इन्टरनेट बैंकिङबाट हुने कारोबार घटिरहेको बेला मोबाइल बैंकिङबाट हुने भुक्तानी भने उच्च भएको छ । गत आर्थिक वर्षभरीमा मोबाइल बैंकिङ कारोबारमा २९१ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार गएको असार महिनामा मोबाइल बैंकिङ कारोबार ७३ अर्ब ७२ करोड ९० लाख रुपैयाँ पुुगेको छ । जब कि अघिल्लो वर्षको सोही अवधिमा भने मोबाइल बैंकिङ कारोबार १८ अर्ब ८३ करोड ९० लाख रुपैयाँ रहेको थियो ।
यस हिसाबले हेर्दा वर्षदिनमा मोबाइल बैंकिङ कारोबारमा २९१ प्रतिशतले वृद्धि भएको देखिन्छ । कोरोना संक्रमणका कारण लकडाउन र बैंकहरुले भौतिक उपस्थितिलाई सकेसम्म कम गरेसँगै मोबाइल बैंकिङ कारोबार उच्च भएको हो । गत आर्थिक वर्षका हरेक महिना मोबाइल बैंकिङ कारोबार तीव्र रुपमा बढेको छ ।