अब काठमाडौंमा कोरोना भाइरस विरूद्धको खोप लगाउन अनिवार्य अनलाइन दर्ता नम्बर चाहिने भएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै ५० वर्ष वा सो भन्दा मुनिका नागरिकले विद्युतीय दर्ता नम्बर ल्याए मात्र कोभिड-१९ विरुद्धको खोप लगाउन पाउने जानकारी दिएको हो ।
यो व्यवस्थासँगै अब ५० वर्ष वा सो भन्दा मुनि र १८ बर्षमाथिका नागरिकले कोभिड १९ विरुद्धको खोप लगाउन अनलाइन दर्ता नम्बर ल्याउनु पर्नेछ भने सो भन्दा माथि उमेरकाले पनि अनिवार्य अनलाइन फारम भर्न पर्नेछ ।
कसरी पाउने अनलाइन दर्ता नम्बर ?
सबैभन्दा पहिले खोपका लागि स्वैच्छिक आवेदन फारम भर्न यहाँ क्लिक गर्नुहोस् । त्यसपछि त्यहाँ स्वयं आवेदन दर्ता, अन्य व्यक्तिमार्फत आवेदन दर्ता, संस्थामार्फत आवेदन दर्ता मध्ये एउटा विकल्प छनोट गर्नुपर्ने हुन्छ ।
एउटा विकल्प छनोट गरेपछि नाम, ठेगाना, जन्म मिति, परिचयपत्रको प्रकार, पेशा, तपाईलाई कुनै स्वास्थ्य समस्या, शारीरिक अवस्था, खोप केन्द्र छनोट गर्नु पर्ने हुन्छ ।
त्यसपछि भरेका सबै विवरण ठिक छ भनेर रेजा चिन्ह लगाउनु पर्ने हुन्छ र त्यसपछि विवरण पेश गर्न सकिन्छ । यो फारम भरिसकेपछि प्राप्त भएको दर्ता नम्बर लिएर खोप लगाउन सकिने छ । साथै कुनै प्राविधिक समस्या परेमा त्यहाँ दिइएको नम्बर र इमेलमा आफ्नो समस्या राख्न सकिने छ ।