ज्योति विकास बैंक र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) बीच देशका विभिन्न ठाँउमा डिजिटल सेवा र सूचना प्रविधि प्रवर्द्धनका लागि सहकार्य गर्ने सम्झौता भएको छ ।
शुक्रबार ज्योति विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेल र क्यान महासंघका उपाध्यक्ष रञ्जित कुमार पोदरले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सहकार्यसँगै दुई संस्थाले संयुक्त रुपमा देशका विभिन्न ठाँउमा डिजिटल सेवा र सूचना प्रविधिको प्रवर्द्धन, तालिम र सेवा विस्तार तथा कार्यान्वयनको लागि कार्यक्रमहरु सञ्चालनमा ल्याउने छन् ।
साथै सम्झौता अनुसार ज्योति विकास बैंकले क्यानमा आबद्ध व्यवसायीहरु तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन दिने छ ।
त्यस्तै १५ लाख रुपैयाँसम्मको बिना धितो सहुलियतपूर्ण कर्जा, साना तथा मझौला कर्जा प्रदान गर्नुका साथै क्यान अन्तर्गतका व्यवसायीलाई डिजिटल बैंकिंग सेवाहरु प्रदान गर्नेछ ।