माइक्रोसफ्ट वर्डमा नेपाली युनिकोडमा लेखिएको अक्षरलाई अब सिधै अन्य नेपाली फन्टमा परिवर्तन गर्न सकिने भएको छ ।
इन्टिग्रेटड आइसिटी प्रालिले माइक्रोसफ्ट वर्डमा युनिकोडमा लेखिएको नेपाली अक्षरलाई अब सिधै अन्य नेपाली फन्टमा परिवर्तन गर्न सक्ने सायक पल्गिनको विकास गर्दैछ ।
उक्त पल्गिनलाई डाउनलोड गरेर इन्स्टल गरेपछि नेपाली युनिकोडमा लेखिएको अक्षरलाई १२ वटा नेपाली फन्टमा रूपान्तरण गर्न सकिने इन्टिग्रेटड आइसिटी प्रालिका सीईओ विरोध रिजालले आइसिटी समाचारलाई बताए ।
सायक पल्गिनमा शुद्धाशुद्धी जाँच गर्न र फन्ट रूपान्तरण गरी २ वटा सुविधा हुनेछन् । हिज्जे गलत भएको शब्दमा रातो धर्को लगाउने छ ।
शुरूमा सायकलाई इन्स्टल गर्दा कुन कुन सुविधा आफुले माइक्रोसफ्ट वर्डमा राख्ने त्यो छनोट गर्न सकिने छ । अबको एक महिनाभित्र माइक्रोसफ्ट वर्डमा यसलाई सार्वजनिक गर्ने रिजालले बताए ।
उनका अनुसार उक्त पल्गिनमा अहिले प्रिति, युनिकोड, आकृती, आलेख, गणेश, हिमालबी कान्तिपुर, नवजीवन, पीसीएस, सांग्रिला, श्रीनाथ र समुदाचार्य फन्ट राखिएको छ ।
नेपाली युनिकोड लेखिएको अक्षर यी १२ वटा फन्टमा परिवर्तन गर्न सकिने छ भने यी १२ वटा फन्टबाट युनिकोडमा परिवर्तन गर्न सकिने छ । कसैलाई यी फन्टबाहेक अन्य फन्ट आवश्यक परेमा आवश्यकता अनुसार थप गर्ने रिजालले बताए ।
यो सुविधा सार्वजनिक भएको एक वर्षसम्म निःशुल्क प्रदान गर्न सक्ने र त्यसपछि केही थोरै शुल्क लिने उनले बताए ।
‘हाम्रो चाहना भनेको सकेसम्म निःशुल्क दिने हो,’ रिजालले आइसिटी समाचारसँग भने, ‘सरकारबाट वा अन्य कतैबाट सहयोग आए यसलाई हामी पुर्ण निःशुल्क गर्न सक्छौं । तर धेरै प्रयोगकर्ता आउन थाले र हार्डवेयरमा धेरै खर्च हुन थाल्यो भने कि बन्द गर्नुपर्यो की केही शुल्क लिएर सञ्चालन गर्नुपर्यो ।’
साथै कम्पनीले विकास गरेको सायक सजिलो नेपाली (
हिज्जै डटकम
) बाट शुद्दा धुद्धि, नेपाली टाइपिङ, फन्ट रूपान्तरण तथा शब्दकोषको सुविधा लिन सकिन्छ ।