मुलुुकमा विभिन्न डिजिटल माध्यमबाट भुक्तानी सुरु भइरहेको बेला गएको वर्ष उत्साहजनक कारोबार भएको छ ।
नेपाल क्लियरिङ हाउस (एनसीएचएएल)का विभिन्न डिजिटल प्लेटफर्म, बैंकका डिजिटल प्लेटफर्म, मोबाइल वालेटका प्रयासबीच गत आर्थिक वर्ष २०७७/७८ को अन्तिम महिनामा मुलुकमा ५२ खर्ब ६६ खर्ब ६७ करोड २० लाख रुपैयाँ बराबरको डिजिटल भुक्तानी भएको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको गत वर्षको वित्तीय विवरणअनुसार विभिन्न १५ वटा माध्यमबाट उक्त कारोबार भएको हो ।
डिजिटल कारोबारमा सबैभन्दा ठूलो भूमिका एनसीएचएएलका विभिन्न प्लेटफर्मले खेलेका छन् । एनसीएचएलद्धारा सञ्चालित आरटीजीएस, इसीसी, कनेक्ट आइपीएस, आइपीएसबाट ठूलो मात्रामा विद्युतीय कारोबार भएको छ ।
बैंकहरुले ल्याएका डिजिटल भुक्तानी सेवाहरु मोबाइल बैंकिङ, मोबाइल वालेट, क्युआर पेमेन्टलगायबाट डिजिटल भुक्तानीमा वृद्धि भएको छ ।
बैंकबाट बैंकमा डिजिटल भुक्तानी गर्न सकिने आरटीजएसबाट वर्षभरीमा ठूलो कारोबार भएको छ । गएको वर्ष असारमा मात्र ३५ खर्बको आरटीजीएस भएको छ । त्यसअघिको वर्षको असारमा आरटीजीएसबाट १५ खर्ब ६७ अर्बको कारोबार भएको थियो ।
आईपीएसबाट हुने कारोबार पनि वृद्धि भएको छ । गत वर्षको असार महिनामा २ खर्ब २३ अर्ब ६५ करोड ५१ लाखको कारोबार भएकोमा गत वर्षको असारमा आइपुग्दा झन्डै ३ खर्ब पुगेको छ ।
त्यस्तै, इसीसीको कारोबार पनि झन्डै ८ खर्बबाट झन्डै १० अर्ब पुुगेको छ । डेभिड कार्डबाट हुने कारोबार २५ अर्ब ८९ करोडबाट ६६ अर्ब ४१ करोड पुुगेको छ । क्रेडिट कार्ड, प्रिपेड कार्ड, प्वाइन्ट अफ सेल (पीओएस) को कारोबार पनि वृद्धि भएको छ ।
कनेक्ट आईपीएसको कारोबार ३६३ प्रतिशतले वृद्धि
मुलुकमा विद्युुतीय भुक्तानीमा एनसीएचीद्धारा सञ्चालित कनेक्ट आईपीएसले ठूलो सफलता पाएको छ । एक वर्षमा कनेक्ट आईपीएसबाट डिजिटल भुक्तानीको कारोबार ३६३ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक वित्तीय विवरणअनुसार असार महिनामा कनेक्ट आइपीएसबाट २ खर्ब ३७ अर्ब ७५ करोड ८० लाखको कारोबार भएको छ । गत वर्ष सोही महिनामा कनेक्ट आईपीएसबाट कारोबार हुने रकम ५१ अर्ब ३० करोड ६० लाख रुपैयाँ बराबर थियो ।
गत आर्थिक वर्षको अन्तिम महिना असारमा कनेक्ट आईपीएसबाट हुने कारोबार अहिलेसम्मकै उच्चमा पुगेको छ । जेठ महिनामा १ खर्ब ५८ अर्ब २५ करोड ४० लाखको कारोबार भएको असार महिनामा ५० प्रतिशतले वृद्धि हुदै २ खर्ब नाघेको हो ।
मोबाइल बैंकिङ करोबार २९१ प्रतिशतले वृद्धि
