कीवर्डहरू -

माई सेकेण्ड टिचरको सहकार्यमा ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता हुँदै

माई सेकेण्ड टिचरको सहकार्यमा ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता हुँदै

कोरोना महामारीका कारण अहिले अधिकांश विद्यार्थीहरू घरबाटै अध्ययन गरिरहेका छन् । डिजिटल प्रविधिको विस्तारले वैकल्पिक सिकाइको क्रम पनि बढ्दो छ ।

यसैबीच कक्षा १२ वा १९ वर्षसम्मका विद्यार्थीहरूको लागि लक्षित ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता शुरू भएको छ ।

माई सेकेण्ड टिचरको मुख्य सहकार्यमा लिभिङ विथ आइसिटीले आयोजना गरेको यस कार्यक्रममा असार ३० गतेसम्म विद्यार्थीहरूले सहभागिता जनाउन सक्नेछन् ।

विद्यार्थीले भविष्यको समृद्ध डिजिटल नेपालको परिकल्पना गर्दै निबन्ध, कविता, लेख वा एनिमेशनमध्ये कुनै एक तयार पारेर प्रतियोगितामा सहभागी हुन सक्नेछन् ।

असार ३० गतेसम्म प्राप्त विद्यार्थीका रचना (क्रिएशन)लाई छनौट गरी उत्कृष्ट ७ लाई रू. २५ हजारदेखि १ लाख रुपैयाँसम्म पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

२०७८ भदौ दोस्रो हप्ता विजेता घोषणा गरिने कार्यक्रममा एक हजारभन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाउने आयोजकको अपेक्षा छ ।

सहभागि हुन इच्छुक विद्यार्थीले माई डिजिटल नेपाल डट ओआरजी (www.mydigitalnepal.org) वेबसाइटमा गएर आफ्नो क्रिएशन बुझाउन सक्नेछन ।

यस प्रतियोगितामा नेपाल सरकारले सन् २०१९ मा जारी गरेको डिजिटल नेपाल फ्रेमवर्कमा आधारित रहेर डिजिटलाइजेसनमा भइरहेको सरकारी वा निजी प्रयासहरूलाई आत्मसात् गर्दै विद्यार्थीले भविष्यको कल्पना गर्नेछन् ।

कार्यक्रममा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, क्यान महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ (आइसिटी विकास समिति), प्याब्सन लगायतका संस्थाहरूको सहयोग रहेको छ ।

‘भविष्य नेपालको’ नारा सहित शिक्षा सिकाइलाई रूपान्तरण गर्ने प्रयासमा रहेको माई सेकेण्ड टिचरले कार्यक्रमको मुख्य प्रायोजन गरेको छ ।

माई सेकेण्ड टिचर क्याम्ब्रिज विश्वविद्यालयको आधारमा इनोभेट टेक नेपालले विकास गरेको लर्निङ प्लाटफर्म हो, जुन अहिले १८ भन्दा बढी देशहरूमा प्रयोग भइरहेको छ ।

मेरो डिजिटल नेपाल थिममा आइसिटी राइटिङ एण्ड डिजिटल क्रिएटिभिटी कम्पिटिशन नाम दिइएको यस कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधि र विज्ञसहित ७ जनाको छनौट समिति रहेको छ ।

विभिन्न चरणमा हुने छनौट प्रक्रियालाई विधा अनुसार उत्कृष्टलाई पनि पुरस्कार प्रदान गरिनेछ । यस कार्यक्रमले विद्यार्थीहरूलाई डिजिटल नेपालको अभियानको बारेमा जानकारी हुनुका साथै प्रविधिको क्षेत्रमा अध्ययन गर्ने बानी बसाल्ने आयोजक समितका अध्यक्ष राजन लम्सालले बताए ।

यस प्रतियोगिताबाट आएका नयाँ पुस्ताको सोच र भावनालाई कदर गर्दै भोलिको समृद्ध डिजिटल नेपाल बनाउन सरकार र सरोकारवालालाई पनि ध्यानाकर्षण गराउने आयोजकको विश्वास रहेको छ ।