बागमति प्रदेशभित्र दर्ता भएका सवारीसा धनको कर तिर्ने तथा नवीकरण गर्ने काम अनलाइनबाटै गर्न सकिने भएको छ । केही समय अगाडि नै शुरू गर्ने तयारी भएपनि प्राविधिक समस्याका कारण उक्त अनलाइनसेवा शुक्रबारदेखि शुरू भएको हो ।
शुक्रबार आयोजित एक कार्यक्रममा उक्त अनलाइन सेवाको उद्घाटन बागमति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले गरेका हुन् ।
बागमति प्रदेशभित्र दर्ता भएका सवारीसाधनको कर तिर्ने तथा नवीकरण गर्ने काम अनलाइनबाटै गर्न सकिने बागमति प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी राजन पोखरेल बताए ।
अन्य प्रदेशमा दर्ता भएका तर बागमति प्रदेशबाट कर तिरेका र नवीकरण गरेका सवारीसाधनले पनि अनलाइनबाटै कर तिर्ने र नवीकरण गर्न सक्नेछन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको वेबसाइट यातायात व्यवस्था सूचना प्रणाली (टिएमआइएस) र नागरिक एपबाट सवारी साधनको कर तिर्ने तथा नवीकरण गर्ने व्यवस्था मिलाएको छ ।
अनलाइनबाट सवारी कर भुक्तानी गरेपछि एक पटकको लागि भने करदाता यातायात कार्यालय पुग्नु पर्नेछ । कर तिर्दा आफुले छनोट गरेको कार्यालयमा जानुपर्ने उनले जानकारी दिए ।
अनलाइन भुक्तानी सम्बन्धी कार्यविधिअनुसार करको रकम अनलाइनबाट भुक्तानी गर्न सकिनेछ र उक्त बिल बुकको अद्यावधि, भेरिफाइ गर्नको लागि एक महिनाभित्र यातायाता कार्यलय पुग्नु पर्नेछ । एक पटक भेरिफाइ गरिसकेपछि भने अर्को वर्षदेखि यातायात कार्यालय पुग्नुपर्ने छैन ।
‘पहिलो वर्ष अनलाइनबाटै कर तिरेपनि कार्यालय जानुपर्छ,’ उनले भने, ‘सवारीको अभिलेख कम्प्युटरमा अद्यावधिक नभएसम्म जानुपर्यो । एकपटक गएर अद्यावधिक गरेपछि अर्को वर्षदेखि अद्यावधिक गर्न जानु परेन ।’
अहिलेलाई कनेक्ट आईपीएसबाट कर तिर्न र नवीकरण गर्न सकिने छ । अन्य सेवा प्रदायक तथा बैंकहरु पनि थप गर्दै जाने योजना रहेको छ ।
भुक्तानी गरेपछि त्यहाँ क्युआर कोडसहितको रसिद डाउनलोड गर्न सकिन्छ । जुन कोड स्क्यान गरेर ट्राफिक प्रहरीले नवीकरण, कर लगायत सवारीसाधनको सबै विवरण हेर्न सक्ने छन् ।
स्क्यानको लागि ट्राफिक एप समेत विकास गरिएको छ । यसले गर्दा ब्लुबुक बोकेर हिड्ने समस्या समेत हट्ने छ ।
अनलाइन प्रणाली शुरू भएसँगै सवारीसाधनको कर तिर्न तथा नवीकरण गर्न कार्यालयमा लामो लाइन लाग्नुपर्ने बाध्यताको अन्त्य हुने पोखरेलले बताए । ‘सेवाग्राहीलाई पनि सजह हुन्छ । हामीलाई कार्यालय व्यवस्थापन गर्न पनि सहज हुन्छ,’ उनले भने ।
अहिले अनलाइनबाटै भुक्ताती गर्न सकिने सेवा उपलब्ध भएपनि भविष्यमा सवारीसाधन नामसारी गर्ने, दर्ताका लागि आवेदन दिन सकिने बनाउने योजना रहेको उनले सुनाए । ढड्डा बोकेर कार्यालय जानुपर्ने बाध्यतालाई अन्त्य गर्दै यातायात कार्यालयलाई प्रविधिमैत्री बनाउने सोच रहेको उनी बताउँछन् ।