मुलुकमा डिजिटल भुक्तानी गर्नुपर्छ भनेर सुरुदेखि लागेको क्षेत्र हो मोबाइल वालेट । डिजिटल भुक्तानीमा वालेटहरुको प्रयासलाई पछ्याउँदै बैंकहरु र पछिल्लो समयमा व्यापक चर्चा पाएको एनसीएचएलको प्लेटफर्मले डिजिटल भुक्तानीमा व्यापकता पाएको छ ।
इसेवाले १२ वर्षअघि नै आफ्नो मोबाइलबाट नै युटिलिटिज बिल तिर्न सकिन्छ भनेर सुरु भएको डिजिटल भुक्तानीको क्षेत्रमा खल्ती, आइएमईपे, प्रभु पे, सेलपेलगायतका कम्पनीहरु बजारमा प्रभाव पार्ने गरी आए । आजको दिनमा युटिलिटी बिलसँगै धेरै किसिमका भुक्तानी गर्न सकिने सुविधा यी वालेटहरुले ल्याइसकेका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार मोबाइल वालेटहरुले गरिरहेको भुक्तानीलाई हेर्ने हो भने वर्षदिनमा २५ प्रतिशतको वृद्धिदर देखिन्छ । नम्बर अफ ट्रान्जेक्सन हेर्ने हो भने अझ कम २२ प्रतिशत छ ।
गत आर्थिक वर्ष २०७७/७८ को असार महिनामा १२ अर्ब ७९ करोड रुपैयाँसम्म कारोबार गरेका छन् । यो उक्त वर्षको रेकर्ड राख्दै सबैभन्दा धेरै भुक्तानी भएको महिना हो ।
यो भुक्तानी त्यसअघिको वर्ष २०७६/७७ को असार महिनाको भन्दा २५ प्रतिशतले बढी हो । उक्त वर्षको असारमा १० अर्ब २२ करोड २० लाख रुपैयाँको भुक्तानी भएको थियो ।
डिजिटल भुक्तानीका विभिन्न माध्यमको वृद्धिलाई हेर्ने हो भने वालेटले गरेको प्रगति मध्यमस्तरको छ । जस्तो कि कनेक्ट आइपीएसको कारोबारमा एक वर्षमा ३६३ प्रतिशतले वृद्धि भएको छ । मोबाइल बैंकिङबाट भएको भुक्तानी २९१ प्रतिशत र क्युआर कोडबाट भएको भुक्तानी ५१९ प्रतिशतले वृद्धि भएको छ ।
डिजिटल भुक्तानीको यस परिवेशमा वालेटहरुले गरेको २५ प्रतिशत वृद्धि सन्तोषजनक हो त ? हामीले यो प्रश्न नेपालका अगुवा वालेटहरु समक्ष राखेका छौं ।
इसेवाका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले गत वर्ष अपेक्षाअनुसार कारोबारमा वृद्धि नभएको बताउँछन् । ‘यो हामीले चाहेअनुसारको ग्रोथ होइन,’ उनले आइसिटी समाचारसँग भने, ‘यसभन्दा अघिल्लो वर्षहरूमा योभन्दा बढी वृद्धिदर थियो ।’
समग्रमा डिजिटल भुक्तानी बढे पनि वालेटको योगदान जति हुनुपर्ने त्यति नभएको उनको भनाइ छ । यो वर्ष कारोबारको सीमा र दायर बढाउने कुरा भुक्तानी सेवा प्रदायकका लागि सकारात्मक पक्ष भएको सापकोटा बताउँछन् ।
अहिले पनि आम उपभोक्तालाई वालेटबाट सानो परिणामको मात्र कारोबार गर्न सकिन्छ भन्ने मानसिकता रहेको सापकोटाको भनाइ छ । ‘हामी सबै भुक्तानी सेवा प्रदायकहरूले त्यस मानसिकताबाट बाहिर ल्याउन गतिविधि गर्नुपर्छ,’ उनी भन्छन् ।
