सिन्धुलीका उत्तम काफ्लेले दुई वर्षअघि एउटा आइडिया निकाले, पुराना विद्युतीय उपकरणलाई पुनः प्रयोग गर्न सकिने बनाउने । अर्थात, पुराना भएका स्मार्टफोन, ल्यापटप जस्ता पुराना सामग्री खरिद गर्ने र पुनः प्रयोग गर्न सकिने बनाउने ।
उनको आइडियाले तीनतिर फाइदा हुने भयो । पहिलो त पुराना भएर थन्किएका फोन, ल्यापटपहरु बिक्री हुने भए । अर्को पक्ष भनेको महंगो मूल्य हालेर स्मार्टफोन र ल्यापटप किन्न नसक्नेलाई सस्तोमा ‘नयाँ जस्तै’ सामान पाउने भए ।
अर्को महत्वपूण कुरा मुलुकमा समस्याको रुपमा फैलिदै गरेको विद्युतीय फोहोर (ई-वेस्ट)को व्यवस्थापनमा सहयोग पुग्ने भयो ।
घरघरमा बढ्दै गएका पुराना स्मार्टफोन, ल्यापटक जस्ता व्यवस्थापन र पुनः प्रयोग कसरी गर्ने भन्ने विषयमा कानुन तथा नीतिको अभाव छ । यसको व्यवस्थापनको लागि राज्यबाट नीतिगत प्रावधान नआए पनि जनस्तरबाट केही काम हुन थालेका छन् ।
एउटा उदाहरण उनै काफ्ले हुन, जसले ‘रिफर्बिस्ड फोन’ बनाउने काम सुरु गरे । साढे २ वर्ष अघि ललितपुरकी शुभेच्छा तिवारीसँग मिलेर उनले ललिपुरको सानेपामा ‘रिफर्बिस्ड फोन’ बनाएर बिक्री गर्ने कम्पनी ‘ सबको फोन ’ स्थापना गरे ।
स्थानीय स्तरमा विद्युतीय फोहोर कम गर्न र विद्युतीय उपकरणलाई पुनः प्रयोग गरेर स्थानीय अर्थतन्त्रलाई पनि टेवा पुर्याउन सकिन्छ भन्ने सोँचले ‘सबको फोन’ स्थापना भएको संस्थापक काफ्लेले बताउँछन् ।
‘रिफर्बिस्ड फोन’ बिक्री गर्दा हामीले फोन मात्र बेच्दैनौं । एउटा फोनको पुनः प्रयोग पनि हुन्छ,’ उनले आइसिटी समाचारसँग भने, ‘घरमा भएको पुरानो फोन ‘सबको फोन’मा आएर रिफर्बिस्ड भएर फेरि बजारमा जान्छ । त्यो कम्तिमा १-२ वर्षका लागि त फोहोर बनेन नी ।’
रिफर्बिस्ड फोनले मानिसको आवश्यकता पनि पुरा गर्ने र आर्थिक भार पनि कम गर्ने उनको भनाइ छ । ‘सबैले प्रिमियम फोन किन्न सक्दैनन्, महंगा छन्,’ उनी भन्छन्, ‘हामीले त्यस्ता उपभोक्ताको लागि पुराना सेट टेक्निकल टिमले परीक्षण गरेर पुनः प्रयोग गर्ने बनाउँछौं । यसले ग्राहकलाई सस्तो र राम्रो फोन प्रयोग गर्न सक्छन्। ’
उनले रिफर्बिस्ड फोनको सफ्टवेयर र हार्डवेयरमा ६ महिनासम्मको ग्यारेन्टी दिन्छन् । उनीहरु फोन मर्मतको काम पनि गर्छन् । मर्मतको काम भने आफ्नो प्राथमिकता नभएको काफ्लेको भनाइ छ ।
अहिलेको प्राथमिकता नेपालमै रहेका पुराना फोन रिफर्बिस्ड गरेर बिक्री गर्ने हो । बाहिरबाट ल्याएर फोन रिफर्बिस्ड योजना उनीहरुको छैन् ।
सबको फोनमा आफ्नो पुरानो फोन पनि बेच्न सकिन्छ । फोनको शुरूवाती मूल्य र फोनमा समस्या आउँदा घट्ने भ्यालुको आधारमा मूल्य तय हुने उनले बताए ।
कम्पनीले विद्यालयहरुमा गएर विद्युतीय सामग्रीको पुनः प्रयोग किन जरूरी छ, रिफर्बिस्ड फोनको महत्व के हो, कसलाई टेवा पुग्छ, विद्युतीय फोहोरको व्यवस्थापन कसरी गर्ने भनेर जनचेतामूलक कार्यक्रम पनि चलाइरहेको छ । उनीहरुले वातावरण संरक्षणका लागि काम गर्ने संस्थासँग पनि काम गर्ने गरेका छन् ।
