समृद्धि स्कूल वनस्थलीले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थी तथा अभिभावकहरुलाई राजधानी बैङ्क्वैट वनस्थलीमा बिहीवार बिहान अभिमुखिकरण कार्यक्रम गरेको छ । अभिमुखिकरण कार्यक्रममा विद्यालयका अध्यक्ष मनोहर कुमार भट्टराई, प्राचार्य नरेशप्रसाद श्रेष्ठ, प्लसटु प्रमुख चन्द्रमान महर्जनकासाथै कलेज तर्फका शिक्षक र अभिभावक गरी ५०० भन्दा बढीको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा प्राचार्य श्रेष्ठले अभिभावक र विद्यार्थीहरुले पालना गर्नुपर्ने नियमहरुको बारेमा चर्चा गरेका थिए । प्राचार्य श्रेष्ठले विद्यालयको नाम यसवर्षका लागि नयाँ भए पनि शैक्षिक क्षेत्रमा लामो अनुभव हासिल गरेका व्यवस्थापकले बिल्कुलै नयाँ र नेपालकै पहिलो प्रविधिमैत्री वातावरण प्रदान गर्ने प्रष्ट पारे । श्रेष्ठले नेपालमै स्मार्ट बोर्ड प्रयोग गर्ने पहिलो कलेज समृद्धि रहेको दाबी गरे । उनले अहिलेका बालबालिकामा बढ्दै गरेको कुलत र झै(झगडा गर्ने प्रवृत्तिमा विद्यालयले शून्य सहनशिलता अपनाउने र यसमा कसैलाई छुट नरहेको प्रष्ट पारे ।
विद्यालयका अध्यक्ष मनोहर कुमार भट्टराईले भने, ‘हामीले विश्वमा बिक्ने विद्यार्थी उत्पादन गर्न खोजेका छौँ ।’ धेरैजसो विद्यालयमा किताबी ज्ञानमात्र दिने गरेको बताउँदै उनले यस कलेजमा किताब बाहेक पनि अतिरिक्त क्रियाकलापमा निर्देशित गर्ने स्पष्ट पारे ।
त्यस्तै विद्यालयका प्लसटु प्रमुख चन्द्रमान महर्जनले विद्यार्थी, शिक्षक र अभिभावक तीन खम्बा रहेकाले तीनै खम्बा मिलेर मात्र विद्यार्थीको शैक्षिक विकास हुने कुरामा जोड दिए । पहिलो वर्षमा नै चार समूहमा विद्यार्थी पढाउन पाएकोमा गर्व गर्दै आउँदा दिनमा अझ विद्यालयले प्रगति गर्ने र यसमा सबैको सल्लाह तथा सुझावको खाँचो रहेको उनले प्रष्ट पारे ।
समृद्धि स्कूलले यसैवर्ष प्लसटुको कक्षा सञ्चालन गर्न लागेको हो । प्लसटुको सबै कक्षामा स्मार्ट बोर्ड प्रयोग गरिएको र शिक्षकहरु पनि नयाँ प्रविधिअनुरुप अनुभवी रहेका स्कूलले जानकारी दिएको छ । अहिले कम्प्युटर साइन्स, होटल म्यानेजमेण्ट बिजनेश स्टडिज गरी तीन सङ्कायमा कक्षा सञ्चालन गर्ने र आगामी दिनमा सङ्काय थप गर्दै जाने स्कूलले जानकारी दिएको छ ।
स्रोत –अभियान दैनिक