चिनिया मोबाइल ब्राड रियलमीको आधिकारिक बिक्रैताका रुपमा शंकर ग्रुप आएसँगै एक वर्षभित्र नेपालको प्रमुख तीन स्मार्टफोनका रुपमा स्थापित गर्ने घोषणा गरेको छ । आइतबार नेपालको आधिकारिक बिक्रैताको रुपमा शंकर ग्रुप भएको घोषणा गर्दै एक वर्षभित्रमा यहाँको प्रमुख तीन मोबाइल कम्पनीभित्र पर्ने गरी रणनीति बनाएको जनाएको छ ।
कार्यक्रममा बोल्दै रियलमीका उपाध्यक्ष तथा रियलमी भारत र युरोपियन बजारका सिईओ माधव शेठ र शंकर ग्रुपका प्रवन्ध निर्देशक साहिल अग्रवालले वर्षदिनमा नेपाली बजारको प्रमुख तीन स्मार्टफोनका रुपमा चिनाउने घोषणा गरे ।
‘हामीले नेपाली बजारलाई प्राथमिकतामा राखेर योजनाहरु बनाएका छौं,’ आधिकारिक बिक्रेता घोषणा गर्ने कार्यक्रममा बोल्दै शेठले भने, ‘एक वर्षभित्रमा नेपालको प्रमुख तीन मोबाइल भित्र पर्ने हाम्रो योजना छ ।’
रियलमीले डिजाइन र मूल्यलाई ध्यानमा राखेर मोबाइल उत्पादन गरिहरेको भन्दै पछिल्लो वर्षमा विश्वमै रियलमीको बजार विस्तार तीव्र भएको बताए । उनले नेपालमा मोबाइल मात्र नभएर ल्यापटप र अन्य उपकरण पनि ल्याउने बताए ।
भारतमा फाइभजी स्मार्टफोनमध्ये २०२१ को दोस्रो त्रैमासिकमा रियलमीको हिस्सा २३ प्रतिशत रहेको बताए । काउन्टरप्वाइन्टका अनुसार भारतमा मात्र ५ करोड भन्दा बढी उपभोक्तका साथ तिव्र गतिमा यसको माग भएको देखिन्छ ।
नेपालमा शंकर ग्रुपसँग सहकार्य गर्न पाउँदा खुसी लागेको र यस ग्रुपले रियलमीलाई नेपालको उत्कृष्ट कम्पनी बनाउनेमा आफू विश्वस्त भएको बताए ।
कार्यक्रममा बोल्दै शंकर ग्रुपका प्रवन्ध निर्देशक साहिल अग्रवालले मुलुकको स्मार्टफोन बजारमा रियलमीलाई उत्कृष्ट स्मार्टफोन बनाउने बताए । ‘हामीले नेपाली बजारमा उत्कृष्ट उत्पादनहरु दिनेछौं,’ उनले भने, ‘यो वर्षको अन्त्यसम्म टप ३ स्मार्टफोनमा पुग्नेछौं ।’ स्मार्टफोनसहित ल्यापटप र अन्य उत्पादन पनि नेपाली बजारमा ल्याउने उनले घोषणा गरे ।
रियलमीसँग यात्रामा सहकार्य गर्न पाउँदा खुसी लागेको भन्दै यस सम्बन्धलाई आगामी वर्षहरुमा थप सुदृढ बनाउँदै जाने बताए । यस सहकार्यले विश्वको बढ्दो स्मार्टफोन बजारमा अत्याधुनिक प्रविधि, नवीनतम उत्पादन उपभोक्ता सेवा र असाधारण बजार विस्तारको महत्वकांक्षालाई विकास गर्न मद्दत पुग्ने विश्वास लिएको बताए ।
काउन्टरपोइन्टको अध्ययनअनुसार स्मार्टफोनको विश्व बजारमा, यस वर्ष रियलमीको विक्री १३५ प्रतिशतले बढेको र पहिलो वर्षका दोस्रो त्रैमासिक रिपोर्ट अनुसार यस वर्ष यसको विक्री १७ प्रतिशतले बढको छ । जस अनुसार कुल १० करोड भन्दा बढी विक्री भएको छ ।