रिफर्बिस्ड फोन के हो र यो किन जरूरी छ यसको बारेमा जनचेतना जगाउने कार्यक्रम गर्ने उनीहरूको योजना छ । भविष्यमा अन्य विद्युतीय सामग्रीहरु रिफर्बिस्ड गरेर बिक्री गर्ने योजना रहेको उनले सुनाए ।
सबको फोनबाट फोन लिएका ग्राहकको प्रतिक्रिया पनि राम्रो आएको उनी बताउँछन् । ‘यो एकदमै राम्रो सेवा भयो । समयको पनि बचत भयो । पैसाको पनि बचत भयो । वातावरण मैत्री भयो भनेर प्रेरित गरिरहनु भएको छ’ उनले खुसी हुँदै ग्राहकको प्रतिक्रिया सुनाए ।
मासिक २ सयवटासम्म रिफर्बिस्ड फोन बजारमा जाने उनले बताए । रिफर्बिस्ड फोन बोक्दा गर्व महुशुस गर्नुपर्ने बताए ।
‘यूरोपका मानिसहरुले सहजरूपमा रिफर्बिस्ड सामानहरु प्रयोग गर्छन्,’ उनी भन्छन्, ‘उनीहरू जस्तो धनी देशमा रिफर्बिस्ड सामान प्रयोग भइरहेको छ भने हाम्रो जस्तो गरिबी मूलकमा त झन यो आवश्यकता हो ।’
आफै थाहा पाउनुहोस् तपाईको पुरानो फोनको मूल्य
सबको फोन डटकममा उनीहरुको टिमले एउटा एल्गोरिदम पनि विकास गरेका छन् । त्यहाँ ‘ सेल योर फोन ’ सेक्सनमा सेवाग्राहीले आफ्नो कम्पनीको ब्राण्ड, मोडेल छानेर त्यहाँ सोधिएको सामान्य प्रश्नको उत्तर दिएपछि अनुमानित मूल्य आउँछ । वेबसाइटमा जुन मूल्य आउँछ त्यही मूल्यमा नै आफूहरूले फोन किन्ने उनले बताए।
उनीहरुले सफ्वेयर अपडेट उपलब्ध नहुने र धेरै पुराना फोनहरू रिफर्बिस्ड भने गर्दैनन् । रिफर्बिस्ड गर्दा जुन फोनको मोबाइल हो त्यही फोनको पार्ट पुर्जाहरु प्रयोग गरिन्छ । ‘कहिलेकाँही सामान उपलब्ध भएन भने आउटसोर्स गरेर नयाँ सामान राख्छौं,’ काफ्लेले भने, ‘सफ्टवेयरमा कुनै पनि किसिमको मोडिफिकेसन हुँदैन् ।’
पुराना फोन किन्ने र बेच्ने ठाउँ
सबको फोनमा ६ जनाले रोजगारी पाएका छन् । लकडाउन अघि त्यो संख्या अलि बढी थियो । सबको फोनले काठमाडौं, ललितपुर र भक्तपुरका केही ठाउँमा रिफर्बिस्ड फोन डेलिभरीसमेत गर्छ ।
साथै कसैले आफ्नो पुरानो फोन बेच्च चाहनुहुन्छ भने पनि घरमै लिन पुग्छन् उनीहरु । यो सेवा पनि काठमाडौं, ललितपुर र भक्तपुरका केही ठाउँमा उपलब्ध छ ।
सबको फोनले अनलाइन डेलिभरी कम्पनीसँग सहकार्य गरी देशका प्रमुख शहरहरूमा डेलिभरी सेवा दिने योजना बनाएको छ । यो सेवा अब छिट्टै उपलब्ध हुनेछ ।
हाम्रो देशमा अझै पनि फलफूल, खानेकुरा मात्रै फोहोर भन्ने धारणा छ । ‘अहिले संसारभरि सबैभन्दा ठूलो फोहोर भनेको विद्युतीय फोहोर हो,’ उनले भने । संसारमा हरेक वर्ष ५० मिलियन मेट्रिक टन विद्युतीय फोहोर उत्पाउन हुन्छ । जसमा आधा फोहोर दक्षिण एशियाबाट मात्रै आउँछ ।
अबको केही वर्षमा हाम्रा डम्पिङ साइटमा फोहोरको रूपमा विद्युतीय फोहोर देख्नुपर्ने पर्ने काफ्ले बताउँछन् । विद्युतीय फोहोरमा मानिस, वातावरण लगायतलाई हानी पुर्याउने केमेकिल पनि हुन्छ ।