पिगासस जासुसी सफ्टवेयर प्रयोग गरेर नयाँ दिल्लीका नेपाली राजदूत निलाम्बर आचार्यको मोबाइल ह्याक गरी जासुसी गरेको खुलासा भएको छ ।
फोन ह्याकिङ गरेर जासुसी गरिएको सूचीमा भारतसँग निकट मानिएका राष्ट्रहरूका कूटनीतिज्ञहरू पनि रहेको ‘ले मोन्डे’लाई उद्धृत गर्दै द हिन्दु मा प्रकाशित समाचारमा उल्लेख गरिएको छ ।
यस सूचीमा नयाँ दिल्लीमा रहेका ईरान, अफगानिस्तान, चीन, नेपाल र साउदी अरेबियाका कूटनीतिज्ञ र राजदूत पनि रहेको द हिन्दुले जनाएको छ ।
सोमबारमात्रै पिगाससबाट पत्रकार, अभियान्ता, राजनीतिज्ञ लगायतको मोबाइल ह्याक गरी जासुसी गरेको खुलसा भएको थियो । पिगाससको प्रयोग गरेर विभिन्न देशका ५० हजारभन्दा बढी फोन नम्बरमा जासुसी गरेको आरोप लागेको छ ।
पिगासस इजरायली कम्पनी एनएसओले विकास गरेको जासुसी सफ्टवेयर हो । यसको प्रयोग गरेर कुनै पनि व्यक्तिको फोन ह्याक गरेर उसको गतिविधिमाथि नजर राख्न सकिन्छ ।