कीवर्डहरू -

ई-कमर्श कम्पनी बिज बजारले शुरू गर्‍यो आफ्नो सेवा, सामान खरिदमा ७० प्रतिशतसम्म छुट

ई-कमर्श कम्पनी बिज बजारले शुरू गर्‍यो आफ्नो सेवा, सामान खरिदमा ७० प्रतिशतसम्म छुट

नेपाली अनलाइन शपिङ बजारमा नयाँ कम्पनी प्रवेश गरेको छ । केही समय अगाडि बेटा परीक्षण शुरू गरेको ई-कमर्श कम्पनी बिज बजार ले असोज १ गतेदेखि आफ्नो सेवा औपचारिक रूपमा शुरू गरेको हो ।

बिज बजारको सेवा शुक्रबारदेखि औपचारिक रूपमा शुरू भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेश राज गौतमले बताए । ‘जे चाहिन्छ, त्यो पाइन्छ’ स्लोगनसहित कम्पनीले सेवा शुरू गरेको छ ।

बिज बजारमा ग्रोसरी, हार्डवेयर, इलेक्ट्रोनिक्स, फेसन, ज्वेलरी लगायतका सबै सामानहरु पाइने कम्पनीले जानकारी दिएको छ । कम्पनीले सेवा शुरू गरेको अवसरमा ओपनिङ अफर समेत ल्याएको छ ।

ओपनिङ अफर अन्तर्गत बिज बजारबाट सामान खरिद गर्दा ७० प्रतिशतसम्म छुट पाउन सकिने गौतमले बताए । यो अफर एक हप्तासम्म लागु हुनेछ । त्यसपछि अन्य अफर ल्याउने उनले बताए ।

बिज बजारबाट सामान खरिद गर्दा खल्ती र कनेक्ट आईपीएसबाट पैसा तिर्न सकिने छ । अन्य पेमेन्ट गेटवे पनि जोड्ने कम्पनीको योजना रहेको छ । क्यास अन डेलिभरीको सुविधा समेत रहेको छ ।

कम्पनीले ७७ वटै जिल्लामा सेवा दिने छ । त्यसका लागि सातै प्रदेशमा कार्यालय खोलिसकेको छ । बिज बजारबाट देशभरीले डेलिभरीको सुविधा पाइने उनले जानकारी दिए ।

काठमाडौं उपत्यकामा ४८ घन्टाभित्रमा सामान डेलिभरी गर्ने र उपत्यका बाहिर ३ दिनभित्रमा डेलिभरी हुने कम्पनीले जनाएको छ । बिज बजारमा अथेन्टिक प्रडक्टमात्रै राख्ने दावी उनले गरे ।

‘बिज बजारमा सूचीकृत भएको प्रडक्टको अथेन्टिसिटी जाँच गर्छौं,’ उनले भने, ‘डिस्कृप्सन अनुसारको प्रडक्ट हो की होइन भनेर जाँच गर्ने हाम्रो छुट्टै टिम छ । अथेन्टिक प्रडक्ट हो भन्ने भएपछि मात्र हामी डिसप्याच गर्छौं ।’

रिटर्नको प्रक्रियालाई पनि कम्पनीले सजिलो बनाएको छ । यदी सामान चित्त बुझेन भने अर्डरबाट नै रिटर्न प्रक्रिया थाल्न सकिन्छ । ४८ घण्टादेखि ७२ घण्टाभित्र रिटर्न प्रक्रिया सम्पन्न हुन्छ । रिटर्न गरेको प्रडक्ट लिन कम्पनी ग्राहकको घरमा जानेछ । कम्पनीले सातदिनको रिटर्न पोलीसी राखेको छ ।

बिज बजार बिज बजार लिमिटेडद्वारा सञ्चालन भएको छ । भविष्यमा आईपीओ जारी गर्ने उदेश्य अनुरूप बिज बजार शुरूमै पब्लिक कम्पनीमा दर्ता भएको हो ।

आगामी ३ वर्षमा आईपीओ जारी गर्ने कम्पनीको योजना छ । बिज बजारमा अहिले ९० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । अबको २ वर्षमा १६ सयलाई रोजगारी दिने कम्पनीको योजना छ ।