नेपालको डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमले युरो कपको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । डिशहोमको एक्सन स्पोर्ट्स च्यानलबाट युरो कपको प्रत्यक्ष प्रसारण हेर्न सकिने भएको हो ।
आजदेखि शुरू हुने युरो कपको प्रत्यक्ष प्रसारण डिशहोमको एक्सन स्पोर्ट्स च्यानलबाट हेर्न सकिने डिशहोमका जनरल म्यानेजर रमेश सापकोटाले आइसिटी समाचारलाई बताए ।
‘डिशहोमले प्रत्यक्ष प्रसारणका लागि सोनीसँग १२-१५ दिन अगाडि सम्झौता गरिसकेको छ,’ उनले आइसिटी समाचारसँग कुरा गर्दै भने, ‘हामीले त्यहाँबाट कन्टेन्ट लिएर प्रत्यक्ष प्रसारण गर्छौं ।’
‘डिशहोमबाट हुने युरो कपको प्रत्यक्ष प्रसारण नेपाली र अंग्रजी दुबै भाषामा कमेन्ट्री सुन्न सकिन्छ,’ सापकोटा भन्छन्, ‘हामीले इन ब्युल्ट चाहिँ अंग्रजी कमेन्ट्री राखेका हुन्छौं । तर ग्राहकले रिमोटबाट नेपाली भाषामा समेत कमेन्ट्री हेर्न सक्छन् ।’
डिशहोमका ग्राहकले रिमोटमा रहेको पहेलो रंगको अडियो बटनमा थिचेर नेपाली भाषामा कमेन्ट्री हेर्न सक्ने छन् । त्यहाँ अंग्रजीमा आइरहेको छ भने अडियो बटन थिचेपछि नेपाली आउँछ र नेपालीमा आइरहेको छ भने अंग्रेजीमा आउँछ ।
‘डिशहोमको एक्सन स्पोर्ट्स च्यानल अरू केबल अपरेटरहरुमा पनि उपलब्ध रहेको छ । त्यहाँ पनि रिमोटमा अडियो परिवर्तन गर्न सक्ने सुविधा भए भाषा परिवर्तन गर्न सकिन्छ’ उनले भने ।
डिशहोमको एक्सन इस्पोर्ट्स एचडी च्यानल क्लियर टिभी (च्यानल नम्बर ५४३), सीम टिभी (च्यानल नम्बर १०५/९९१), मेरो टिभी (च्यानल नम्बर ९००), नेट टिभी (च्यानल नम्बर ५२९), डिओइएन टिभी (च्यानल नम्बर ४२००) र प्रभु टिभी (च्यानल नम्बर ७१६) बाट पनि हेर्न सकिने छ ।
साथै डिशहोमको च्यानल नम्बर १०५ मा एसडी र ९९१ मा एचडी क्वालिटीमा एक्सन स्पोर्ट्स च्यानल हेर्न सकिने छ ।
युरो कप सन् २०२० मा सञ्चालन गर्ने तय भएको थियो । तर कोरोना महामारीका कारण स्थगित भएपछि सन् २०२१ मा शुरू हुन लागेको हो ।
युरो कप २०२० जुन ११ देखि जुलाई ११ सम्म हुँदैछ । युरो कपको उद्घाटन खेलमा टर्की र इटाली प्रतिस्पर्धा गर्दैछन् । यो खेल नेपाली समय अनुसार आज राति १२:४५ बजेदेखि शुरू हुनेछ ।
युरो कपमा कुल २४ टिमले प्रतिस्पर्धा गर्दैछन् । त्यसमा ९ टिम पूर्व विजेता रहेका छन् ।