कीवर्डहरू -

सुकर्मी लिडर आस्ना

सुकर्मी लिडर आस्ना

बुढानीलकण्ठकी आस्ना पौडेल १८ वर्षकी भइन् । भर्खरै प्लस टु सकेकी उनी आइटी कम्पनी रुस्टर लजिकको सुकर्मी प्रोजेक्ट लिड गरिरहेकी छन् । संस्थासँगै पढाइ र सामाजिक कार्यमा समेत आबद्ध आस्नाको कामको प्रशंसा गर्नेहरु बढिरहेका छन् । किशोरी अवस्थादेखि नै आफूलाई निखार्दै लगेकी छन् उनले । यसअघि साइट्रेक, शिक्षा नेपाल, क्याम नेपाल जस्ता संस्थाहरुमा काम गरेको अनुभवसमेत उनीसँग छ ।

आस्ना २ वर्षदेखि रुस्टर लजिकमा काम गरिरहेकी छन् । रुस्टर लजिकले मुख्य गरी डाटा कलेक्सन र एनलाइसिसको क्षेत्रमा काम गर्छ । यसकै एक प्रोजेक्ट ‘सुकर्मी’की उनी प्रोजेक्ट लिडर हुन् । यसअन्तर्गत उनले महिला (मुख्य गरी किशोरी)हरुलाई सशक्तीकरण गर्ने कामको नेतृत्व गरिरहेकी छन् ।

किशोरीहरुलाई यो प्रोजेक्टअन्तर्गत लिडरसिप ट्रेनिङ, पब्लिक स्पिक ट्रेनिङ, फाइट ब्याक ट्रेनिङलगायत विभिन्न ट्रेनिङहरु निःशुल्क दिने गर्छौं,’ उनले भनिन् । अहिले काठमाडौंमा मात्रै सयभन्दा बढी सुकर्मी छन् । राजधानीबाहिर पनि सयभन्दा बढी सुकर्मी छन् । यस्ता तालिमप्राप्त सुकर्मीले अन्य किशोरीहरुलाई विभिन्न किसिमका तालिम दिने गर्छन् ।

उनी आफूलाई ‘सेल्फ–मोटिभेटेड एन्ड सेल्फ–ड्राइभन गर्ल’ भन्न रुचाउँछिन् । परिवर्तन गर्नु छ भने आफैंबाट सुरु हुनुपर्छ भन्ने सोच उनको छ । भविष्यमा आइटीसँगै सोसल आन्ट्रप्रेनरसिप अँगाल्ने अठोट लिएकी उनलाई हरेक चुनौतीसँग लड्न औधी मनपर्छ । यसको छन्क देखिन पनि सुरु गरेको छ ।  साथै उनले स्याटेलाइटको ग्राउन्ड लेभलको भर्सनसम्बन्धी तालिमसमेत लिइन् र २ वर्ष अघि नेपालबाट एस्ट्रोनटसँग कुरासमेत गर्न भ्याइन् । आफूले जानेको कुरा स्कुलका भाइबहिनीहरुलाई पनि सिकाएकी छन् उनले ।

आस्नाको जीवनमा अर्को खुट्किलो बनेर आयो इन्टरनेसनल कंग्रेस अफ युथ भ्वाइसेस । आगामी अगस्टमा सानफ्रान्सिस्को हुने कन्फ्रेन्समा सहभागी हुन विश्वका एक सय लिडरमध्ये उनी नेपालबाट पनि छानिएकी छन् । यसले पनि आस्नाको करिअरमा अर्को इँटा थप्ने पक्का छ । यसका साथमा उनी वुमन इन डिजिटल नेपालको कमिटीमा रहेर समेत काम गरिरहेकी छन् जसमार्फत् महिलालाई डिजिटल प्लाटफर्म ल्याउने काम गरिन्छ ।

गत वर्ष आयोजित ‘ग्लोकल टिन २०१७’ मा सोसल एक्टिभिस्टको रुपमा ग्लोकल २० मा परिन् । २० वर्ष मुनिका २० जना किशोरकिशोरीहरुलाई दिइने यो सम्मान उनले पाएकी हुन् । आस्नासहितको ३ जनाको टिम गत वर्ष काठमाडौं विश्वविद्यालयले आयोजना गरेको ह्याकाथन कम्पिटिसनमा होम अटोमेसनको मोबाइल एप बनाएर विजेता समेत भएको थियो ।

प्लस टुको परीक्षा हालै दिएकी आस्ना ब्याचलर्समा आइटी विषय लिएर पढ्न चाहन्छिन् । आइटी र सामाजिक उद्यमशीलतामा धेरथोर अनुभव सँगालिसकेकी उनी भन्छिन्, ‘सानैदेखि नै म कम्प्युटर विषयतर्फ निकै आकर्षित थिएँ । सि प्रोग्रामिङ, वेबसाइट डिजाइनिङ, क्युबेसिकहरु पढाइकै कोर्समा भएकाले झन् आकर्षित हुँदै गएँ । आफै पनि इन्टरनेटबाट कोर्सहरु गर्थें । साथै नेपालमा अहिलेसम्म सबैभन्दा बढी विकास आइटीकै क्षेत्रमा भएको हुनाले पनि म यस क्षेत्रतर्फ आकर्षित भएकी होला ।’

आफू सानो हुँदा आइटी भनेको पुरुषले पढ्ने, काम गर्ने फिल्ड हो भन्ने बुझे पनि समयको परिवर्तनसँगै आइटीमा किशोरीहरुको रुचि बढ्न थालेको उनी बताउँछिन् । ‘केटी प्रोग्रामरको संख्यासमेत बढ्न थालेको छ । अझ आजकाल आइटीमा केटीहरुलाई अपलिफ्ट गर्न धेरै ट्रेनिङ र अवेयरनेस प्रोग्रामहरु भइरहेको छ,’ उनले भनिन् ।

उनले महिला पनि पुरुषभन्दा कम छैनन् भन्ने गतिलो उदाहरण आफ्नै परिवारमा भेटेकी छन् । ‘घरमा मेरी आमाले बाबाभन्दा बढी कमाउनु हुन्छ । यही नै मेरा लागि सबैभन्दा ठूलो प्रमाण हो ।’ अवसर पाए महिला कुनै पनि काममा पछि पर्दैनन् भन्ने मान्यता उनको छ । महिला भएकै कारण उनले आफ्नो जीवनमा कठिनाइ भने भोग्नुपरेन । ‘बुझेको परिवार भएकाले बरु मैले प्रिभिलेज पाएकी छु,’ उनी भन्छिन् ।

फुर्सदको समयमा प्रोगामिङ गर्न रुचाउने उनी विभिन्न खानाका परिकार बनाउन पनि चाख मान्छिन् । इन्टरनेटमा नयाँ नयाँ कुरा सिक्न खोजिरहन्छिन् । भविष्यमा आइटीसँग सम्बन्धित व्यापार व्यवसाय गरेर देशको विकाशमा सहयोग पु¥याउने चाहना बोकेकी आसना हरेक चुनौतीलाई अवसरको रुपमा लिदै अघि बढिरहेकी छन् । \"Image \"Image