निसान कम्पनीले जापानमा उत्पादन गरेको विद्युतीय कार निसान लिफ अब काठमाडौँमा टेस्ट ड्राइभको लागि उपलब्ध भएको छ ।
नेपालमा निसान तथा ड्याट्सन् गाडीको आधिकारिक बिक्रेता पायोनीयर मोटो कर्पले निसान लिफ को टेस्ट ड्राइभको लागि यही भाद्र २८ गतेदेखि असोज ४ गते सम्म निसान लिफ टेस्ट ड्राइभ सप्ताह संचालन गर्न गइरहेको छ ।
यस सप्ताहमा इच्छुक ग्राहकहरुले टेस्ट ड्राइभ गरि विभिन्न उपहार जित्नुका साथै एक्सचेन्ज सुविधा, मुल्यांकन सुविधा तथा वित्तपोषण सुविधा पनि पाउने व्यवस्था मिलाएको कुरा कम्पनीले जानकारी दिएको छ ।
यो टेस्ट ड्राइभ सप्ताह यहि भाद्र २८ गते देखि असोज ४ गते सम्म निसान कम्पनीको काठमाडौँमा रहेको (थापाथली तथा उत्तर ढोका) शोरूममा बिहान १० बजे देखि सुरु हुनेछ ।
अहिलेको परिस्थितिमा निसान कम्पनीले एउटा वातावरण मैत्री सवारी साधनलाई नेपाल प्रबेश गराउनुलाई ग्राहकबर्गहरुले एउटा सराहनीय कदमको रुपमा लिएको कम्पनीले जानकारी गराएको छ ।
नेपाल भित्रिनु भन्दा पहिले नै यो गाडीको विश्वभर १० बर्षभन्दा बढी परीक्षण भैसकेको छ । यस अवधिमा विश्वमा ५ लाख भन्दा बढी निसान लिफ बिक्रि भैसकेको छ भने निसान लिफले विश्वभर १२ अर्ब किलोमीटरको यात्रा तय गरिसकेको छ ।
निसान लिफ नेपालमा ११ आकर्षक रंगहरुमा उपलब्ध छ । यस गाडीको ४ ड्राइभिङ्ग मोड तथा विश्वस्तरिय सुरक्षा मापदण्डहरु (ए।बी।यस , इ।बी।डी तथा बी।ए) ले गर्दा विभिन्न प्रकारका सडकहरुमा प्रयोग गर्न सजिलो तथा सुरक्षित रहेको तथा यो सुरक्षा मापदण्डले विश्वव्यापी रुपमा निसान लिफमा मृत्यु हुनेको संख्या शून्य रहेको कम्पनीले जानकारी दिएको छ ।
यस गाडीको ब्याट्रीमा कम्पनीले ८ बर्षको वारेण्टी प्रदान गरिरहेको छ, जुन कुनै पनि अरु गैर विद्युतीय गाडीको तुलनामा ग्राहकहरुलाई धेरै किफायती साबित हुने कम्पनीको दावी छ ।
निसान लिफ ४० किलोवाट हावर ब्याट्रीको साथमा उपलब्ध छ जसले ३११ कि मि सम्मको दुरी तय गर्न सक्छ । एसको इलेक्ट्रिक मोटरले १५० पी एस र ३२० एन एम टोर्क प्रधान गर्दछ ।
त्यस्तै गरी निसान लिफ ० देखि १०० किलोमिटर/घण्टा ७.५ सेकेन्डमा जान सक्छ र एसको अधिकतम गति १४० किलोमिटर घण्टा छ ।
नेपालमा एउटा अत्याधुनिक तथा वातावरण मैत्री सवारी साधन चलाउन इच्छुक ग्राहकको लागि कम्पनीले निसान लिफ रु ५९।९९ लाखमा उपलब्ध गराइरहेकोे छ ।