वर्डप्रेस विराटनगरले आउँदै गरेको इभेन्ट वर्डक्याम्प विराटनगरका लागि एकजनालाई ‘उज्जवल थापा मेमोरियल स्कलरसीप’ दिने घोषणा गरेको छ ।
यस स्कलरसिपमा आगामी वर्डक्याम्प विराटनगरमा सहभागी हुन इच्छुकले आवेदन दिन सक्नेछन् । गत जेठमा कोरोना संक्रमणका कारण वर्डप्रेस नेपालका सह-संस्थापक तथा आईटी उद्यमी उज्जवल थापाको निधन भएको थियो ।
उनकै सम्झनामा वर्डप्रेस विराटनगरले आगामी वर्डक्याम्पका लागि ‘उज्जवल थापा मेमोरियल स्कलरसीप’ प्रदान गर्ने निर्णय गरेको हो ।
यस स्कलरसिपमा नेपालको जुनसुकै ठाउँबाट विराटनगर आउने खर्च, इभेन्टको समयमा होटलमा बस्ने खर्च, वर्डक्याम्प विराटनगरको टिकेट, स्थानीय यातायात तथा इभेन्ट बाहिर खाना खाने खर्च पाइने छ । नेपाली नागरिकले मात्र यो स्कलरसीपमा आवेदन दिन सक्ने छन् ।
छनोटको मापदण्ड अझै तय भइनसकेको भएपनि शारिरिक रूपमा अशक्त व्यक्ति, कम आए भएका व्यक्ति र वर्डप्रेसमा रूची भएको महिलालाई प्रदान गर्न सकिने आयोजकले जनाएको छ ।