सरकारले सूचना प्रविधि क्षेत्रको विकासको लागि काठमाडौं, खुलमटारमा राष्ट्रिय ज्ञानपार्क बनाउने घोषणा गरे पनि अहिलेसम्म बैंठक भत्ताबाहेक अन्य खर्च हुन सकेको छैन ।
तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ मा खुमलटारमा राष्ट्रिय ज्ञान पार्क निर्माण गर्ने भनेर १ करोड रुपैयाँ विनियोजन गरेका थिए । त्यसयता उक्त ज्ञान पार्क निर्माणको नाममा बैंठक भत्ता खर्च गर्नेबाहेक अन्य प्रगति शून्य रहेको छ ।
उक्त बजेटबाट पार्क निर्माणको लागि बसेका बैठक भत्तावापत ३ लाख २९ हजार रुपैयाँ खर्च भएको बाहेक अन्य प्रगति हुन नसकेको महालेखापरीक्षकको ५८ औं वार्षिक प्रतिवेदनले उल्लेख गरेको छ ।
साथै, उक्त ठाँउमा सुविधा सम्पन्न स्टुडियो निर्माणको लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा
खर्च हुन नसकेको प्रतिवेदनले औंल्याएको छ ।
नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सूचना प्रविधि उद्योगको गन्तव्यको रुपमा विकास, विस्तार तथा प्रवद्र्धन गरी ज्ञानमा आधारित अर्थतन्त्रको विकासको लागि सूचना प्रविधिमा आधारित उद्योग व्यवसाय, प्रवद्र्धन तथा रोजगारी सिर्जना र आर्थिक वृद्धिमा योगदान पुर्याउने उद्देश्यले राष्ट्रिय ज्ञान पार्क निर्माण गर्ने घोषणा गरेको थियो ।
सरकारले उक्त ज्ञान पार्क निर्माण र सञ्चालनको लागि ‘राष्ट्रिय ज्ञान पार्क (स्थापना तथा सञ्चालन) निर्देशिका, २०७६ पनि बनाएको छ ।
पार्कभित्र सूचना तथा सञ्चार प्रविधि सम्बन्धि विभिन्न किसिमका काम र क्रियाकलाप गर्ने उद्देश्य राखिएको छ । जस्तो कि सूचना प्रविधि सम्बन्धि उद्योग स्थापना गर्ने र सेवा प्रदान गर्ने, आवश्यक अनुसन्धान र तालिम सञ्चालन गर्ने, सूचना प्रविधि सिस्टम डिजाइन, विकास र सिष्टमहरुको एकीकरण, कलसेन्टर÷विजनेस प्रोसेस आउट सोर्सिङ, ब्लग चेन, बीग डाटा, आईओटी, एआई जस्ता नविनतम कार्यहरु गर्ने उद्देश्य राखिएको छ ।
साथै, सूचना प्रविधमा आधारित सेवाहरु, प्रशिक्षण÷विद्युतीय प्रशिक्षण, सफ्टवेयर विशिष्टिकरण, जनशक्ति विकास सम्बन्धि कार्यहरु, इन्कुवेशन केन्द्र सञ्चालन गर्ने, प्राविधिक सहयोग केन्द्र, डाटा केन्द्र, क्लाउड कम्प्युटेसन, डाटावेयर हाउजिङ तथा डाटा व्याकअप र रिकभरी व्यवस्थापन, हार्डवेयर फेब्रिकेशन, उद्यमशिलता विकासका क्रियाकलापहरु लगायतका कार्य ज्ञान पार्कमा गर्ने उद्देश्य सरकारले राखेको छ ।