोरीलाई सुधार गर्दै नाष्टले दोस्रो परीक्षण गरेको थियो । दोस्रो परीक्षण गर्दा ५०० बार प्रेसर पार गरिसकेको तेस्रो परीक्षण गर्न जरूरी नभएको ढकालले बताए ।
अक्सिजन सिलिन्डरलाई १५० बार प्रेसर चाहिन्छ । यसको परीक्षण गर्दा २.५ गुणा बढी प्रेसर दिएर हेरौ भन्ने थियो त्यो पनि पुरा गरेर ५०० बार प्रेसर क्रस भएपछि तेस्रो परीक्षण गर्नु नपर्ने उनले बताए ।
तर पनि आन्तरिक सन्तुष्टिका लागि अर्को परीक्षण पनि गर्ने ढकालले जानकारी दिए । अब मास उत्पादनका लागि तयार भएको पनि उनले बताए ।
नेपालमै अक्सिजन सिलिन्डर बनाएर विदेशमा पनि निर्यात गर्न सकिने ढकाल बताउँछन् । उनी भन्छन्, ‘नेपालमा आवश्यक पर्ने अक्सिजन सिलिन्डर मात्रै उत्पादन गर्न सकियो भने पनि यहाँको पैसा बाहिर जानबाट बच्छ ।’ नेपालमै बनेको यो सिलिन्डर अहिले बजारमा पाइने मूल्य भन्दा सस्तो हुनेछ ।