खल्तीका कोफाउन्डर अर्भिन्द साहले भने अहिलेको वृद्धिलाई त्यत्ति नराम्रो मान्न नसकिने बताउँछन् । ‘मलाई लाग्छ यो पहिलाका वर्षको भन्दा धेरै होला,’ उनले भने, ‘यसमा भोलुममात्र नभएर नम्बर अफ ट्रान्जेक्सन, सक्रिया ग्राहकलगायतका कुरा पनि हेर्नुपर्छ ।’
वालेटबाट भएको परिणामलाई मात्र हेर्न नहुने उनको विचार छ । वालेटबाट सानो सानो रकमको भुक्तानी भएकाले ‘नम्बर अफ ट्रान्जेक्सन’ महत्वपूर्ण हुने उनले बताए । कनेक्ट आईपीएस जस्तो ठूलो परिणाममा वालेटमा भुक्तानी हुँदैन ।
‘भोलुमका हिसाबले कम भए पनि कारोबार नम्बर धेरै हुन्छ,’ उनी भन्छन्, ‘भोलुमलाई मात्र हेर्न मिल्दैन ।’ वालेटमा दर्ता हुने व्यक्ति धेरै देखिए पनि सक्रिय भनेको सयमा २० को हाराहारीमा हुन्छन् ।
साहले भने जस्तै वालेटमा सानो रकम भुक्तानी हुने र कारोबारसँख्या महत्वपूर्ण हुने भए पनि त्यसमा पनि वृद्धि देखिदैन । यो वर्ष ट्रान्जेक्सन नम्बरको वृद्धिदर २२ प्रतिशत छ । यो भुक्तानी परिणामभन्दा पनि थोरै हो ।
गत वर्षको सबैभन्दा धेरै कारोबार भएको असार महिनामा ट्रान्जेक्सन नम्बर १ करोड २५ लाख १५ हजार रहेको छ । त्यसअघिको वर्ष सोही महिनामा यस्तो ट्रान्जेक्सन १ करोड १ लाख ७९ हजार रहेको थियो ।
सेलपेका सीईओ पवन प्रधानले पनि अपेक्षाअनुसार कारोबारमा वृद्धि नदेखिएको बताए । कारोबार सीमा कम भएका कारण पनि कारोबारमा कमी आएको उनको भनाइ छ ।
मोबाइल बैंकिङ र कनेक्ट आईपीएसको भन्दा वालेटको कारोबार सीमा कम छ । यसका लागि भुक्तानी सेवा प्रदायकले राष्ट्र बैंकमा कुरा गरेका छन् ।
‘हामीले राष्ट्र बैंकमा वालेटको कारोबार सीमा बढाउनु पर्यो भनेर भनेका छौं,’ सीईओ प्रधानले भने, ‘त्यो माग सम्बोधन गर्छौं भन्नु भएको छ ।’
नेपाल राष्ट्र बैंकले केही दिन अगाडि सार्वजनिक गरेको मौद्रिक नीतिमा विद्युतीय भुक्तानी सीमा बढाउने र भुक्तानी सेवा प्रदायकको दायरा बढाउने व्यवस्था पनि गरेको छ ।
त्यस्तै मोरू डिजिटल वालेटका सीईओ अशितोष साहले पनि अपेक्षित अनुसार कारोबार वृद्धि नभएको बताए ।
‘वालेटबाट भएको कारोबारलाई सन्तोष हुने ठाउँ रहे पनि कारोबारमा भने अपेक्षाअनुसारको वृद्धि भएन,’ उनले भने, ‘सरकारले अझै सहयोग गरे वालेटबाट हुने कारोबारमा वृद्धि आउने सम्भावना छ ।’
वालेटबाट युटिलिटी पेमेन्टमात्र नभएर ग्राहकले सबै कारोबार गर्न सकुन् भन्ने आफूहरूको चाहना भएको साहले बताए । राष्ट्र बैंकले त्यसका लागि ढोका पनि खोलिसकेको उनको भनाइ छ ।
याे पनि पढ्नुहाेस : के डिजिटल बैंकले माेबाइल वालेटकाे भविष्य साँघुरो बनाउँदैछ ?