युवालाई अनुसन्धान, उद्यमतासंग जोड्नका लागि राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘विज्ञान, प्रविधि, नवप्रवर्द्धन र उद्यमशीलतामा युवा राष्ट्रिय सम्मेलन’ आजदेखि शुरु भएको छ ।
आजको सत्रमा खोजमुलुक विभिन्न तीन वटा अध्ययन अनुसन्धानमा सहभागीलाई प्रशिक्षित गरिएको छ । जनस्वास्थ्य विज्ञ डा. शेरवहादुर पुनले संक्रमण रोग, डा. असिम ढकालले शिक्षा र रोजगारी, डा. भानुभक्त ढकालले विज्ञान शिक्षामा सम्भाव्यताको गरिएका अनुसन्धानबारेमा युवालाई प्रशिक्षण दिएका छन् ।
प्रशिक्षण अगाडि कार्यक्रमको उद्घटान गर्दै परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले विज्ञान र प्रविधि क्षेत्रमा भएका अनुसन्धानलाई युवाको उद्यमशीलतासंग जोड्नका लागि सम्मेलन आयोजना गरिएको बताए ।
उनले सम्मेलनबाट प्राप्त सुझाव सरकारलाई विज्ञान र प्रविधिको नीति निर्माणमा सहयोग पुर्याउने बताए । उनले सूचना प्रविधि र विज्ञानका विद्यार्थीलाई अनुसन्धानमुलक बनाउनका लागि कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यकारी उपाध्यक्ष ढुङ्गेलले युवाको प्रतिभालाई प्रस्फुटन गराउनका लागि सातवटै प्रदेशमा नवप्रवर्तन केन्द्र स्थापना गरिने समेत जानकारी दिए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले विद्यालय तहमा विज्ञान र प्रविधि विषयमा विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्न तयारी गरिरहेको बताए ।
उनले सम्मेलनले विज्ञान र प्रविधि शिक्षामा सहयोग पुर्याउने भन्दै विज्ञान र प्रविधिलाई समाजसंग जोड्नुपर्ने भनाई राखेका थिए ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा. धर्मकान्त वाँस्तोलाले अनुसन्धान र नवप्रवद्धनमा हाम्रै शिक्षा कमजोर रहेको भन्दै सरकारले उच्च शिक्षामा बजेट बढाउनुपर्ने बताए ।
उच्च शिक्षामा अनुसन्धान, नवप्रवर्द्धन काम हुने सके युवालाई स्वरोजगारमुखी बनाइने भन्दै सम्मेलनले युवालाई नवउद्यमीको सिर्जना गर्न अवसर प्राप्त गर्ने बताए ।
नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. सुनिलबावु श्रेष्ठले विज्ञान र प्रविधि समाजको समस्या समाधान गर्नतिर जोड्न पर्ने बताए ।
उनले विज्ञान र प्रविधि मार्फत युवा जनशक्तिलाई परिचालन गरे मुलुकले समृद्धि हासिल गर्न सक्ने भनाइ राखे ।
विज्ञान र प्रविधि क्षेत्रमा लगानी गरे प्रतिफल प्राप्त गर्न सकिने भन्दै विज्ञान र प्रविधि क्षेत्रका काम गर्ने संस्थाबीच अन्तरसम्बन्ध गराउनुपर्ने उनको भनाई रहेको छ ।
काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले विज्ञानबाट सिकेको कुरालाई उद्यमशिलतातर्फ जानुपर्ने बताए । उनले युवाले आफूसंग भएको सीपलाई उत्पादनशिलतामा जोडन् आवश्यक रहेको बताए ।
सम्मेलनमा स्नातकोत्तर तह अध्ययन गरिरहेका विद्यार्थीलाई युवा वैज्ञानिकले अनुसन्धान गरेको विषयमा जानकारी गराइने परिषद्का प्रमुख प्रशासकिय अधिकृत डा. बाबुराम ढुंगानाले जानकारी दिए ।
सम्मेलनमा विज्ञान, प्रविधि, शिक्षा, स्वास्थ्य विषय लगायत चार बिषयमा अनुसन्धानकर्ताले कार्यपत्र प्रस्तुत गरिने छ । भोलिसम्म सञ्चालन हुने सम्मेलनमा करिब ४०० युवा वैज्ञानिकको सहभागिता रहेको छ ।