कीवर्डहरू -

प्राधिकरणले दियो कानुन विपरित साढे १२ करोड बढी भुक्तानी, फिर्ता गर्न निर्देशन 

प्राधिकरणले दियो कानुन विपरित साढे १२ करोड बढी भुक्तानी, फिर्ता गर्न निर्देशन 

नेपाल दूरसञ्चार प्राधिकरणले आफ्ना परियोजना सम्पन्न गर्न दिने अग्रिम भुक्तानी कानुनविपरित बढी दिएको पाइएको छ ।

प्राधिकरणले विभिन्न परियोजनाका लागि दिने अग्रिम भुक्तानी ग्रामीण दूरसञ्चार विकास कोष, विनियमावली, २०६८ मा उल्लेख भएभन्दा बढी भुक्तानी गरेको पाइएको हो ।

ग्रामीण दूरसञ्चार विकास कोषबाट सञ्चालित परियोजना भुक्तानीका क्रममा ३ सेवा प्रदायकलाई १२ करोड ५१ लाख रुपैयाँ बढी भुक्तानी गरेको पाइएको छ ।

महालेखापरीक्षकको ५८औं वार्षिक प्रतिवेदनले प्राधिकरणले दूरसञ्चार विकास कोष, विनियमावली, २०६८ मा उल्लेख भएभन्दा बढी भुक्तानी गरेको उल्लेख गरेको छ । बढी भुक्तानी दिएको उक्त रकम फिर्ता गर्न निर्देशनसमेत दिएको छ ।

उक्त विनियमावलीअनुसार छनौट भएको सेवाप्रदायकलाई प्रारम्भिक वित्तीय सुविधा बापत कुल अनुदान रकमको २० प्रतिशतले हुने रकम भुक्तानी गर्नुपर्ने उल्लेख छ ।

उक्त सुविधा अग्रिम रुपमा कार्यसञ्चालन गर्न दिइने वित्तीय सुविधा भएकोले मूल्य अभिवृद्धि करबाहेको रकमको आधारमा दिनुपर्छ । ग्रामीण दूरसञ्चार विकास कोषबाट ३ सेवा प्रदायकलाई मूल्य अभिवृद्धि कर बाहेक ४ अर्ब ८१ करोड १७ लाखको २० प्रतिशतले हुने ९६ करोड २३ लाख प्रारम्भिक वित्तीय सुविधा दिनुपर्नेमा मूल्य अभिवृद्धि करसहितको आधारमा १ अर्ब ८ करोड ७४ लाख दिएको पाइएकोे छ ।

यसबाट प्राकिरणले नियमविपरित १२ करोड ५१ लाख बढी भुक्तानी दिएको महालेखापरीक्षकले उल्लेख गरेको छ ।