गायक रामकृष्ण ढकालले अमेरिकामा विभिन्न व्यक्तिबाट संकलन गरेको १५ हजार २८८ अमेरिकी डलर अर्थात करिब १८ लाख रूपैयाँ महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरेका छन् ।
कोरोना महामारीसँग लड्न पहिलो चरणमा आफु र विभिन्न व्यक्तिबाट संकलन भएको करिब १८ लाख रूपैयाँ ढकालले राष्ट्रिय आविष्कार केन्द्रको नाममा रहेको हिमालयन बैंकको खातामा वायर मार्फत जम्मा गरेका हुन् ।
‘मैले केही दिनअघि अमेरिकामा रहेका मेरा आदरणीय स्रोता-दर्शकमाझ सहयोगको आह्वान गरेको थिएँ,’ ढकालले भने, ‘मेरो विनम्र अनुरोधमा अमेरिकामा रहेका मनकारी नेपाली तथा भुटानी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले खुला हृदयले सहयोग गर्नुभएको छ ।’
सांगीतिक कार्यक्रमका लागि अमेरिका गएका ढकाल अहिले उतै रोकिएका छन् । ढकालका अनुसार अन्य केही व्यक्तिले पनि सहयोगको इच्छा देखाएका छन् ।
आविष्कार केन्द्रले कोरोना महामारीसँघ लड्न आफै पीपीई बनाएर बाड्ने, बिग्रिएका भेन्टिलेटर, अक्सिजन कन्सेनट्रेटर तथा अन्य मेडिकल सामानहरु मर्मत लगायतका अन्य कामहरु गर्दै आएको छ ।
राष्ट्रिय आविष्कार केन्द्रले विज्ञान, प्रविधि, शिक्षा, स्वास्थ्य, कृषि लगायतका अन्य क्षेत्रमा अनुसन्धान तथा विकासको काम गर्दैं आएको छ ।