नेपालको गेमिङ टिम डमरू गेमिङ ४१ लाख बढी पुरस्कार राशिको भ्यालोरेन्ट कन्क्वेयर्स च्याम्पियनशिपमा छनोट भएको छ । नेपाल र भुटानका ३७ वटा टिमलाई हराउँदै डमरू गेमिङ भ्यालोरेन्टको उक्त प्रतियोगितामा छनोट भएको हो ।
आगामी अगस्ट १९ बाट आयोजना हुने भ्यालोरेन्ट कन्क्वेयर्स च्याम्पियनशिपमा नेपालबाट डमरू गेमिङ प्रतिस्पर्धा गर्ने डमरू ग्रुपका बोर्ड अफ डाइरेक्टर पुजन आचार्यले जानकारी दिए ।
‘यो च्याम्पियनशिप भारतमा आयोजना हुने भनिएको छ । कोरोना महामारीका कारण आयोजक अझै निर्णयमा पुगेको छैन्,’ उनले आइसिटी समाचारसँग कुरा गर्दै भने, ‘अवस्था सामान्य भएको भए खेल्न हामी भारत जानुपर्ने हुन्थ्यो । तर अहिलेसम्म निर्णय भएको छैन् ।’
घरबाटै खेल्ने निर्णय भएमा बुटक्याम्पमा खेलाडी राखेर राम्रो इन्टरनेट कनेक्सनमा खेल्ने उनले बताए । यसमा नेपालको डमरू गेमिङसहित भारत, पाकिस्तान, बंगलादेश, भुटान, मालदिभ्स, श्रीलंका र वाइल्ड कार्डबाट गरी जम्मा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
भ्यालोरेन्ट कन्क्वेयर्स च्याम्पियनशिपमा पहिलो स्थान बनाउनेले बर्लिनमा हुने भ्यालोरेन्ट च्याम्पियनशिप टुर प्रतियोगितामा सहभागी हुनेछ भने दोस्रो हुने वाइल्ड कार्डबाट प्रतियोगितमा सहभागी हुनेछ ।
भ्यालोरेन्ट कन्क्वेयर्स च्याम्पियनशिपमा तेस्रो र चौथो स्थान बनाउनेले ३५-३५ सय डलर पुरस्कार पाउनेछन् । २ वर्ष डम्बर गेमिङ स्थापना भएको थियो । जसलाई डमरू ग्रुपले सञ्चालन गरिरहेको छ ।
डमरू गेमिङको टिममा ६ जना खेलाडी र १ जना कोच ७ जना रहेका छन् । डमरू गेमिङले भ्यालोरेन्ट, पब्जी र काउन्टर स्ट्राइक ग्लोबल अफेन्सिभ गेम खेलिरहेको छ ।