काठमाडौं महानगरपालिकाले टुटल पठाओ जस्ता राइड शेयरिङ कम्पनीलाई करको दायरामा ल्याउने भएको छ ।
आर्थिक विधेयक २०७८ मार्फत काठमाडौं महानगरले दुईपांग्रे सवारीसाधनमा यात्रु ओसारपसार गर्ने राइड सेयरिङ र व्यवसाय ढुवानी जस्ता व्यवसायले आगामी आर्थिक वर्ष २०७८/७९ मा १० हजार कर तिर्नुपर्ने प्रस्ताव गरेको हो ।
‘त्यो प्रस्ताव भएको छ । छलफल भएको छैन्,’ काठमाडौं महानगपालिकाका प्रवक्ता इश्वरमान डंगोलले आइसिटी समाचारसँग कुरा गर्दै भने । उक्त प्रस्तावमाथि आगामी असार २० गतेबाट नगरसभामा छलफल हुने उनले जानकारी दिए ।
काठमाडौं महानगरपालिकाले बैंक तथा वित्तिय संस्थाले एटीएम राख्दा अब कर लिने प्रस्ताव गरेको छ । वित्तीय संस्थाको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयबाहेकका ठाउँमा एटिएम राख्दा ५ हजार कर लिने विधेयकको प्रस्तावमा उल्लेख छ ।
काठमाडौं महानगरपालिकाले विद्युतीय सवारीसाधनमा पूर्ण कर छुट दिने तथा विद्युतीय सवारीसाधन विक्री शोरुम र चार्जिङ सेन्टरले कर तिर्नु नपर्ने प्रस्ताव गरेको छ । साथै विद्युतीय सवारीसाधनले निःशुल्क पार्किङको सुविधा पाउने पनि उक्त प्रस्तावमा उल्लेख छ ।