कीवर्डहरू -

टेलिकमको मोबाइल ब्यालेन्सबाट कारोबार गर्न पाइदैन्ः सीईओ भण्डारी

टेलिकमको मोबाइल ब्यालेन्सबाट कारोबार गर्न पाइदैन्ः सीईओ भण्डारी

नेपाल टेलिकमको मोबाइल ब्यालेन्सबाट कारोबार गर्न नपाइने नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णप्रसाद भण्डारीले बताएका छन् ।

बुधबार नेपाल टेलिकमको गण्डकी प्रदेश कार्यालयले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा भण्डारीले यस्तो बताएका हुन् ।

उनले भने, ‘यो बीचमा पटक पटक मिडियामा उठ्ने गरेको एउटा विषय छ । यो नेपाल टेलिकमको कम्पनी भएको हिसाबले मोबाइलको ब्यालेन्सबाटै कारोबार गर्न पाइने होकी भन्ने खालका जिज्ञासाहरू यताकता आउँछन् । त्यो जिज्ञासालाई यो मञ्चबाटै प्रष्ट पार्न चाहन्छु ।’

नेपाल टेलिकमको मोबाइलको ब्यालेन्सबाट कारोबार गर्न नपाइने उनले प्रष्ट पारे । ‘मोबाइलको ब्यालेन्सबाट खरिददारी गर्न, बिल तिर्न सकिदैन्,’ भण्डारी भने, ‘किनभने मोबाइलको ब्यालेन्स अहिले पनि सेवाको रूपमा रहेको ब्यालेन्स हो । त्यो नगद वा रकमको रूपमा लगेको ब्यालेन्स होइन । त्यो चाहिँ दूरसञ्चार सेवाका लागि मात्रै प्रयोग गर्न भनेर छुट्याइएको चीज हो ।’

त्यसलाई पुनः पैसामा परिवर्तन गरेर अन्य सेवा तथा वस्तु खरिद गर्न नसकिने उनले जानकारी दिए । नमस्ते पे मोबाइल ब्यालेन्सबाट नचल्ने उनको भनाइ छ ।

नमस्ते पेमा बैंक तथा एजेन्टबाट ब्यालेन्स लोड गर्न सकिने उनी बताउँछन् । ‘धेरै जना एजेन्ट, सुपर एजेन्टसँग सम्झौता गरिसकेका छौं । उहाँहरूले छिट्टै काम शुरू गर्नुहुन्छ’ उनले भने ।

नमस्ते पेबाट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्न सकिने प्रावधान ल्याउने उनले बताए । अहिले स्मार्ट क्युआरसँग साझेदारी गरेर त्यसलाई अगाडि बढाइएको भण्डारी बताउँछन् ।

उनी भन्छन् ‘हाम्रो एपलाई त्यसका लागि तयार गर्ने, अझै परिमार्जन गर्ने कामहरू गर्दैछौं ।’ एप्पलको एप स्टोरमा एक दुई हप्तामा नमस्ते पेको एप आउने आशा गरेको भन्डारी बताउँछन् ।

‘हिजोदेखि यसको शुरूवात मात्रै गरिएको छ । यसमा धेरै सुधारहरू गर्नुपर्ने छ,’ भण्डारीले कार्यक्रममा भने, ‘त्यसका लागि यहाँहरूको सुझाब, सल्लाह र प्रतिक्रियाले ठूलो महत्व राख्छ । त्यसले हामीलाई बजारको आकांक्षाको पनि जानकारी दिन सक्छ ।’

यसमा थप सुधार गर्न र नयाँ सेवा आउन केही समय लाग्ने र त्यसका लागि धैर्य गर्न उनले आग्रह गरे ।