अहिले अनलाइन सपिङको अवधारणा सामान्य बनिरहेको छ । सूचना, सञ्चार र प्रविधिको बहुआयामिक प्रयोगले मानिस सुविधाभोगी बन्दैछन् । फलतः अनलाइन स्टोरबाट सामान खरिदबिक्री गर्ने प्रवृत्ति बढिरहेको छ । प्रविधिमा अभ्यस्त पुस्तामात्रै होइन, यसको प्रयोगमा बामे सर्दै गरेका उपभोक्ता पनि ई–कमर्सका पारखी बन्दैछन् ।
कम्प्युटर वा मोबाइल छ भने क्लिककै भरमा तपाईंको घरसम्मै सामान आइपुग्छन् । आफैं बजार गएर सामान किन्नुपर्ने, विभिन्न बिल तिनुपर्ने काम यो पिँढीका लागि झन्झट नै रहेन अब । नेपालमा पनि दजर्नौ अनलाइन सपिङ मल खुलिसकेका छन् । एक दर्जन कम्पनीले जीवनशैलीलाई यसैगरी प्रविधिमय बनाउन सघाइरहेका छन् । उनीहरूका अनुसार वार्षिक करिब १० करोडदेखि २० करोड रुपैयाँसम्मको हाराहारीमा अनलाइन कारोबार हुन्छ ।
सन् २००० बाट सुरु भएको ई–कमर्स पहिले पर्यटकलाई लक्षित गरी खोलिएको थियो । तर, बिस्तारै यसले व्यापकता पाउँदै गयो, अहिले हरेक क्षेत्र र वर्गका मानिस यसमा आबद्ध छन् । राजधानीमा मात्रै होइन, बाहिरका जिल्लामा पनि ई–कमर्समा रमाउनेको संख्या उकालो लाग्दै छ ।
यसैबीच सेवा नेपाल नामक संस्थाले इन्टरनेश्नल कन्जुमर राइटअन्तर्गतको एउटा रिसर्च प्रोजेक्ट नेपालमा गरिरहेको छ । यो प्रोजेक्टअन्तर्गत नेपालमा ई–कमर्सको अध्ययन गरिदैछ । सेवा नेपालले प्रारम्भिक नतीजा हामीलाई दिएको छ । यसअन्तर्गत नेपालाम पछिल्लो समय स्थापना भएका ई कमर्स कम्पनीहरु मात्रै बजारमा देखिन्छन् भने १५ वर्षदेखि सञ्चालन भएका ई–कमर्स कम्पनीहरु २ ओटा मात्रै छन् ।
९० प्रतिशत ई–कमर्स कम्पनीहरु आफ्नै प्रडक्ट बेच्नुको सट्टा बीचको माध्यम वा मध्यस्थकर्ताको रुपमा काम गरिरहेका छन् । कम्पनीहरुले उपयुक्त पेमेन्ट गेटवे सेवाको अभावमा डेबिट÷क्रेडिट कार्ड र क्यास अन डेलिभरी नै अभ्यास गरिरहेका छन् । डिजिटल युगमा स्तरीय पेमेन्ट गेटवे सर्भिसको कार्यान्वयन महत्वपूर्ण हुने भएपनि नेपालमा नयाँ प्रविधि सुरु गर्न समस्या आइरहेको सेवा नेपालको प्रारम्भीक सर्वेक्षणले देखाएको छ :
- अनलाइनबाट आर्थिक कारोबार गर्ने राम्रा कम्पनीहरुमा ५० भन्दा कम कर्मचारी छन् ।
- सरकारले ई–कमर्स बिजनेशका लागि बलियो नीति, कानूनी व्यवस्था ल्याउन सकेको छैन ।
- ई–कमर्स वेबसाइट प्रयोग गर्ने प्रयोगकर्ताको तथ्यांक सुरक्षित गर्न सरकारले बलियो सेक्युरिटी रेगुलेसनहरु ल्याउन सकिरहेको छैन ।
- स्थापना भएदेखि २०१८ सम्मका ई–कमर्स कम्पनीहरुको सर्भर हेर्दा २५ सयदेखि ५ हजारको संख्यामा मात्रै उपभोक्ता देखिएका छन् ।
- धेरै ई–कमर्स कम्पनीहरु काठमाडौं, ललितपुर र भक्तपुरमा सञ्चालित छन् ।
- कम्पनीहरूद्वारा प्रदान गरिने वारेन्टी, ग्यारेन्टी र रिफन्ड पोलिसीहरु सशर्त छन् ।
- फेसबुक, इन्स्टाग्राम जस्ता सोसल मिडियाबाट सामान किन्ने र बेच्ने क्रम बढिरहेको छ ।
- अधिकांश कम्पनीहरुले क्यास अन डेलिभरी सर्भिस नै धेरै प्रयोग गरिरहेका छन् ।
- नेपालमा खोलिएका ३० प्रतिशत ई–कमर्स कम्पनीहरुले डेबिट÷क्रेडिट कार्ड प्रयोग गरिएको पाइएको छ ।
- कम्पनीहरुले सरकारकै अग्रसरतामा व्यवस्थामा मिलाइएको उच्चस्तरको पेमेन्ट गेटवेको प्रतिक्षा गरिरहेका छन् ।
- अधिकांश कम्पनीहरुले बेचिसकेको सामान फिर्ता लिन वा ग्राहकहरुको गुनासा सम्बोधन गर्न ५ देखि १० दिनको समय लगाउँछन् ।
- केही ई–कमर्स कम्पनीहरुले मात्रै ग्राहकको मागअनुकुल देशका अन्य ठाउँहरुमा पनि सेवा दिइरहेका छन् ।