नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालको दूरूपयोग गरी अमर्यादित कार्य नगर्न अनुरोध गरेको छ ।
साइबर ब्यूरोले सोमबार एक विज्ञप्ती जारी गर्दै सामाजिक सञ्जाल दूरूपयोग गरी अमर्यादित कार्य गर्ने तथा चरित्र हत्या गर्ने कार्य नगर्न अनुरोध गरेको हो ।
ब्यूरोको विज्ञप्तीमा भनिएको छ, ‘हाल कोभिड १९ ले ल्याएको संक्रमणकालिन समयमा पनि सामाजि सञ्जालको दूरूपयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने उदेश्यबाट त्यस्ता सामग्रीहरु बनाउने, प्रकाशन, प्रसारण गर्ने गरेको पाइएको हुँदा त्यस्ता कार्यहरु नगर्न नगराउन हुन अनुरोध ।’
ब्यूरोले पछिल्लो समय सामाजिक सञ्जाल ट्वीटर, फेसबुक लगायतमा व्यक्तिहरुको फेक आईडी बनाइ नाम, तस्वीर, भिडियो दूरूपयोग गर्दै फोटोशप, म्युटिलेट गरी प्रचलित कानूनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु, सार्वजनिक नैतिकता, शिष्टाचार विरूद्धका सामग्री, कसैप्रति घृणा वा द्रेष फैलाउने उद्देश्यबाट प्रकाशन तथा प्रसारण गरेको पाइएको ब्यूरोको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै त्यस्ता गतिविधि गर्ने उपर प्रचलित कानून बमोजिम ब्यूरोले कारवाही गर्दै आएको जनाएको छ ।
आईसीटी समाचार