नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै स्याटेलाइट राख्न मागिएको प्रस्ताव खारेज गरेको छ । प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै सबै प्रस्ताव नन रेस्पोन्सिभ भएकाले खारेज गरेको जानकारी दिएको हो ।
प्राधिकरणका सह-प्रवक्ता अच्युतानन्द मिश्रले चारवटै कम्पनीको प्रस्ताव रेस्पोन्सिभ नभएकाले खारेज गरेको बताए ।
नेपाल दूरसञ्चार प्राधिकरणले गत मङ्सिरमा पुरानो प्रस्ताव रद्द गरेर भूउपग्रह स्थापनाको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन ढाँचाको नीति तय गर्न नयाँ प्रस्ताव आह्वान गरेको थियो ।
सबै प्रस्ताव खारेज गरेको सूचना
प्राधिकरणको प्रस्ताव अनुसार गत पुसमा देशका नौ कम्पनीले आशयपत्र बुझाएका थिए । आशयपत्र पेश गरेका कम्पनीमध्ये प्राधिकरणले पाँचलाई प्राविधिक रुपमा योग्य ठहर गर्दै आर्थिक प्रस्ताव माग गरेको थियो ।
पाँच कम्पनीसँग प्रस्ताव माग गरिएकामा चार कम्पनीले आर्थिक प्रस्ताव पेश गरेका थिए । जसमा भारतको केपिएमजी इन्सुरेन्स एन्ड कन्सल्टिङ सर्भिस एलएलपी, बेलायतको लन्डन इकोनोमिक्स लिमिटेड, फ्रान्सको युरो कन्सल्ट र संयुक्त अरब इमिरेटसको एसथ्री टेल इन्टरनेशनलले प्रस्ताव पेश गरेका थिए ।
प्राधिकरणले सार्वजनिक खरिद ऐन २०६३ अनुसार सबै प्रस्ताव र खरिद प्रक्रिया खारेज गर्ने निर्णय गरेको हो । अब नयाँ प्रक्रिया अनुसार यसलाई अगाडि बढाउने सह-प्रवक्ता मिश्रले जानकारी दिए ।