गत आर्थिक वर्षभरीमा मोबाइल बैंकिङ कारोबारमा २९१ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार गएको असार महिनामा मोबाइल बैंकिङ कारोबार ७३ अर्ब ७२ करोड ९० लाख रुपैयाँ पुुगेको छ । जब कि अघिल्लो वर्षको सोही अवधिमा भने मोबाइल बैंकिङ कारोबार १८ अर्ब ८३ करोड ९० लाख रुपैयाँ रहेको थियो ।
यस हिसाबले हेर्दा वर्षदिनमा मोबाइल बैंकिङ कारोबारमा २९१ प्रतिशतले वृद्धि भएको देखिन्छ । कोरोना संक्रमणका कारण लकडाउन र बैंकहरुले भौतिक उपस्थितिलाई सकेसम्म कम गरेसँगै मोबाइल बैंकिङ कारोबार उच्च भएको हो । गत आर्थिक वर्षका हरेक महिना मोबाइल बैंकिङ कारोबार तीव्र रुपमा बढेको छ ।
क्युआर पेमेन्टबाट महिनामा साढे ३ अर्बबढी भुक्तानी
मुलुकमा क्युआरमा आधारित भुक्तानी सुरु भएका धेरै भएका छैन । पहिला फाट्टफुट्ट हुने भए पनि गत आर्थिक वर्षमा यसको प्रयोग व्यापक भएको हो ।
नेपाल राष्ट्र बैंकले क्युुआर पेमेन्टलाई प्राथमिकतमा राखेर काम गर्न थालेपछि यसको चर्चा र भुक्तानी बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार असार महिनामा मात्र ३ अर्ब ६५ करोड १० लाख रुपैयाँ बराबरको क्युुआरमा आधारित भुक्तानी भएको छ ।
यो भुक्तानी अहिलेसम्म कै धेरै हो । राष्ट्र बैंकको विवरणमा अघिल्लो वर्षको विवरण नभए पनि गत आर्थिक वर्षको पहिलो महिनामा ५८ करोड ९० लाख रुपैयाँको क्युुआर पेमेन्ट भएको थियो ।
यस हिसाबले हेर्दा एक वर्षको अवधिमा ५१९ प्रतिशतले क्युआर भुक्तानीमा वृद्धि एको छ । गत आर्थिक वर्षको हरेक महिना क्युआर पेमेन्ट भुक्तानी वृद्धि भएको छ ।
कार्ड प्रयोग गरेर भुक्तानी गर्ने स्वात्तै घटे
मुलुकमा डिजिटल भुक्तानीका विभिन्न माध्यम आइरहेको बेला कार्ड प्रयोग गरेर किनमेलको लागि भुुक्तानी गर्नेको संख्या स्वात्तै घटेको छ ।
गत आर्थिक वर्षको असार महिनामा कार्ड प्रयोग गरेर सामान किन्न भुुक्तानी रकम २९ करोड ६० लाख रुपयाँ भएको छ । जब कि गत आर्थिक वर्षको पहिलो महिनामै कार्ड प्रयोग गरेर किनमेल गरेको रकम १ अर्ब २० करोड १० लाख रुपैयाँ थियो ।
ट्रान्जेक्सन संख्या पनि गत वर्षको पहिलो महिनामा १ लाख ६८ हजार रहेकोमा अन्तिम महिनमा ५२ हजारमा झरेको छ ।
यस हिसाबले हेर्दा वर्षदिनभित्रमा कार्ड प्रयोग गरेर सामान किन्ने रकम ७५ प्रतिशतले घटेको छ । गत वर्षका हरेक महिनमा कार्डबाट भुक्तानी रकम उतरचढाव देखिन्छ ।
साउनमा १ अर्ब माथि भुक्तानी भएकोमा भदौमा ५६ करोडमा झरेको छ । त्यसपछिका महिनामा पनि थपघट हुदै फागुनमा १ अबै नाघेको छ भने त्यसपछि स्वात्तै घटेर १६ करोड १० लाखमा झरेको छ ।