कीवर्डहरू -

सीएसआईटी एशोसिएसनको नयाँ कार्यसमिति चयन, अध्यक्ष भन्छन, ‘आइटी काउन्सिल गठन गर्न पहल गर्छु’

सीएसआईटी एशोसिएसनको नयाँ कार्यसमिति चयन, अध्यक्ष भन्छन, ‘आइटी काउन्सिल गठन गर्न पहल गर्छु’

कम्प्युटर साइन्स एण्ड इन्फर्मेसन टेक्नोलोजी (सीएसआईटी) एशोसिएसन अफ नेपालको नयाँ कार्यसमिति चयन भएको छ ।

शनिबार बानेश्वरमा भएको १० औं वार्षिक साधारणसभाले सन् २०२१/२२ का लागि नयाँ कार्यसमति चयन गरेको हो । वार्षिक साधारणसभाबाट आशिष गिरी अध्यक्षमा चयन भएका छन् । यसअघि उनी संस्थाको महासचिव थिए ।

त्यस्तै संस्थाको उपाध्यक्षमा मोहन रावत र रविना कार्की, महासचिवमा रिशु चौधरी, सचिवमा श्रियाक तिम्सिना, दिपा रोका क्षेत्री र रोजिना डाँगी तथा कोषाध्यक्षमा बासु नेपाल चयन भएका छन् ।

त्यस्तै सदस्यमा हिमाल भट्टराई, निकिता बुढाथोकी, दिनेश नेपाल, विपिन भण्डारी, दशैन भण्डारी, भुवन पन्त, ओसन श्रेष्ठ, उत्सुकता केसी र आशिष पुडाशैनी चयन भएका छन् ।

\"\"

सीएसआईटी एशोसिएसनको अध्यक्षमा चयन भएपछि आशिष गिरीले संस्थाले यसअघि सञ्चालन गरेका कामलाई निरन्तरता दिने बताए ।

‘मेरो कार्यकालमा यसअघि संस्थाले सञ्चालन गरेका कामलाई नै निरन्तरता दिनेछु,’ गिरीले आइसिटी समाचारसँग कुरा गर्दै भने, ‘पहिलेदेखि भइरहेका कामलाई छोडेर कही पनि पुगिदैन् ।’

विद्यार्थीलाई कसरी इन्टर्‍याक्टिभ बनाउन सकिन्छ भन्ने विषयमा पनि काम गर्ने उनले बताए । यसका लागि मिटअपदेखि पोडकाष्ट समेत सञ्चालन गर्ने उनको योजना छ ।

आफ्नो कार्यकालमा इन्क्युबेसन सेन्टरको कामलाई पनि अगाडि बढाउने उनले बताए । ‘इन्क्युबेसन सेन्टरको योजना हाम्रो पहिलेदेखि नै थियो,’ उनले भने, ‘यसपटक विभिन्न निकायसँग समन्वय गरेर यसलाई पनि अगाडि बढाउँछौं ।’

नयाँ नयाँ आईडियालाई इन्क्युबेसन सेन्टरबाट स्पेशका साथै मेन्टरशीप उपलब्ध गराउने संस्थाको योजना छ । फन्डिङको कुरामा काम गर्न सकिन्छ की सकिदैन् त्यो कुरा अहिले निश्चित नभएको उनले बताए । यसका लागि युवा परिषदसँग पनि कुरा भइरहेको उनले जानकारी दिए ।

आइटी काउन्सिल गठन गर्न पनि पहल गर्ने गिरीले बताए । उनले भने, ‘आइटी काउन्सिल गठनको मुद्दा नै सीएसआईटी एशोसिएसनले उठाएको हो ।’

सरकारले आईटी अधिकृतको विज्ञापन कम्प्युटर इन्जिनियरको योग्यता राखेर खोल्ने गरेको छ । यसमा कम्प्युटर इन्जिनियर नभएर आईटी नै पढेको हुनुपर्छ भनेर जोडबल गर्ने उनले बताए । साथै त्रिभुवन विश्वविद्यालयमा भएका बेथितामा पनि निरन्तर आवाज उठाउने गिरी बताउँछन् ।

संस्थाले डिजिटल अवयरनेस कार्यक्रमलाई पनि अगाडि बढाउने योजना बनाएको छ । गिरी भन्छन, ‘डिजिटल अवयरनेसमा हामीले एउटा काम गरेका थियौं । तर कोरोना महामारीले रोकियो । अब लकडाउन भएन भने त्यस कामलाई पनि अगाडि बढाउँछौं ।’

सीएसआईटी एशोसिएसन अफ नेपाल सन् २०११ मा स्थापना भएको हो । यसमा सीएसआईटी पढ्ने विद्यार्थीहरू आवद्ध रहेका छन् ।

विद्यार्थीको हक हितका लागि काम गर्ने उद्देश्यले संस्थाको स्थापना भएको थियो । संस्थाको हाल पूर्वाञ्चल, पोखरा, चितवन र बुटवलमा शाखा छन् । अब नेपालगञ्जमा शाखा गठन हुनेछ ।